s

नाकाहरुमा फेरि भीड,फर्किँदै श्रमिकहरु

प्रदेश ५ ब्यूरो

बुटवल,भदौ २३ गते । भारतमा कोरोना जोखिम र बन्दाबन्दी भएपछि नेपाल फर्किएका श्रमिकहरु बन्दाबन्दी खुकुलो हुने बित्तिकै पुनः भारत जाने क्रम बढेको छ । भारतमा बन्दाबन्दी सुरु भएपछि कतिपय नेपाली पैदल हिँडेरै स्वदेश फर्केका थिए ।

रुपन्देही र बाँकेका मूल नाकाहरुमा अहिले भारत जान चाहनेहरुको भीड देखिन्छ । तर उनीहरुलाई कडाई गरिएको सीमास्थित नेपाली सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

सुनौलीमा चाप

भैरहवा समाचारदाताका अनुसार भारतमा आफूले काम गरिरहेका स्थानमा फेरि रोजगारी गर्न भन्दै भारत जानेहरुको संख्या बढेको छ । भारतमा कोरोना संक्रमणदर नघटे पनि उनीहरु रोजगारीका लागि भारततर्फ लागेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इश्वरी अधिकारीका अनुसार केही दिनयता भारत जाने सर्वसाधारणको संख्या बढेको छ ।
अहिले प्रदेश ५ का विभिन्न नाकाहरु मध्ये बेलहिया नाका भएर भारत प्रवेश गर्न बिरामीका लागि मात्रै सहज छ । बिरामीको कागजातका आधारमा सीमानाका सुनौलीमा रहेको स्वास्थ्य टोलीले सामान्य औपचारिकता पूरा गरेपछि भारतीय अध्यागमन कार्यालयमा फोटो खिचाएपछि भारत जान पाइन्छ ।

यसैगरी, भारतीय सेनामा कार्यरत व्यक्ति र भारतीय आधार कार्ड भएका व्यक्ति पनि भारत जान पाउँछन् । बन्दाबन्दीको समयमा यो नाका हुँदै भारतबाट ३५ हजार ८६२ नेपाली फर्किएका थिए भने नेपालमा रोजगारी गरी बसेका ३५ हजार ८०० भारतीय नागरिक स्वदेश फर्किएका थिए ।

जमुनाहमा पनि उस्तै

बाँके समाचारदाताका अनुसार कोरोना सङ्क्रमणका कारण बन्दाबन्दी सुरु हुनुभन्दा एकदिन पहिलेदेखि नेपाल–भारत सीमाको जमूनाह नाकामा आवागमन बन्द गरिएको छ । चैत १० देखि बन्द भएको नाकामा दुबैपक्षको सहमतिमा अत्यावश्यक काम तथा फसेका नागरिकको उद्धारका लागि केही समय सीमामा आवागमन खुल्ला भयो ।

यसक्रममा ७० हजार नेपाली भारतबाट स्वदेश फिर्ता भएको ईलाका प्रहरी कार्यालय जमूनाहका ईन्चार्ज प्रहरी निरीक्षक विष्णु गिरीले जानकारी दिनुभयो । यसैगरी नेपालतर्फबाट ३३ हजार भारत प्रवेश गरेका छन् ।

पछिल्लो समय सीमानाकामा फेरि दैनिक भारत जान खोज्नेहरुको भीड लाग्न थालेको छ । भारतीय आधारकार्ड भएकाहरुलाई भारततर्फ जान दिएका छौं, सीमास्थित ईलाका प्रहरी कार्यालयका ईन्चार्ज गिरीले भन्नुभयो – भारत जान दैनिकरुपमा मानिसहरु आउने गर्नुभएको छ । बाँकेमा कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सीमा नाकामा भने मानिसहरुको भिडभाडले कोरोनाको जोखिम झनै बढाएको सुरक्षाकर्मीहरुले जनाएका छन् ।

सीमानाकामा भारतमा रोजगारीका लागि जानेसँगै भारतमा पाईने औषधी लिन सीमापारी रुपैडिया जानेहरुको समेत दैनिक ठुलो सङ्ख्या हुने गरेको प्रहरीले जनाएको छ ।

भारतको लखनउ तथा अन्य शहरमा यसअघि उपचार गराएका विरामीका लागि आवश्यक औषधी लिन प्रहरीले समन्वय गरिरहेको छ । सीमापारी भारतबाट औषधी लिन दिनहुँ प्रहरी कर्मचारी खटाउने गरिएको कार्यालयले जनाएको छ ।

Published on: 9 September 2020 | Gorkhapatra

Link

Back to list

;