s

नाका पारि १ हजार बढी मजदुर अलपत्र, एककाे मृत्यु

दिलबहादुर छत्याल/बिरा गडाल

 

धनगढी - भारतको रिमामा काम गर्दै आएका बैतडीको डिलासैनी गाउँपालिका–१, कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री सोमबार महाकाली नदी तरेर नेपाल प्रवेश गरे। शरीरमा कट्टु मात्र लगाएको अवस्थामा नियन्त्रणमा लिएर प्रहरी नाङ्गै उनलाई बजारमा हिडाएर सीमा पुलमा रहेको प्रहरी पोष्टमा पु-यायो। 

उनलाई नांगैं बजारमा हिडाएको तस्विरले समाजिक सन्जालमा चर्चा समेत पायो। सिमाको पुल खुल्ने आशमा उनीहरु तीन दिन देखि दार्चुलाको सिमावर्ती क्षेत्र धार्चुलामा  रहेका उनी पुल खुल्ने छाँटघाट नदेखेपछि जोखिम मोल्दै नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेका हुन्। उनी अहिले महाकाली नगरपालिकाको क्वारेन्टाइनमा छन्। 

‘काल नै आएपछि भने महाकालीमै ज्यान जाला भनेर महाकालीमा हाम फाले, पानीको भंगालो कम भएकाले नदी पार गर्न सकेर वारी पुगियो’उनले भने,‘परिवारको धेरै माया लागेकोले महाकालीमा हाम फालेर पौडिएको हुँ।’ 

उनी मात्र होइन अन्य दुई जनाले पनि सोही दिन जोखिम मोलेर पौडिदै नेपाल प्रवेश गरेका थिए।  उनीहरुलाई प्रहरीले सम्बन्धित स्थानीय तहमा १४ दिन करेन्टाइनमा बस्ने शर्तमा घर पठाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकाररी टेकसिंह कुवरले बताए। 

रोजगारीको लागि भारतका विभिन्न क्षेत्रमा काम गर्दे आएका नेपाल नागरिक कोरोना भाइरस (कोभिड–१९ ) फैलिएपछि घर फर्कने क्रम जारी छ। सरकारले सीमानाका बन्द गरेपछि सुदूरपश्चिमका बिभिन्न सीमा क्षेत्रमा करिव १ हजार भन्दा बढी नेपाली अलपत्र अवस्थामा छन्। भारतमा पनि लकडाउन भएपछि आफ्नो घर आउन उनीहरु हिँडेर सीमासम्म पुगेका हुन। दिल्ली लगायतका टाढा टाढा वाट समेत हिडेर नेपालीहरु सिमामा पुगेका छन। 

सरकारले उनीहरुको उद्धारको लागि कुनै पहल नगरेको भन्दै उनीहरु आक्रोसितसमेत भएका छन्। दार्चुलामा मात्रै करिब एक हजार जना सीमा पारी रहेको दार्चुलाका सहायक प्रजिअ कुवरले बताए। भारतले पाँच ठाउँमा बस्ने व्यवस्था गरे पनि दैनिक नदी तरेर आउने क्रम जारी रहेको उनले बताए। 

गत शुक्रबार बैतडीको झुलाघाटमा रहेका एक सय ८६ र दार्चुलामा रहेका दुई सय १४ जनालाई उद्धार गरी गाडी मार्फत गाउँसम्म पु¥याएपछि भारतका विभिन्न ठाउँमा रहेका नेपाली सीमा खुल्ने आसले आउन थालेका छन्। चारदिन देखि भोकप्यास भुलेर सीमासम्म पुगेका पुर्चौडी नगरपालिका–३, न्यादेउका पदमबहादुर धामीले भने, ‘भारतले त हेप्नसम्म हेपेको छ, तर आफ्नै देशमा  नागरिकलाई वास्ता गरेको छैन।’ यहाँबाट जान पाए सरकारले जति दिन भन्छ क्वारेन्टाइनमा बस्न तयार रहेको उनले बताए। डिडीहाटमा मजदुर गर्दै आएका पुर्चौडी नगपालिका–७ का उत्तमबहादुर बोहरा पनि सीमामा अलपत्र पर्दा उद्धार नगर्दा आक्रोसित छन्। 

भारतले गरेको २१ दिन लामो लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका नेपाली धारचुला आउने क्रम जारी रहेको भारतीय पत्रकार राकेश तिवारीले जानकारी दिए। सोमबारसम्म ५ सय ४५ जना रहेकोमा अहिले थपिदै ९ सय ५७ जना पुगेको उनले बताए। ति मध्ये १४ जना महिला तथा २ जना बालबालिका रहेका छन्। भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायतका क्षेत्रमा मजदुरी गर्दै आइरहेका उनीहरु लकडाउन पछि अलपत्र परेका थिए। 

नेपाल आउन पैदल हिडेरै भारतको विभिन्न स्थानहरुबाट दुईतीन दिनमा दार्चुलाको सिमा क्षेत्र धारचुलामा पुगेका उनिहरुलाई नेपाल सरकारले सोही ठाउँमै बस्न भने पछि अहिले उनीहरु समस्यामा छने। भारतले अलपत्र अवस्थामा रहेका नेपालीलाई विभिन्न विद्यालयमा राखेको छ। तर उनीहरु गाउँकै क्वारेन्टाइनमा बस्न चाहन्छन्। पौडेर ट्युवमा तरेर नियमति नेपाल प्रवेश गर्नेको संख्या धेरै छ। उनीहरुमध्ये केहीलाई प्रहरीले सम्बन्धित पालिकामा करेन्टाइनमा बस्ने गरेर छोडेको छ भने  केही आफ्नै हिसाबले गाउँ पसेका छन्। 

बैतडीसँग सीमा जोडिएको झुलाघाटमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको हो। लकडाउनका कारण सीमानाका बन्द भएपछि सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई क्वारेन्टाइनमा राखिएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। तालेश्वरमा रहेको धर्मशालामा ५७ जना र खरक्युडा, जामिरपानी र रज्यौडामा रहेका आधारभूत विद्यालयमा एक सय ७० जना गरेर दुई सय २७ जना मजदुरलाई क्वारेन्टाइनमा राखिएको भट्टले बताए। 

नेपाल सरकारले सीमा क्षेत्रका नागरिकलाई ल्याउनु पर्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्द बताउँछन्। जोखिम मोलेर सीमा वारी आउने क्रम जारी छ।  यहाँका स्थानीय तहले गाउँमै करेन्टाइनको व्यवस्था गरेको छ, उनीहरुलार्य सुरक्षित गाउँ पुग्ने व्यवस्था गनए आवश्यक भएको उनको भनाइ छ। 

नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक देव बहादुर वोगटीले बैतडीको सिमापारी झुलाघाटमा २ सय ५, महेन्द्रनगरको गड्डाचौकी सिमाको भारतिय सिमावर्ती बजार बनवासामा १ सय २६ र धनगढीको सिमावती बजार पलियामा ४६ जना भारतले व्यवस्थानमा राखिएको बताए। उनीहरुलाई खान वस्न भारतिय सुरक्षाअधिकारीले व्यवस्था गरेको उनको भनाई छ। 

उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका दार्चुला मार्मा गाउपालिका वानं २ का ४२ बर्षिय अगरवर सिंह ठगुन्नाको मुत्यु भएको छ। हिडेर घर फर्कन आएका उनको झोलुंगेपुल नजिकै मृत्यु भएको आफन्तले बताएका छन। 

भारतबाट फर्कीएका १ लाख बढी क्वारेन्टाइन बसेनन् 

भारतमा कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएपछि भारतका बिभिन्न ठाउँमा काम गर्ने नेपालीहरु फागुनको अन्तिम साता देखि फर्कन शुरु गरेकोमा चैतको शुरुवाट देखि ह्वात्तै बढेको थियो। सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाका महेन्द्रनगरको गड्डाचौकी, धनगढीको त्रिनगर लगायतका नाकावाट गरेर अहिले सम्म डेढ लाख बढी नेपाली भित्रिएको सरकारी तथ्यांक नै रहेको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार  सुदूरपश्चिमका ९ जिल्लामा १ सय ३१ महिला सहित १७ सय ७ जना क्वारेन्टाइनामा वसेका छन। ३ हजार ३ सय ९३ क्वारेन्टाइन कक्ष बनाइएको छ। यि नाकावाट फर्कने डेढ लाख मध्य अधिकाशं सुदूरपश्चिम प्रदेशकै रहेका छन। भारतवाट फर्केका यती ठुलो संख्या काहाँ छ भनेर अहिले सम्म एकिन तथ्यांक समेत संकलन गर्न सकिएको छैन। 

भारतमा कोरोना संक्रमण फैलिएको महाराष्ट्र, दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा काम गर्ने बढीजसो युवाहरु घर फर्केका छन। शहर भन्दा पनि गाउँ उच्च जोखिममा रहेको भन्दै स्थानिय त्रसित छन। ‘भारतवाट आएका हुल वाँधेर गाउँभरी घुम्छन, मान्छेका नजिक आएर वस्छन, भनेको मान्दैनन्, हामी जाँच गरेर आएका हौं भनेर उल्टै थर्काउछन’डडेल्धुराका एक बृद्धाले भनिन्,‘गाउँमा त धेरै समस्या भैसक्यो, बिराम फैलियो सकाप हुन्छ।’ 

चैत शुरु देखि आउन शुरु गरेका नेपाली सरकारले लकडाउन गरेर नाकावन्द गरेपनि आउने क्रम रोकिएको छैन। सरकारले मुख्य नाका बन्द गरेपछि खुला सिमाका कारण नदीमा पौडि खेलेर, जंगलको बिचवाट जोखिम मोलेर आउने गरेका छन। 

बाजुराको एक गाउँमा पुरै रुघाखोकीले थला परेको छ। भारतवाट आएका व्यक्ती क्वारेन्टाइनमा नवसेका र परिक्षण गरेर आइसोलेसनमा राख्ने पनि नगरिएकाले एकैपटक गाउँमा कोरोनाको संक्रमण फैलिने त्रास रहेको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउछन। 

 नेपालीलाई घर फिर्ता हुन दिन सर्वोच्वमा रिट

सिमामा अलपत्र परेका नेपालीलाई घर फिर्ता हुनदिनुपर्ने भन्दै सर्वोच्वमा रिट परेको छ। सरकारले नेपालीहरु प्रवेश हुन नपाउने गरि नाका बन्द गर्न गरेको निर्णय मुलुकी देवानी संहिता २०७४ को दफा १७, १८, २० र संविधानको धारा १७, १८, २५,३३, ४५ समेतको विरुद्धमा भएको उल्लेख गर्दै संविधानको धारा १३३(२) र (३) बमोजिम उक्त निर्णय उत्प्रेणको आदेशले बदर गर्न माग गरिएको छ। 

 नेपाल प्रवेश गर्न रोक नलगाउनु भनि अन्तरिम आदेश जारी गरिपाउ भनेर पनि रिटमा उल्लेख गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल सरकार रक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित कोरोना भाइरस नियन्त्रण उच्च स्तरिय समन्वय समितीलाई बिपक्षी बनाइएको छ। 

रिट निवेदन दर्ता गर्नेमा अधिबक्ता मनिष कुमार श्रेष्ठ,अधिवक्ता रामदत्त ओझा, अधिवक्ता मनिराम उपाध्याय, अधिवक्ता देवी कुमारी जोशी र अधिवक्ता किर्तीनाथ शर्मा रहेका छन।  भोली पेशी तोकिएको रिट निवेदन दर्ता गर्ने देवी कुमारी जोशीले बताएकी छन।

Published on: 1 April 2020 | Nagarik

Link

Back to list

;