s

नाका बन्द हुँदा पनि स्वदेश फर्कंदै मतदाता

निर्वाचनका लागि देशका अन्य नाकासँगै सुदूरपश्चिमको प्रमुख नाका त्रिनगर–गौरीफन्टा पनि बन्द गरिएको छ । तर, भारतबाट काम गरेर स्वदेश फर्किएकाहरू मंगलबार मध्यरातिपछि र बुधबार बिहान नाकामा आइपुगेर अलपत्र परेपछि प्रशासनले तिनलाई प्रवेश दिएको हो । 

केही दिनदेखि दैनिक चार–पाँच सयको हाराहारीमा भारतबाट नेपालीहरू स्वदेश फर्किरहेको नाकामा खटिएका सशस्त्र प्रहरीका हवल्दार पुर्नम पालले जानकारी दिए । बुधबार त्रिनगर नाकामा भेटिएका अछामको पञ्चदेवल–विनायक नगरपालिका–२ का अमरबहादुर चलाउनेले आफन्त उम्मेदवार बनेकाले मतदान गर्न घर फर्केको बताए । उनी भारतको बरेलीमा वाचमेनको काम गर्छन् । अब असारमा रोपाइँ सकेर भारत फर्कने उनले बताए । डोटीको आदर्श गाउँपालिकाको देहीमाडाैँका खडक विकले पनि चुनावका लागि घर फर्किएको बताए । ‘बर्खामा खेती लगाउन आउनैपर्थ्यो, चुनावमा भोट हाल्न पनि पाइने भएकाले अलि अगाडि आएँ,’ उनले भने, ‘घर छोडेको एक वर्ष भयो ।’  

 

नेपालगन्ज : प्रमाणपत्र हेरेर प्रवेश

स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल–भारत सीमानाका बन्द भए पनि बुधबार तीन सय ५० नेपाली नेपालगन्ज नाकाबाट स्वदेश फर्किएका छन् । कामका लागि भारत गएर फर्किने नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र हेरेर नेपाल प्रवेश गर्न दिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक (सइ) मीनबहादुर विष्टले बताए । 

उनले भारतका विभिन्न स्थानबाट आएका नेपालीलाई परिचय खुल्ने कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको बताए । भारतीयलाई नेपाल प्रवेशमा कडाइ गरिएको बताउँदै उनले औषधि उपचारका लागि नेपाल आउनेलाई कागज गराएर आउन दिएको बताए ।  

बेलहिया : राति आए, बिहान प्रवेश पाए

मंगलबार मध्यरातिबाट नेपाल–भारत बेलहिया नाका बन्द छ । तर, मतदानको चाहना बोकेर भारतका विभिन्न सहरबाट स्वदेश फर्किने नेपाली सयौँ छन् । थुप्रै नेपाली मंगलबार मध्यराति नाका बन्द भइसकेपछि बेलहिया नाका आइपुगेका थिए । अलपत्र परेपछि झन्डै एक सय नेपालीलाई आउन दिइएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले बताए । राति मात्र होइन, बुधबार दिउँसो पनि नेपाली आइरहेका थिए । ‘टाढाटाढाबाट आएका नेपालीलाई प्रवेश गर्न नदिइए नाकामै अलपत्र पर्ने अवस्था छ । त्यसैले पनि आउन दिएका हौँ,’ प्रहरी निरीक्षक श्रेष्ठले नयाँ पत्रिकासँग भने । 

मेची नाका : हजार नेपालीले प्रवेश पाए

झापास्थित पूर्वी नाका मेची पुलमा बुधबार दिनभर घुइँचो थियो । मतदानको दिनलाई मध्यनजर गर्दै मंगलबार मध्यरातबाट नाका बन्द गरिएको भए पनि एक हजारभन्दा बढी नेपाली आइपुगेका थिए । नाका बन्द हुने थाहा पाए पनि सवारीसाधन नपाएकाले ढिला आइपुगेको उनीहरू बताउँदै थिए । निकै बेर रोकिएपछि प्रशासनले उनीहरूलाई प्रवेश दियो । 

जिल्ला प्रशासन कार्यालयले नाका बन्द भए पनि व्यावहारिकता हेरेर प्रवेश दिइएको जनाएको छ । नेपाल प्रवेश गर्ने अधिकांश मतदाता हुन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले नाका बन्द भएको सूचना नपाएकाहरू नाकासम्म आएको बताए । ‘मतदान गर्न आएका कतिपय विद्यार्थी तथा श्रमिक थिए । श्रमिकसँग नेटको पहुँच हुँदैन, त्यही भएर सूचना पाएनन् होला । कतिपय पूर्वयोजनाअनुसार रेल,  प्लेनको टिकट लिएकाहरू बुधबार नाकासम्म आए,’ डिएसपी महतोले भने, ‘कतिपयसँग मतदाता परिचयपत्र पनि थियो । यता (नेपाल)तर्फ पनि पुलको मुखसम्म थिए । उता (भारत)तर्फ पनि पुलको मुखसम्म थिए । बुधबार यताउताबाट केही मान्छे आए । तर, बिहीबारबाट हामी पूर्ण कडाइ गर्छौँ ।’

Published on: 12 May 2022 | Nayapatrika

Link

Back to list

;