s

नभोगेको प्रजातन्त्र दिवस

देवेन्द्र भट्टराई

प्रजातन्त्र दिवसका अवसरमा ठूला परिवर्तन र सुधारका कुनै कुरा गर्न खोजिएको होइन । आधा शताब्दीदेखि संस्थागत हुन नसकेको प्रजातन्त्र बारेको चिन्ता होइन कि संस्थागत हुन नसकेको चेतना र चिन्तनको सन्दर्भमात्रै यहाँ उठाउन खोजिएको हो । विषय सुरु गरौं—  धादिङ, काफलपानीका कृष्णबहादुर थोक्रा तामाङले सुनाएको खुसखबरीबाट । यी तामाङ दाइको जीवनमा 'बाह्र वर्षमा खोलो र्फकन्छ' भनेझैं भएको छ । कतार भूमिमा १२ वर्षसम्म मरुभूमि खनजोत गरेपछि उनी अन्ततः घर फिर्ने भएका छन् । कागजातहीन अवस्थामा रहेका उनको घरफिर्तीको खबरमात्रै पनि उनको घर-परिवारका निम्ति सहस्र खुसीको विषय बनेको छ ।

धादिङ-नुवाकोट आसपासमा भरियाको काम गर्ने कृष्णबहादुर पनि एक आफन्त एजेन्टको सपनाको उडानमा भर परेर कतार उत्रिएका रहेछन्— २०५८ जेठ २ मा । कुवेत लैजाने भनेर एजेन्टले उनलाई कतार ल्याएर छाडेको रहेछ— काम र कम्पनीबिनै । टिकट/भिसासहित झन्डै १ लाख रूपैयाँ ऋणपानकै भरमा कतार पुगेका उनलाई त्यो ऋणको ब्याज र चक्र-ब्याज बुझाउनमात्रै दुई वर्ष लागेको थियो । १७ र ४ वर्षका दुई छोरा तथा १३ र ९ वर्षकी दुई छोरी गाउँमा श्रीमती कमलकुमारीलाई छाडेर धन कमाउन गएका कृष्णलाई त्यो मरुभूमि यात्रा निकै महंँगो बन्यो । एउटा दुःखियालाई आफ्नो लेखान्तमा जोडिएर आएको दुःखको उति हेक्का हुँदैन । जे-जता गए पनि जीउमा उपियाँ टाँसिएझैं दुःख पनि टाँसिएर आयो, कृष्णको जीवनमा । 'दुःख नलुक्ने रहेछ, सुख भने बरु लुक्दोरहेछ भाइ,' ४५ डिग्री छेउछाउको गर्मीमा पसिनाले निथ्रुक्क बनेका कृष्ण दुई महिनाअघि सहानियाको एउटा तरकारी खेतीमा उभिएर भन्दै थिए— 'म आँसु/पसिना चुहाएर भए पनि यो मरुभूमिमा बसिरहेको छु । मेरा छोराछोरीले मेरोजस्तो हालत बेहोर्नु नपरोस् भन्ने इच्छामात्रै मसँग बाँचेको छ ।'

'म घर फिर्दैछु नि भाइ,' कृष्णले भ्यालेन्टाइन डेको साँझमा एउटा मायालाग्दो कुरो फोनमा सुनाए— 'माघ मसान्तदेखि काममा जान छाडेको छु, इरानी मालिकले घर पठाउन मद्दत गरौंला भनेको छ ।' कृष्णको यो 'सूचना'मात्रै पनि आनन्द र प्रेमले भरिएको थियो । १२ वर्षसम्म कागजातहीन (गैरकानुनी) हैसियतमा मजदुरी गर्नुपर्दाको भय मनमा छँदैछ, यही कारणले अब कति 'गरामा' (जरिवाना) तिर्नुपर्ला भन्ने त्रास पनि उनका मनैमा छ । तर यतिका वर्षपछि आफ्नी श्रीमती, ससाना छोराछोरी र आफन्तजनको तस्वीर एल्बममा हेर्दाहेर्दै मन थाम्न नसकेर तामाङ दाइ घर फिर्ने भएका छन् । अब दूतावास र डिपोर्टेसन सेन्टर हुँदै केही महिनामा उनी नेपाल आइपुग्नेछन् ।

मरुभूमिमा ज्यामी/मजदुर बनेकै बेला कृष्णबहादुरले थाहा पाए कि उनको जेठो छोरा रमेश र जेठी छोरी पार्वतीको अहिले गाउँमा बिहा भैसकेको छ । नाति-नातिनाको तस्वीरसमेत कृष्णबहादुरले आफ्नो सिरानीमा राख्दै आएका थिए । आफन्त र आफ्नो ठाउँको सम्झनाले जति ऐंठन भैरहे पनि कतार छिरेपछि 'भिसा न मेडिकल' हैसियतमा पुगेका गैरकानुनी कृष्णबहादुरले घर फिर्ने आँट कहिल्यै गरेनन् । 'मेरो बाबुले हाम्रैलागि दुःख गरेको हो भनेर मेरा छोराछोरीले बुझिदिए मात्रै पनि पुग्छ मलाई,' चार वर्षयता कतारमा निरन्तर भैरहेको भेटघाटमा उनी भनिरहेका हुन्थे ।

एउटै इरानी मालिकका लागि समाल र सहानिया मजरामा खेतीकिसानी काम गर्ने कृष्णबहादुर पनि अरू थुप्रै श्रमिक साथीभाइझैं 'केही कमाइ गर्न नसकेको' अन्यौल, डर र त्रासका कारण यत्तिका वर्ष घर र्फकन नसकेका रहेछन् । 'मैले एउटा कुरा के पत्तो पाएँ भने यो जिन्दगीको कुरा गर्दा आफूभन्दा तल परेको र आफूभन्दा दुःखीलाई दाँजेर हेर्नुपर्ने रहेछ । अनिमात्रै सन्तोक मान्न सकिने रहेछ,' निरक्षर कृष्णबहादुरको जिन्दगी बुझाइ आफैंमा गहिरो थियो । आफन्तजन र घरपरिवारसँग यतिका वर्ष टाढिनुपर्दाको पीडा आफ्नै ठाउँमा छ । यी वर्षहरूमा नेपालमा के राजनीतिक, सामाजिक परिवर्तन आइसकेको छ— कृष्णजस्ता मरुभूमिका दुःखियाजनलाई केही पत्तो छैन । 'म यता चर्न आएको थिएँ, अब आफ्नो ओडारमा त जसरी भए पनि फिर्नैपर्‍यो नि भाइ,' कृष्णबहादुरको पुरानै कुरा थियो—  'मेरो परिवारले मैले यहाँ बगाएको पसिनाको मोल पक्कै बुझेको होला । म गँुड फर्किन्छु भाइ अब, बच्चाबच्चीले मेरो बुबा घर आयो भन्दा होलान् नि ।'

कृष्णसँगै १२ वर्षयता मरुभूमिको घामपानी सहँदै आएका बुटवल, रुद्राक्षका यमनाथ चापागाइर्ंले पनि सँगसँगै घर फिर्ने सोचाइ बनाएका थिए । तर उनको साइत भने केही महिनालाई पर सरेको छ । कृष्ण र यमनाथ जस्ता 'घर फिर्न चाहेका तर नसकिरहेका' हजारौं नागरिकको यो अवस्थालाई लोकतन्त्रको मर्म र व्याख्यानमा लगेर जोड्न सकिन्छ । आफ्नो उर्वर समय र जोवनभरि आँसु-पसिना-रगतको किस्सामात्रै लेखिरहने कृष्णबहादुर थोक्रा तामाङको जीवनमा कहिले आउला प्रजातन्त्र दिवस ? यसबेला कवि श्रवण मुकारुङको कविता सम्झनामा छ, मानौं यो यिनै तामाङ दाइमाथि लेखिएको हो—

'पीरै-पीरको भारी बोकी,

कता जाने तामाङ दाइ

उँभो लागे बिगु गुम्बा-

उँधो लागे नीलो गंगा

जहाँ पुगे'नि सुख छैन सपना देख्ने मान्छेलाई !!'

Published on: 18 February 2013 | Kantipur

Back to list

;