s

न खाने चिज छ न जाने ठाउँ

बिनु सुवेदी

काठमाडौँ — ललितपुरको च्यासल बस्ने राजन कार्की बिहान नौ बजेतिरै कोठाबाट निस्किए । बैसाखीको सहारामा उनलाई लगनखेल बसपार्कसम्म पुग्न झन्डै डेढ घण्टा लाग्यो । वडाले असहायका लागि खानेकुरा बाँडेको छ भन्ने सुनेका उनले कतिखेर बाँड्ने भन्नेचाहिँ चाल पाएनछन् ।

 

साढे ११ बजेतिर भेट्दा राजन १ बजे आइपुग्ने खानाको पर्खाइमा थिए। ‘एकछिन भोक सहे खाना आइहाल्छ,’ उनले भने, ‘दिउँसो ढिलो खाए बेलुका भोक लाग्दैन, दुःखमा यही भए पनि खान पाइएको छ।’

सुख त यिनलाई पहिले पनि थिएन तर हातगोडा चलुन्जेल मजदुरी गरेर दिन काट्न सजिलै हुन्थ्यो। चार वर्षअघि श्रीमतीको निधन भयो। त्यही साल ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएपछि उनका दुवै ख्ट्टुा नचल्ने भए। सँगसँगै जिन्दगी चलाउन पनि कष्ट भयो।

मजदुर भएर कलकारखानातिर धाइरहने राजन एकाएक मन्दिरका आँगनतिर देखिए, थोत्रो कचौरा थापेर दिनदिनै जिन्दगीको भिख माग्न थाले। जति जोहो हुन्थ्यो, त्यसैले महिनाको १२ सय रुपैयाँ कोठाभाडा र सुखदुःख हातमुख जोड्न पुगेकै थियो, यसोउसो गरेर गुजारा चल्थ्यो। ठ्याक्कै लकडाउन भइदियो, देश सँगसँगै उनकै पेटमा पनि।

त्यसपछि उनी बस्ने सानो कोठामा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देशमा भनेझैं रित्ता भाँडाकुँडा मात्रै बज्न थाले, उनको भान्सामा अनिकाल सुरु भयो। ‘पहिले बलियो हुँदा त दिनको २ हजार, २५ सय कमाइ हुन्थ्यो, अहिले ५/१० रुपैयाँ पनि कहाँ देख्न पाइन्छ र?’ उनले भने, ‘कर्मै यस्तै रैछ, मागेर खाने।’ 

त्यहाँ उनीसहित टाढा–टाढाबाट आएका मजदुर र असहायको ठूलो संख्या थियो, तीमध्ये केही दुई दिनदेखिका भोका पनि थिए। धेरैको कहानी मिल्दोजुल्दो रहेछ। राजनको जस्तै उनीहरूको पनि हातमुख जोड्नका लागि संघर्ष गर्न काठमाडौंबाहेक अर्को ठाउँ छैन। ‘धेरै साथी सुखदुःख आफ्नै घरमा गरौंला भनेर हिँडेरै गए,’ राजनले भने, ‘हाम्रो त जाने ठाउँ पनि छैन, भोकले मरे पनि रोगले मरे पनि यहीँ मर्ने हो।’

हो नि, कतै केही छ भन्ने कुराले पनि दुःख गर्ने आँट भरोसा दिँदो हो, जुन दु:ख घर सम्झेर सयौं किलोमिटर यात्रा गरिरहेकाहरूले पाएका छन्। साथमा आफ्नै एकमुठी सास र सँगै हुर्किरहेका अरू जिन्दगीको अभिभाराबाहेक अर्थोक केही नहुनेको जिन्दगी त झन् सन्नाटामय छ। तिनैमध्येका हुन् जोखबहादुर विक, जसले दमको रोगसँगै ठुल्ठुला भारी बोकेर जीवन चलाएका थिए। २३ दिनदेखि उनको भारी बोक्ने काम रोकियो तर दम र भोक रोकिएन।

भोको पेटसँग अब धेरै जुध्न सकिन्न भन्ने ठानेर बाहिर निस्किएका ६९ वर्षका जोखबहादुर विकले कोटेश्वरमा सेतीओपी युवा क्लबले चलाएको मेसमा खाना खाए। मजदुरी गरेर गुजारा टारिरहेका उनको कोठामा अलिकति चामल त छ तर ग्यास सकिएको छ। खाद्यान्नको अभावमा कसैले पनि दुःख पाउँदैन भनेर सरकारले धेरैचोटि भनिसकेको छ।

स्थानीय सरकारले पनि वडामा रहेका गरिब मजदुरको लगत संकलन गरिरहेका छौं भन्छ। सरकारले खाद्यान्न र ग्यासको आपूर्तिको व्यवस्था मिलाउन हरदम प्रयास गरिरहेको खबर कता कताबाट उनको कानसम्म ठोक्किन पुग्छ। त्यो खबर एकसुको पनि पैसा नभएको गोजी र गरिबीले गालेको मनसम्म पुगेर झनझनाउँछ पनि।

‘ग्यास सकिएपछि तीन दिन त भोकै बसेँ,’ विकले भने, ‘छेउको पसलमा ग्यास त थियो तर मसित पैसा नभएकाले किन्न सकिनँ।’ त्यसैले भोक मेटाउने उपाय खोज्दै भौंतारिएका विक चोकमा खाना बाँड्दै गरेको देखेपछि अडिएका हुन्। 

‘के गर्नु मिस, पेटले भाँडामा खानेकुरा छैन भन्दैन,’ उनले भने। बर्खाको झरी र हिउँदको घामले खरको सानो झुपडी भत्किएपछि फेरि बनाउने उपाय नभएर सहर भासिएका उनीसँग लड्दैपड्दै भए पनि घरै जाऊँ न त भन्ने विकल्प बाँकी रहने कुरै भएन। त्यसमाथि बुढ्यौलीसँगै बढेको दमले खुब सताउँछ। ‘भोकको पीडा त खप्नै पो नसकिने ∕छ,’ उनी भन्छन्। 

अधिकांश ज्यामीमजदुर साथीहरू लावालस्कर लागेर घरतिर जाँदा जनकपुरकी गुडिया खान यहीँ रोकिइन् तर यताको भण्डार भरिभराउ भएर भने होइन। फर्किएर जानलाई उनको घर घरजस्तो छैन। श्रीमान्ले वास्ता नगर्ने भएपछि जानुको अर्थ पनि थिएन सायद। 

‘जसोतसो यहीँ गुजारा गरौंला, सरकारले हेर्ला नि भनेर बस्यौं तर सरकारले हामीलाई देखेन,’ उनले भनिन्, ‘बरु खाना खोज्दै आउँदा पुलिसले केरकार गरे। हुन त उनीहरूले पनि ड्युटी नै गरेका होलान्।’ 

खान आत्मविश्वासी र स्वाभिमानी छिन्। काम गर्न उनलाई कत्ति पनि लाज र धक लाग्दैन। फर्निचरमा रातदिन काम गरेरै उनले तीन छोराछोरीलाई मज्जाले पढाएकी छन्, भारतको बैंग्लोरमा इन्जिनियरिङ पढ्न गएका उनका कान्छा छोरा लकडाउनका कारण उतै रोकिए। 

अर्को फर्निचर उद्योगमा काम गर्ने जेठा छोरा कौशलटारमै छन्। सँगै बसिरहेका आमाछोरीले केही समय त घरमा जे छ, खाएर बसे तर अन्न सकियो, लकडाउन सकिएन। त्यसैले ४० वर्षकी गुडिया १६ वर्षकी छोरीसँगै खानाको खोजीमा कोटेश्वर चोकसम्म पुगेकी हुन्। 

गत ३० गतेदेखि यिनीहरूको बिहान राहतको खाना खाने र राति कहिले चिउरापानी खाएर त कहिले भोकै सुत्ने दैनिकी सुरु भएको छ। ‘सरकारले राहत दिन्छ भनेको सुन्छु, कता दिन्छ थाहै छैन,’ उनले भनिन्। 

उनले कुरा टुंग्याउन नपाउँदै खानाकै प्रतीक्षामा बसेका आशिष ठाकुरले थपे, ‘सरकार ठूलो छ, हाम्रो सानो ढोकाबाट छिर्नै सक्दैन।’ सम्भवतः उनले करिब दुईतिहाइ जनमत नजिकको बलियो सरकारलाई ठूलो सरकार भनेर बुझेका छन्। आशिष पनि तिनै दुखियामध्येका हुन्, जसलाई सरकारले घर जाऊ भनेर व्यवस्था नै गरिदियो भने पनि फर्किएर टेक्ने आँगन र छिर्ने दैलो छैन। 

हो, बस्दा जति सास्ती छ, त्यो भन्दा दोब्बर सास्ती जाने कुनै ठाउँ छैन भन्नेमै छ बिन्दा कटवाललाई पनि। ज्यालामजदुरी गरेरै ठीकठीकै खालको जिन्दगी चलिरहेको थियो। १० वर्षअघि इनारको पानी तान्दा भित्तामा कुइनो ठोक्किएपछि त्यसको सिधा असर दिमागमा परेछ। दिमागको औषधि खानुपर्ने भयो। त्यसपछि श्रीमान्ले श्रीमती ‘बौलाई’ भनेर अर्को बिहे गरे। तीन जना छोराछोरी हुर्काउने, बढाउने र पढाउने जिम्मा पनि बिन्दाको एकल काँधमा आइपुग्यो। 

बिरामी शरीरले ठुल्ठुला भारी बोक्न नसक्ने भएपछि उनले नजिकै एउटा घरमा काम गर्न थालिन्। त्यहीँबाट आएको पैसाले जेनतेन जिन्दगी चलेको थियो तर लकडाउन सुरु भएपछि साहुले काममा नआऊ भने। काममा नगएपछि पैसा आउने कुरै भएन। त्यसपछि उनको परिवारले पनि केही रात भोकै कटायो। नजिकै खाना बाँड्दै छ भनेपछि चाहिँ अलिकति खुसी आएको बताउँछिन् उनी तर सुरुमा त हुर्किएका छोराछोरीले सडकमा बाँडेको खाना खान जानै आनाकानी गरे।

पछि उनीहरूलाई पनि लाग्यो होला– लाज र रोगभन्दा अगाडि भोक छ। अहिले उनीहरू खाना बाँडेका ठाउँमा पुग्ने र ल्याएर बाँडीचुँडी खाने गर्न थालेका छन्। ‘बिहान भरिएको पेट साँझ पर्दै जाँदा रित्तिँदै जान्छ,’ बिन्दाले रासन राख्ने सबै रित्ता भाँडा देखाउँदै भनिन्, ‘अब काम गरेर नल्याउँदासम्म यी भाँडा पनि भरिन्नन्, बाँच्नै मुस्किल छ,’ संसार कोभिड–१९ विरुद्ध जुधिरहेका बेला भोकसँग संघर्ष गरिरहेकी उनी लामो सुस्केरा हाल्छिन् तर त्यो अँध्यारो सानो कोठामा उनले हालेको सुस्केरा सुनिदिन्छ कसले?

Published on: 16 April 2020 | Kantipur

Link

Back to list

;