s

न सम्पत्ति न श्रीमती

रमेशचन्द्र अधिकारी

साँगुरीगढी गाउँपालिका–१ का भीम लिम्बूले आफू विदेशबाट आएलगत्तै लाखौं नगद र गहनासहित श्रीमती बेपत्ता भएकाले खोजी गरिपाउँ भन्दै प्रहरीमा निवेदन दिएका छन् । विदेशमा दु:ख गरेर कमाएको पैसा र गहना बोकेर एक सातापहिले हराएकी श्रीमती हालसम्म फेला परिनन् । साहूसँग ऋण काढेर विदेशिएका उनी यति बेला चिन्ताग्रस्त अवस्थामा छन् । श्रीमती युनिशा लिम्बू अढाई वर्षीय छोरा र ५ लाखसहित बेपत्ता रहेको उजुरीमा उल्लेख छ । ‘हालसम्म छोरा र श्रीमती फेला परेका छैनन्,’ भीमले भने ।

धनकुटा–५ की ४४ वर्षीया विन्दु श्रेष्ठ छोरी अस्मितासहित गत साता बेपत्ता भएको प्रहरीमा उजुरी परेको छ । उनी पति टुकबहादुरले विदेशबाट पठाएको ५ लाख नगदसहित बेपत्ता भएकी हुन् । १० वर्षसम्म विदेशमा कमाएको सम्पत्ति सहित पत्नी हराएको टुकबहादुरले बताए । यसैगरी धनकुटा–२ का डम्बरबहादुर राईको पनि पीडा उस्तै छ । विदेशबाट पठाएको ५ लाख नगद र २ तोला सुनसहित पत्नी बेपत्ता भएपछि उनले पनि प्रहरीमा खोजी गरिदिन निवेदन दिएका छन् ।

माथिका घटना उदाहरण मात्र हुन् । यिनै घटनासँग मिल्दो प्रकृतिका दर्जनौं उजुरी जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो पर्ने गरेका छन् । अधिकांश बेपत्ताको खोजी गरिदिन परेका उजुरीमा विदेश गएका पुरुषका पत्नी रकमसहित बेपत्ता हुने गरेको मुद्दा फाँटका कार्यरत प्रहरी निरीक्षक दिनेश अधिकारीको भनाइ छ । ‘हामी अचम्मै भइसक्यौं’ उनले भने, ‘दिनहुँजसो यस्तै घटना लिएर आउनेको संख्या बढ्दो छ ।’

प्रहरी कार्यालयको महिला तथा बालबालिका कक्षमा कार्यरत प्रहरी जवान तीर्था परियारले भित्तामा राखिएका तस्बिर देखाउँदै भनिन्, ‘अधिकांश विदेश गएर फर्किएका श्रीमान् पीडित छन् ।’ बेपत्ताको उजुरीमा परेकामध्ये केही मात्र फेला पर्ने गरेको उनले बताइन् । ‘फेला पर्दा पतिले पठाएको पैसा सकिएको अवस्थामा भेटिन्छन्’, उनले थपिन्, ‘विश्वासको संकट परेपछि सम्बन्ध विच्छेद हुने क्रम बढ्दो छ ।’

एकै महिनामा बेपत्ता भएका १८ मध्ये ९० प्रतिशत महिला छन् । त्यसमध्ये पनि विदेशबाट फर्केर आएका पतिले सम्पत्तिसहित बेपत्ता भएका पत्नीको खोजीका लागि उजुरीसाथ पेस गरेका तस्बिर 
अधिक छन् । 

प्रहरीको महिला तथा बालबालिका कक्षमा गत साउनदेखि हालसम्म २६ जना महिला बेपत्ता भएको उजुरी छ । गत वर्ष यस्तै प्रकृतिका ८४ उजुरी परेको जनाइएको छ । बेपत्तामध्ये कतिपयले अन्यत्र विवाह गरेर गएको अवस्थामा फेला पर्ने प्रहरी स्रोतको भनाइ छ । 

यसैगरी राजिखुसीले होटलमा जाने बस्ने र पछि जबरजस्ती करणी मुद्दा दर्ता गराउन आउने पनि बढेको प्रहरी कार्यालय मुद्दा फाँटका प्रहरी निरीक्षक अधिकारीको भनाइ छ ।

Published on: 27 August 2017 | Kantipur

Back to list

;