s

म्याग्दीमा दैनिक विदेशबाट १० करोड रेमिट्यान्स

हरिकृष्ण गौतम
 
म्याग्दी - रोजगारीको सिलसिलामा विदेश गएकाले दसैंखर्च पठाउन थालेपछि म्याग्दी सदरमुकाम बेनीबजारका बैंक तथा वित्तीय संस्थामा रेमिटेन्स लिन आएका सर्वसाधारणको भिड लाग्न थालेको छ।
 
नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास, निलगिरि विकास, माछापुच्छ्रे, काष्ठमण्डप डेभलपमेन्ट, बैंक अफ काठमाण्डू, धौलागिरी बचत तथा ऋण सहकारी संस्था, ग्लोबल–आइएमई बैंक, बुद्ध बहुद्देश्यीय सहकारी, बेनी बचत तथा ऋण सहकारी संस्थालगायत एक दर्जन सहकारी संस्थाले दैनिक ५ लाखदेखि १ करोडसम्म रेमिटेन्स वितरण गरेको जनाएका छन्। 
 
'दैनिक एक करोड वितरण गरिरहेका छौं,' अष्टमीसम्म दैनिक भिड लाग्ने गर्छ,' निलगिरी विकास बैंक म्याग्दीका वरिष्ठ अधिकृत अनुमान श्रेष्ठले भने। बेनीमा केन्द्रीय कार्यालय रहेको बैंकले भुरुङ तातोपानी, बावियार्चार, दरबाङ शाखा र गलेश्वरमा रहेको एक्सटेन्सन काउन्टरबाट रेमिरेन्स भुक्तानी गर्ने गरेको छ। जिल्ला भित्रिने करिब ८० प्रतिशतभन्दा बढी रकम खाडी मुलुकबाट आउने वित्तीय संस्थाले उपलब्ध गराएको तथ्यांकले देखाएको छ। 
 
एकजनाले न्यूनतम १० हजारदेखि ३ लाख रुपैयाँसम्म लिन आउने गरेको धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक देवराज सुबेदीले बताए। 'रकमको आकार हेर्दा उपभोग्य वस्तुमा खर्च गर्ने किसिमको देखिन्छ,' उनले भने। दसैंमा भित्रिएको रेमिटेन्सको करिब ३० प्रतिशत मात्र बैंकमा फिर्ता हुने गरेको सेवाप्रदायक संस्थाको भनाइ छ। दसैं–तिहारका बेेला करिब १ अर्बको हाराहारी रेमिटेन्स भित्रिने गरेको छ। जिल्लाबाट करिब २० हजार रोजगारीको सिलसिलामा गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 
 
रेमिटेन्स भित्रिएसँगै बजारमा सामान खरिद गर्नेको भिड लाग्न थालेको छ। यसैबीच नेपाल बैंक लिमिटेडले ३ करोड ५० लाख रुपैयाँ नयाँ खुद्रा नोट वितरण गरेको शाखा प्रबन्धक सूर्यप्रसाद बरालले जानकारी दिए।
 
Published on: 2 October 2016 | Nagarik

Back to list

;