s

म्यानपावरलाई प्रतिव्यक्ति दुई लाख ७० हजार बुझाएर मलेसिया गएका नौ युवा अलपत्र

दिव्या इन्टरनेशनल प्रालि म्यानपावर कम्पनीलाई प्रतिव्यक्ति दुई लाख ७० हजार बुझाएर 'क्लिनर' कामका लागि लागि मलेसिया गएका नौ जना युवाहरू अलपत्र परेका छन्।

पाँच महिनाअघि मलेसिया पुगेका उनीहरूले काम नपाएको तथा खान र बस्न समेत समस्या परेको गुनासो छ।

अलपत्र पर्नेमा महोत्तरी भँगहाका हरिराम महरा चमार, अरूण पासवन, सुबोधकुमार महरा छन्। त्यस्तै गणेशकुमार यादव, दिलीपकुमार माझी, शिवकुमार महतो, गोपाल शाह हलुवाई, मुकेशकुमार मेहता भुरन महत्तो छन्।

उनीहरूले लामो समयदेखि काम नपाउँदा आफूहरू निकै समस्यामा परेको बताएका छन्।

'सुरूमा पनि एक महिना काम दिएन। बीचमा एक महिना जति काम दिएको थियो। त्यसपछि फेरि काम भएन। एक महिना काम गरेर कमाएको रकम पनि सकियो,' मलेसियामा समस्यामा रहेका हरिराम महराले चमारले भने।

वैदेशिक रोजगार विभागमा पनि पीडितका आफन्तहरूले उनीहरूको उद्धार हुनुपर्ने माग राख्दै उजुरी गरेका छन्।

विभागमा भेटिएका पीडितका आफन्त सुशिल राउतले काम नहुँदा कम्पनीले खान र बस्न पनि राम्रो सुविधा नदिएको बताए।

'काम देउ भन्दा पनि नदिने। सुरूमा त खानका लागि दुई सय मलेसियन रिंगेट दिएको थियो रे। अहिले त त्यति पनि दिएको छैन। साथीसँग सापटी गरेर पनि पाँच महिना कटाए। अब धेरै मुस्किल भइसक्यो,' उनले भने।

दिव्या म्यानपावरले क्लिनर कामका लागि एकै पटक ८४ जना पठाएको जनाएको छ। जसमध्ये काम नपाएर समस्या परेपछि यसअघि पाँच जना नेपाल फर्काइसकेको म्यानपावरका मार्केटिङ म्यानेजर मानबहादुर बोहोराले जानकारी दिए।

पछिल्लो समय उक्त म्यानपावर मार्फत् मलेसिया पुगेका ९ जना समस्यामा परेको फरक–फरक उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।

उनीहरूका आफन्तले लामो समयदेखि अलपत्र पर्दा पनि म्यानपावरले बेवास्ता गरेकाले क्षतिपूर्तिसहित स्वदेश फिर्ता गरिनुपर्ने माग आफन्तको छ।

दिव्या म्यानपावरका मार्केटिङ मेनेजर बोहोरा भने उनीहरूको कामका लागि त्यहाँको कम्पनीको म्यानेजरसँग कुरा गरेको बताउँछन्।

'हामीले कामका लागि कुरा गरिसकेका छौं। एक जनाले त आजबाट काम पाइसक्नु भएको छ,' उनले भने।

तर उनले काम पाइसकेका भनेर नाम लिएका व्यक्तिले काम नपाएको बताएका छन्।

यस विषयमा छलफलका लागि वैदेशिक रोजगार विभागले आज म्यानपावर कम्पनीका प्रतिनिधिलाई पनि बोलाएको थियो।

म्यानपावरकी म्यानेजर सन्ध्या कुमारी बोधाले दिउँसो तीन बजे आइपुग्ने बताएकी थिइन्। तर उनी विभागमा उपस्थित भने भइनन्।

'अहिले फोन गर्दा फोन पनि लाग्दैन। हाम्रा मान्छे महिनौदेखि अलपत्र छन्। कि काम दिलाइदेउ होइन भने फिर्ता गर्देउभन्दा उल्टै म्यानपावरले हामीलाई नै गाली गर्छ,' एक आफन्तले सेतोपाटीसँग भने।

सरकारले मलेसिया रोजगारीका लागि फ्रि भिसा फ्रि टिकट घोषणा गरेको छ। यो भनेको मलेसिया जानका लागि कुनै पनि श्रमिकले शुल्क तिर्नुपर्दैन। तर युवाहरू लाखौं रकम बुझाएर जान बाध्य छन्।

लाखौं रकम बुझाएर जाँदा पनि भनेको जस्तो काम, सेवासुविधा तथा पारिश्रमिक नपाइने गुनासो छ।

Published on: 15 February 2023 | Setopati

Link

Back to list

;