s

म्यादीका लागि रोकिए युवा

खाँडाचक्र नगरपालिका २ का पर्वलाल विश्वकर्मा गत वर्ष दसैं मनाएर कात्तिक ३ गते मजदुरीका लागि भारत पुगिसकेका थिए । यसपटक भने म्यादी प्रहरी भर्नाको दरखास्त दिएर छनोटको अन्तिम चरणमा पुगेका छन् । 
 
‘उचाइ र तौलमा छनोट भइसकें,’ उनले भने, ‘दौडिन सके छनोटमा पर्छु होला ।’ उनले मजदुरीका लागि भारत जाँदा हिउँदभरिको कमाइभन्दा म्यादी बनेपछि डेढ महिनामै ५० हजार रुपैयाँ पाइने हुँदा उता नगएको बताए । अघिल्लो वर्ष यही सिजनमा उनले सिमलामा स्याउ टिप्ने, प्याकेजिङ र ग्रेडिङ गर्ने काम गरेका थिए ।
 
ताडी गाउँका पदमराज पाण्डे पनि सुर्खेतमा घर रङरोगनको ठेक्का छाडेर म्यादी बन्न गत असोज ३० गते मान्म पुगे । उनले म्यादी बन्दा रकम छिटो हातमा पर्ने र चुनावमा पनि आफ्नै जिल्लामा बस्न पाइने बताए । उनी सुर्खेतमा हुँदा घरमा रङरोगन लगाउने ठेक्का नपाउँदा भारत जाने गर्छन् । 
 
दसैं/तिहारपछि कालीकोट, जुम्ला, मुगु र बाजुरालगायत जिल्लाका युवा प्राय: हिउँदे सिजनमा ज्याला मजदुरी र व्यापारका लागि भारत जाने गर्छन् । ६ महिना भारत बसेर जहान परिवारका लागि लत्ताकपडाको जोहो गर्ने चलन पुरानै हो । मंसिर १० गते चुनाव हुने भएकाले यसपटक भने कोही म्यादी बन्न र कोही चुनावमा भोट हाल्न भए पनि भारत नगएको खाँडाचक्र नगरपालिका ३ का वडाध्यक्ष धनसिंह विश्वकर्माले बताए । 
 
म्यादीमा भर्ना हुन आएका युवामध्ये केही प्रहरी र नेपाली सेनामा पनि प्रतिस्पर्धा गर्ने स्तरका भएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुवास बोहराले बताए । ‘पहिले–पहिले द्वन्द्वमा संलग्न हुने युवाको आकर्षण म्यादी प्रहरीमा छ,’ उनले भने, ‘महिलाको पनि म्यादीमा आकर्षण बढ्दो छ ।’
 
उनले विवाहित महिला पनि म्यादी बन्न आएको बताए । चुनावमा म्यादी बनेर सहयोग गर्ने इच्छा भएका युवा भारतलगायत ठाउँमा नगएर जिल्लामै बसेको म्यादी छनोटमा संलग्न प्रहरी निरीक्षक निरोज चौलागाईंले बताए ।
 
Published on: 24 October 2017 | Kantipur

Back to list

;