s

म्यादीका लागि घर फर्किदै युवा

खगेन्द्र अवस्थी, मेनुका ढुंगाना
 
दशरथचन्द नगरपालिका–७ सुरकालका केशवराज बडु दिल्लीबाट शनिबार घर आइपुगे । आइतबार जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएका उनी डेढ महिनाको छुट्टी लिएर आएका हुन् । 
 
बझाङको बित्थडचिर गाउँपालिका–५ का विनोद बोहरा पनि मुनस्यारीबाट घर फर्किए । उनी असार अन्तिम साता भारत गएका थिए । गाउँका अरू ७ जना पनि फर्किएका छन् । सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको आवेदन खोलेको खबर पाएपछि पश्चिमी सीमामा घर फर्किनेको लर्को लागेको छ । परिवारसँग तिहार पनि मनाउन पाइने र घरखर्च जुटाउन सकिने आस बोकेर घर आएको उनीहरू बताउँछन् । ‘वैशाखमा गएकाले अहिल्यै फर्कने बेला त भएको थिएन, घरमा जरुरी काम परेको बहाना बनाएर आएँ,’ बडुले भने, ‘परिवारसँगको रमाइलो र खर्च जुटाउने माध्यम भेट्टाएकाले फर्कें ।’ जिल्ला प्रहरी कार्यालयले दर्खास्त आहान गरेपछि ग्रामीण क्षेत्रका युवायुवती म्यादी प्रहरीमा भर्ना हुन सदरमुकाम आएका छन् । असोज ३० सम्म फारम दर्ता गरिसक्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा घुइँचो लागेको छ । म्यादीमा बेरोजगार युवाको आकर्षण देखिएको डीएसपी हेरम्ब शर्माले बताए । 
 
पढेलेखेका युवासमेत जागिर नपाएपछि केही समयका लागि म्यादीमा भर्ना हुन हौसिएका छन् । ‘स्नातक पास गरेर जागिर नपाएपछि भारतको हैदरावादमा सुरक्षा गार्डको काम गरें,’ पुर्चौडी नगरपालिका–३ का राकेश महराले भने, ‘थोरै समय भए पनि परिवारसँग भेटघाट र कमाइ हुने भएकाले दर्खास्त दिएँ ।’ ५४ वर्ष उमेरसम्मकाले आवेदन दिने व्यवस्था भएकाले युवासँगै बयस्क पनि उत्तिकै छन् । यहाँको जुलाघाट नाका भएर फर्किनेको घुँइचो छ । बैतडी, बझाङ, बाजुरा र अछामलगायत जिल्लाका युवा म्यादीमा आवेदन दिन फर्केका हुन् । भारतमा ६ महिनामा बचत हुने रकम म्यादी प्रहरीमा डेढ महिनामै कमाइ हुने भएकाले घर फर्केको डिलासैनी गाउँपालिका–३ का करन रानाले बताए । निर्वाचनपछि गाउँमै रोजगारीका अन्य अवसर पाए भारत नजाने उनको भनाइ छ । भारतमा गरेको कमाइ आफ्नो र घरखर्चमै ठिक्क हुँदा आर्थिक अवस्थामा सुधार हुन नसकेकाले गाउँमै नियमित काम पाए यतै बस्ने योजना बनाएको दशरथचन्द–९ का दिनेश कोलीले बताए । ‘गाउँमा असोज–कात्तिकमा खेतीपाती र जेठ–असारमा विकास निर्माणको काम मात्रै पाइन्छ,’ उनले भने, ‘मजदुरीको काम नियमित भए ५/१० हजार कमाउन भारत जानुपर्ने थिएन ।’
 
सदरमुकाममा चहलपहल
 
म्यादीमा भर्ना हुन अछामका युवा पनि तँछाडमछाड गरिरहेका छन् । आइतबारसम्म करिब १ हजार ४ सयले आवेदन दिए । जसमध्ये २ सय १७ जना महिला छन् । स्थानीय तहभन्दा यसपटकको चुनावका लागि म्यादी प्रहरीमा भर्ना हुन आउनेको भीड अझै बढेको डीएसपी दधिराम न्यौपानेले बताए । ‘चर्को घाममा घण्टौ लाइन बसेर आवेदन दिइरहेका छन्,’ उनले भने, ‘शनिबार पनि आवेदन दर्ता गर्‍यौं ।’
 
रोजगारीको अवसर नपाएर फुर्सदिलो दैनिकी बिताइरहेका बेला ५५ दिनको जागिर पनि ठूलो अवसर बनेको युवाको भनाइ छ । ‘स्थानीय तहको निर्वाचनका बेला पनि म्यादी प्रहरी बनें,’ स्थानीय भगवती भण्डारीले भनिन्, ‘केही राहत मिल्छ कि भन्ने आशाले आवेदन दिन आएँ ।’ अहिले सदरमुकाम मंगलसैनमा चहलपहल बढेको छ । तुर्माखाद, मेल्लेख, चौरपाटी, विनायक र रहफलगायत दुर्गम क्षेत्रबाट युवा आएका छन् । 
 
कतिपय युवा सुरक्षा निकायमै भर्नाको अवसर खुल्ने भएकाले पनि म्यादीमा आकर्षित भएका छन् । मंगलसैन नगरपालिका–६ की खेमा भण्डारीले सुरक्षा निकायमै जागिर खाने मन भएको र अनुभव लिनकै लागि म्यादीमा आवेदन दिन आएको सुनाइन् । म्यादीका लागि ५५ दिनको तलब र दैनिक विशेष भत्ताको व्यवस्था गरिएको छ । 
 
म्यादीमा भीड 
 
कञ्चनपुर (कास)– कञ्चनपुरमा म्यादी प्रहरीका लागि ४ हजार ७ सयको आवेदन दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्ला दुई दिनमा मात्रै अढाइ हजार बढीले आवेदन दर्ता गरेका हुन् । आइतबार १ हजार ७ सय र सोमबार १ हजार बढीले आवेदन दर्ता गरेको डीएसपी ज्ञानबहादुर सेठीले बताए । असोज २१ देखि सुरु भएको आवेदन दर्ता सोमबार सकिएको छ । अझै केही आवेदन दर्ता गर्न बाँकी छन् । तिहारपछि छनोट प्रक्रिया सुरु हुनेछ । आवेदन दिनेमा अधिकांश शिक्षित युवा छन् । स्थानीय तहको निर्वाचनमा समेत म्यादी भइसकेकाहरू पनि ठूलो मात्रामा भर्ना हुन आएको प्रहरीले जनाएको छ । यसका साथै अवकाश प्राप्त सुरक्षाकर्मीको संख्या पनि अत्यधिक छ । 
 
Published on: 17 October 2017 | Kantipur

Back to list

;