s

मुस्ताङ दुर्घटना : कारबाही गर, क्षतिपूर्ति देऊ

मजदुरी गर्न मुस्ताङसम्म पुगेका रोल्पा र दाङका करिब २० जना मजदुरको मृत्यु भएसँगै देश फेरि एकपटक शोकमग्न भएको छ। साथसाथै सवारी साधन दुर्घटनाबारे सरोकारवाला पक्षले आत्मचिन्तन गर्नुपर्ने आवश्यकता उजागर भएको छ।
 
ट्राफिक कार्यालयले प्रकाशन गरेको पछिल्ला तथ्यांकले एक दशकमा दस हजारभन्दा बढीको मृत्यु सवारी साधन दुर्घटनाका कारण भएको देखाउँछ। सशस्त्र संघर्षमा जतिको ज्यान गएको थियो त्यसैको हाराहारीमा सवारी दुर्घटनामा निधन भएको छ। यसरी निधन हुनेमा अधिकांश सार्वजनिक यातायातमा यात्रा गर्ने मध्यमवर्गीय र निम्नमध्यम वर्गीय परेका छन्। बारम्बार ठूलो संख्यामा मृत्यु र घाइते हुने गरी यातायात दुर्घटना हुँदासमेत सरोकारवाला पक्ष भने सचेत र जिम्मेवार देखिँदैन।
 
सडक दुर्घटनालाई केवल भवितव्यका रूपमा लिँदा वा सवारी चालकको गल्तीका रूपमा मात्र बुझिँदा यसको गम्भीरतामा ध्यान नपुगेको हुन सक्छ। सडक साधन दुर्घटना न त केवल भवितव्य हो न त केवल चालकको गल्ती हो। चालक होसियार हुँदाहुँदै र ट्राफिक नियम पालना गर्दागर्दै पनि सवारी साधन दुर्घटना हुने गरेको छ। दुर्घटनाका विभिन्न पक्ष छन्। यातायात विभाग, ट्राफिक प्रहरी र राज्यका सम्बन्धित निकायले सवारी साधन दुर्घटनाका ती पक्षको अनुसन्धान गरेर समस्या निराकरण तर्फ ध्यान दिन जरुरी छ।
 
सवारी साधन दुर्घटनामध्ये एक कारक सडक संरचना पनि रहेको इन्जिनियरहरूले बेलाबखतमा बताउने गरेका छन्। अधिकांश ग्रामीण सडक विनानक्सा र विनाइन्जिनियर निर्माण हुने गरेको सडक निर्देशनालयकै इन्जिनियरले बताएका छन्। सडकको संरचना सवारी साधन सञ्चालनका लागि योग्य नभएकाले पनि दुर्घटना हुनु राज्यकै गम्भीर त्रुटि हो। विडम्बना विकासका नाममा अहिले ग्रामीण क्षेत्रमा सडक विस्तार गर्ने लहर चलेको छ। सडकको आवश्यकता, त्यसका सम्भाव्यता र त्यसमा इन्जिनियरिङ ज्ञान कत्तिको प्रयोग भएको छ भन्ने ख्यालै नगरी सडक विस्तार गर्ने गरिएको छ। ग्रामीण क्षेत्रमा अहिले डोजर जाने ठाउँमा सडक जान्छ भन्ने गलत मान्यता विकास भएको छ। स्थानीय ठेकेदार र डोजर चालकले नै बाटोको नक्सा कोर्ने गरेको गुनासो बारम्बार आउने गरेका छन्। परिणाम, गन्तव्यमा पुर्‍याउने सडक मृत्यु मार्गका प्रतिविम्ब बनेका छन्।
 
सवारी साधन दुर्घटनाको अर्को कारक सवारी साधन स्वयं हुन्। सबै सवारी साधन सबै सडकका लागि बनेका हुँदैनन्। सडकको प्रकृति हेरिकन सवारी साधन छनोट गरिएको हुन्छ। त्यस्तै यात्रु बोक्ने र नबोक्ने सवारी साधन फरक हुन्छन्। यात्रु नै बोक्न नमिल्ने सवारी साधनले यात्रु बोक्दा पनि दुर्घटनाको क्षति बढी हुने गरेको छ। शुक्रबार मुस्ताङमा भएको टिपर दुर्घटना त्यसको ज्वलन्त उदाहरण हो। टिपर कुनै पनि कोणबाट यात्रु बोक्नका लागि होइन। मुस्ताङसम्म श्रम गर्न पुगेका मजदुरको यात्रा यति जोखिमपूर्ण हुँदासम्म राज्यको उपस्थिति के अपेक्षित हुँदैन ?
 
मुस्ताङ दुर्घटनाले मजदुरहरूको जीवनबारे ठेकेदार र सम्बन्धित पक्ष कतिसम्म उदासीन छन् भन्ने देखाउँछ। मुस्ताङको उपल्लो जटिल थलोमा टिपरजस्तो कमजोर सवारी साधनमा मजदुरलाई यात्रा गराउनु चरम लापरबाही हो। यसमा न राज्यले ध्यान दियो, न त ठेकेदार कम्पनीले नै। परिणाम, १९ यात्रुले ज्यान गुमाउनुपर्‍यो। सरकारले यो दुर्घटनाबाट पाठ सिक्न जरुरी छ। मजदुरहरूको जीवन सुरक्षाका निम्ति उसले निश्चित नियमावली तयार गर्नुपर्छ। साथसाथै दुर्घटनामा मृत्यु भएका सबै मजदुरका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको बन्दोबस्त गर्नुपर्छ। मजदुरलाई जोखिमपूर्ण यात्रा गराउने ठेकेदार कम्पनीलाई भने कारबाही गर्नैपर्छ। सवारी साधन दुर्घटनालाई भवितव्यका रूपमा नलिई हेलचेक्र्याइँ, असावधानी र कतिपय प्रसंगमा अपराधका रूपमा नलिँदासम्म दुर्घटना रोकिने छैन।
 
Published on: 8 July 2018 | Annapurna Post

Back to list

;