s

मुम्बईमा कहलिएका नेपाली टुरिस्ट गाइड

सन्तोष पोखरेल

भारतका विभिन्न सहरमा लाखौं नेपाली काम गर्छन्। कोही घरेलु कामदारको रुपमा त कोही उच्च तहमा। भारतमा कार्यरत नेपालीमध्येका एकजनाले मुम्बई सहरमा 'टुरिस्ट गाइड' पहिचान बनाएका छन्। करिब चार दशकअघि भारत पसेका बिराटनगर–११ मधुमाराका ५८ वर्षीय लक्ष्मण पोखरेल भारतीय पर्यटन व्यवसायीमाझ लोकप्रिय छन्। पर्यटन व्यवसायीले तिनै पोखरेलको भरमा स्वदेशी तथा विदेशी पर्यटक जिम्मा लगाएर भारतका विभिन्न सहर घुम्न पठाउँछन्।

लामो समयदेखिको मेहनतले आफूलाई भारतीय सरहमा स्थापित गराएको उनी बताउँछन्। 'अहिलेको अवस्थामा आइपुग्न कम्ती मेहनत गरेको छैन, रातदिन पर्यटन क्षेत्रमा तल्लिन भएपछि बल्ल यो अवस्थासम्म आइपुगेको छु,' मुम्बईमै पर्यटकलाई घुमाउने क्रममा भेटिएका पोखरेलले नागरिकसँग भने, 'मेहनतकै कारण म अहिले यहाँका पर्यटन व्यवसायीको रोजाइको गाइड बन्न सफल छु।'

पोखरेलले दुई दशकअघि पर्यटन गाइडको काम थालेका रहेछन्। ६ कक्षासम्म पढेका उनले आमाको निधनपछि घर छाडेर भारत पसेको बताए। 'काम गर्दै जाँदा यो क्षेत्रमा लागियो,' उनले सुनाए। औपचारिक पढाइ कम भए पनि उनी अंग्रेजी र हिन्दी भाषामा पोख्त छन्। पर्यटकलाई भारतीय सहर घुमाउन उनलाई कुनै समस्या छैन।

'६ कक्षासम्म मात्रै पढे पनि मलाई अंग्रेजी भाषामा कुरा गर्न कुनै समस्या छैन, जुनसुकै मुलुकका पर्यटकलाई पनि मैले सहजै गाइड गर्न सक्छु,' उनले भने, 'काम गर्दै जाँदा अनुभव भयो र यसैमा खारिन सकियो।'

पर्यटन क्षेत्रमा लाग्नुअघि होटलमा काम गरेको उनले सुनाए। 'केही समय कपडा बेचेर बसेँ। त्यसबाट राम्रो हुने नदेखेपछि पर्यटन क्षेत्रमा लागेको हुँ,' पोखरेलले भने।

पोखरेल अहिले मुम्बईको निता ट्राभल्समा आबद्ध छन्। पर्यटकलाई घुमाएबापत उनले अहिले दैनिक कम्तीमा १ हजार रुपैयाँ आम्दानी गर्छन्। अप्रिल र मे पर्यटकीय सिजन भएकोले त्यो बेला आम्दानी पनि राम्रै हुने उनले सुनाए। 'कहिल्यै खालि बस्नुपर्दैन, तर अप्रिल र मेमा भ्याइनभ्याई नै हुन्छ,' उनले भने, 'अफसिजनमा पनि मलाई कामको खाँचो हुँदैन। सानोतिनो काम आइरहन्छ।'

मुम्बईमा उनले धेरैजसो अफगानिस्तान, भुटान र मलेसियाका पर्यटक घुमाउँछन्। ती बाहेक नेपाली पर्यटक पनि उनको रोजाइमा पर्छन्। पर्यटक घुमाउनुपर्ने भएपछि उनले मुम्बईको इतिहास र पर्यटकीय स्थलबारे जानकारी कण्ठस्त पारेका छन्। 'मलाई यहाँका जुनसुकै ठाउँबारे जानकारी छ, यसका लागि धेरै मेहनत परेको छ,' उनले भने, 'मुम्बईको इतिहासदेखि बर्तमानसम्म 'अपडेट' भइरहन्छु। त्यसैले पनि मलाई कुनै पनि देशका पर्यटक घुमाउन समस्या छैन।'

मुम्बईका ऐतिहासिक ठाउँ, बलिउडका चर्चित कलाकारको आवास, समुद्री किनारदेखि धनाढ्य व्यक्तिका घर सहित आसपासका क्षेत्रबारे उनले पर्यटकलाई बताउने गर्छन्। पोखरेलको रोजाइमा नेपाली पर्यटक छन्। नेपालीलाई घुमाउन पाउँदा उनी निकै खुसी हुन्छन्। 'नेपाली भेट्दा खुसी लाग्छ, नेपाली बोल्न पाउँदा मलाई साह्रै आनन्द आउँछ,' उनले भने, 'नेपाली पर्यटक भेट्दा र उनीहरुलाई घुमाउँदा नेपालकै झल्को आउँछ।' पर्यटन क्षेत्रकै आम्दानीले उनले मुम्बईमा घरजम गरेका छन्। मुम्बईमा उनको दुईतले घर छ।

Published on: 14 August 2013 | Nagarik

Back to list

;