s

मुम्बईमा चौकीदार बस्न आएका नेपाली थलिए

'सानोतिनो बिमार हो, चौकीदार बसेर उपचार गरूँला भनेर आएँ, ब्लड क्यान्सर रै'छ,' मुम्बईको एक आफन्तकोमा भेटिएका बाजुराका ३६ वर्षीय खम्म चँदराले पीडा पोखे, 'यहाँ आएर न काम गर्न सक्ने भएँ, न उपचार गर्न, अब म के गरूँ ?'

डेढ महिनाअघि आएका बुढीगंगा-२, बाजुराका चँदरा मुलुनइस्टस्थित मिठाघर रोडमा आफन्तसँग छन् । आफन्तहरूले नै अरू नेपालीको सहयोगमा उनको जाँच गराए । 'जाँच गर्दा ४० हजार भारु जति खर्च भयो, सबैसँग उठाएर बल्लबल्ल पुर्‍यायौं,' मुम्बईमा चौकीदार गर्दै आएका चँदराका छिमेकी नन्दबहादुर मिजारले भने, 'उपचारलाई ७/८ लाख रुपैयाँ लाग्छ, जुटाउनै नसक्ने भइयो ।'

मुम्बईको परेलस्थित केईएम अस्पतालका अनुसार चँदरा 'एक्युट माइलोइड लुकेमिया (एमलए) का बिरामी हुन् । 'उपचारका लागि ४ देखि ५ लाख भारु लाग्छ,' उक्त अस्पतालका डा. महेश आरको लागत पत्र -कस्ट सर्टिफिकेट) मा उल्लेख छ, 'बिरामीमा यदि समस्या बढ्दै गयो भने खर्च अरू बढ्न सक्छ ।' उनको परीक्षण टाटा मेमेरिया अस्पतालमा भएको थियो ।

घरबाट आफन्तको साथ लागेर आएका चँदरा उपचार गराउन सक्ने अवस्थामा छैनन् । 'आउँदा ४ दिन लाग्यो, सरसापट गरेर ल्याएको १० हजार खर्च भयो ।' चँदराले भने, 'घरमै खान पुग्दैन कसरी औषधि उपचार गर्ने ?'

उपचार गराउन नसकेपछि उनी अस्पतालको रिपोर्टको ठेली र केही औषधि बोकेर एक छिमेकीको साथ लागेर घर फर्किसके । '७/८ लाख लाग्ने भएपछि फर्किनुभयो,' चँदराका मित खम्म साउदले भने, 'हामीले पनि केही गर्न सक्ने अवस्था छैन, अब कसरी बचाउने ?' घरमा आमा, श्रीमती र चार छोरा रहेका चँदराले खेतीबाट ६ महिनादेखि पुग्दैन भन्दै उपचारका लागि गुहार मागेका छन् ।

काठमाडौंस्थित कान्तिपुर संवाददाताले वीर अस्पतालका चिकित्सक डीपी सिंहसँग सम्पर्क गर्दा उनले यो रोग ब्लड क्यान्सर भएको र उपचार गरे ठीक हुने बताए । 'सुरुको स्टेज -अवस्था) हो भने त्यति रकम पनि लाग्दैन,' उनले भने, 'स्टेज अनुसार लाग्न सक्छ, गरिबका लागि केही सरकारी सुविधा पनि छ ।'

Published on: 12 July 2013 | Kantipur

Back to list

;