s

मुम्बईमा चम्केका नेपाली

अमृत भादगाउँले

केही वर्ष अघिसम्म मुम्बइमा नेपालीहरू 'बहादुर'का रूपमा चिनिन्थे। अचेल त्यहाँ नेपालीको परिचय फेरिँदैछ। कतिपय नेपाली व्यवसायमा स्थापित भइसकेका छन्। रवि शर्मा ग्राफिक डिजाइनर हुन्। उनी बहुराष्ट्रिय कम्पनीका उत्पादनको 'प्याकेजिङ' गर्छन। खाने होस् वा लाउने वस्तु, त्यसलाई राख्ने प्याकेट चिरिच्याँट्ट पार्ने काम हो उनको। क्लोज अप, पेप्सोडेन्ट, फेयर एन्ड हेन्डसम, फेयर एन्ड लभ्ली, लाइफव्वाय साबुन, पार्ले नम्किनलगायत दुई दर्जन प्रोडक्टको 'कभर डिजाइन' गरिसकेका छन् उनले। 
 
मुम्बईको अपार्टमेन्टमा उनी श्रीमती र दुई छोरीसँग बस्छन्। खासमा उनी नेपाली हुन्। जन्मथलो कास्कीको वेगनास गाउँ। पछि उनको परिवार त्रिभुवनबस्ती, कञ्चनपुर बसाइँ सर्यो । 
 
बहुराष्ट्रिय कम्पनीका उत्पादन आर्कषक प्याकमा सजाइएको हुन्छ। आकर्षक साजसज्जाले उपभोक्ता लोभ्याउँछ। सामान राख्ने खोलको आकार, त्यसमा प्रयोग हुने तस्बिर, चित्र, अक्षर र रंग संयोजनमा ध्यान पुर्या उनुपर्छ। खोल देख्दैमा किनुँ-किनुँ लाग्ने हुनुपर्छ। त्यसरी लोभ्याउन सक्ने बनाउनु डिजाइनरको कला हो। 
 
शर्माले प्रोडक्ट डिजाइन गर्न थालेको १० वर्ष भयो। उनलाई घरमै आइपुग्छ काम। रोयल च्यालेन्जर ह्विस्कीको डिजाइन गर्न डेढ महिना लागेको उनी सुनाउँछन्। 
 
विगतमा उनले ६ वर्ष डिएमए प्याकेजिङ कम्पनीमा काम गरे। अचेल आफ्नै कम्पनी 'कलर क्रियसन' मार्फत् विज्ञापन कम्पनी लिन्टास, हिन्दुस्तान लिभर, नेपाल लिभर, पार्लेलगायत कम्पनीका प्रोडक्ट डिजाइन गर्छन्। पछिल्लो समय उनी आफ्नै उत्पादन बजारमा ल्याउँदैछन्। गाडीमा राख्न मिल्ने देवीदेवीका स-साना मूर्ति आकर्षक प्याकमा ल्याउँदैछन्। 
 
सपनाको सहर मुम्बईमा उनी सन् १९८९ मा आएका थिए, ग्राफिक डिजाइनिङ सिक्न। 'मुम्बईमा स्थापित हुन निकै मिहिनेत गरेँ,' ४३ वर्षे शर्मा भन्छन् 'परिश्रमको फल चाख्दैछु।' 
 
उनले केही वर्ष 'सन्डे मेल' पत्रिकामा काम गरे। पछि स्त्रि्कन प्रिन्ट, ग्राफिक सोलुसन काम गर्दागर्दै डिजाइनर बने। उनलाई भ्याइ-नभ्याइ छ। उनी १८ वर्षको उमेरदेखि चित्र बनाउँथे। 'दस वर्ष भयो मैले चित्र बनाउन छाडेको,' आफ्नो अर्पाटमेन्टको भित्तामा तराईको जीवनशैली झल्कने चित्र देखाउँदै उनले भने, 'अब फुर्सद निकालेर बनाउनुपर्ला।'
 
बाबुरामको फड्को 
पेटभरि खान नपाएपछि मजदुरी गर्न १३ वर्षको उमेरमा मुम्बई आएका थिए बाबुराम पौडेल। घर छाड्दा साथमा ५ सय रुपैयाँ थियो भने मुम्बई आइपुग्दा ५० रुपैयाँ। 
 
पोखरा उपत्यकाको शिशुवा उनको जन्मथलो। कक्षा ८ पढ्दापढ्दै २०४२ जेठ ६ मा घर छाडे उनले। सुरु-सुरुमा मुम्बईको सडकमा १५ दिनसम्म भोकै सुत्नु पर्यो , काम नपाएर। पछि घरेलु कामदार हुँदै 'मुभि क्यामेराम्यान'सम्म बने। 
 
उनले २००४ मार्चदेखि राममणि सुवेदी र वामदेव भट्टराईसँग मिलेर मनकामना भिडियो नामक कम्पनी चलाएका छन्। कम्पनीले हिन्दी च्यानलमा प्रसारण हुने टेलिसिरियल सुटिङ गर्न क्यामेरा भाडामा दिन्छ। सोनी, कलर्स, जिटिभी, स्टार, सहारालगायत च्यानलमा आउँछन् सिरियलहरू। 
 
बालाजी प्रोडक्टसनले उनका क्यामेरा प्रयोग गर्छ। कम्पनीसँग दुई दर्जन अत्याधुनिक क्यामेरा छन्। गोरे गाउँनजिक मोतीलाल नगरमा छ उनीहरूको कार्यालय। त्यहाँ चार दर्जनले काम पाएका छन्। 
 
पौडेललाई रविजी भट्टराईले सन् १९९३ मा फिल्म लाइनमा प्रवेश गराएका हुन्। क्यामेरा टेकरका रूपमा पसेका पौडेल पछि 'क्यामेरा म्यान' बने। तिनै भट्टराई अहिले बालाजी प्रोडक्सनको 'पोस्ट प्रोडक्सन' इन्चार्ज भएका छन्। 
 
दुःखका दिन सम्झेर भावुक बन्छन् पौडेल। अहिले उनको गाडी छ। मीरा रोडमा फ्ल्याट छ। छोराछोरी र श्रीमतीसँग सुखसाथ बसेका छन्। कहिलेसम्म मुम्बई बस्ने त? 'छोराछोरी आफ्नै खुट्टामा नउभिन्जेल बस्छौं,' ४२ वर्षे पौडेलले भने 'बुढेसकालमा आफ्नै गाउँ फर्कन्छौं।'
 
Published on: 13 February 2013 | Nagarik
 

Back to list

;