s

मुम्बईबाट ट्रकमा कोचिएर र कति ठाउँमा हिँड्दै आएका युवाको क्वारेन्टाइनमै मृत्यु

विश्वराज पछडङ्ग्या

 

कोरोनाको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । आइतबार बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको मृत्यु भएको हो । बिहीबार मात्रै सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको थियो ।

आइतबार मृत्यु भएका युवा ३० वैशाखमा भारतबाट फर्केका थिए । रोजगारीका लागि मुम्बई गएका उनी अरू ७० जनासँगै कहिले ट्रकमा कोचिएर त कहिले हिँड्दै घर फर्केका थिए । अधिकांश नरैनापुरकै थिए । उनीहरू नेपाल–भारतको भगवानपुर नाका पुग्दा त्यहाँ अरू २० जना पनि थिए । ९० जना सबै सँगै नेपाल प्रवेश गरेका थिए ।

वडा र घर पायक पर्ने गरी गाउँपालिकाले उनीहरूलाई छुट्टाछुट्टै क्वारेन्टाइनमा राख्ने योजना बनायो । मृतक युवालाई घरपायकको दीपेन्द्र प्राविको क्वारेन्टाइनमा राखिएको थियो । आफ्ना साथीहरूसँग उनी एउटै कोठामा बसे । क्वारेन्टाइनमा आउँदा उनमा कुनै स्वास्थ्य समस्या देखिएको थिएन, कोरोनाको लक्षण पनि थिएन । तर, ३ जेठको बिहान २ः३० बजेदेखि उनलाई एकाएक उल्टी हुन थाल्यो । एकछिनमा बेहोस भएर ढले । उनका साथीले स्वास्थ्यकर्मीलाई खबर गर्न फोन गरे । तर, स्वास्थ्यकर्मीले फोन उठाएनन् । अन्ततः उपचार नपाएर बिहान करिब ३ बजे क्वारेन्टाइनमै देह त्याग गरे । उनको मृत्यु भएको तीन घन्टापछि मात्र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा आइपुगे ।

उनी बसेको क्वारेन्टाइनमा ६ जनामा कोरोना पुष्टि भएपछि शनिबार उनको पनि स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । तर, परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भयो । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार मृतक युवाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले पनि आइतबार साँझ त्यसको पुष्टि गरेको छ । मृतकको आइतबार बेलुका इस्लाम धर्म अनुसार अन्तिम संस्कार गरिएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख मोइन खानले बताए ।

मन्त्रालयका अनुसार आइतबार साँझसम्म देशभर संक्रमितको संख्या दुई सय ९५ पुगेको छ । उनीहरूमध्ये ३६ जना उपचारपछि निको भइसकेका छन् । अहिलेसम्म पिसिआर विधिबाट २८ हजार एक सय ६० नमुना र आरडिटीबाट ६७ हजार सात सय ५९ नमुनाको परीक्षण गरिएको छ ।

Published on: 18 May 2020 | Nayapatrika

Link

Back to list

;