s

मुम्बईबाट आए तर टेक्न पाएनन् घरको आँगन

सुर्खेतमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

बुधबार राति पञ्चपुरी नगरपालिका-१ स्यानीडाँडाका २० वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। उनको कोरोना संक्रमणबाट मृत्यु भएको कर्णाली प्रदेश अस्पतालले पुष्टि गरेको छ।

बिहीबार उनको स्वाब संकलन गरी सुर्खेतमा रहेको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए।

रोजगारीका लागि भारत गएको ती युवा जेठ ९ गते पञ्चपुरी पुगेका थिए। उनी भारतको मुम्बईबाट रुपैडिहा नाका हुँदै सुर्खेत आएको पञ्चपुरी नगरपालिकाकी उपमेयर मुक्तिदेवी रेग्मीले जानकारी दिइन्।

९ गतेदेखि नै उनलाई विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। पञ्चपुरी नगरपालिका-१ का वडाध्यक्ष धनबहादुर बुढाका अनुसार उनीसहित ६ जना भारतबाट सँगै आएका थिए।

सबैलाई जनता माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको थियो।

२१ गते घर पठाउनुअघि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा उनीहरू सबैमा कोरोनाभाइरस नेगेटिभ देखिएको वडाध्यक्ष बुढाले जानकारी दिए।

घर गएका उनीहरूलाई होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको थियो। तर उनीहरू सबै क्वारेन्टिनबाट फर्किसकेपछि पनि घरबाट खाना पुर्‍याइदिने गरी नजिकै रहेको सामुदायिक भवनमा बसेका थिए। उक्त भवनमा नै ती युवाको बुधबार राति मृत्यु भएको हो।

वडाध्यक्ष बुढाका अनुसार ती युवाले क्वारेन्टिनबाट गइसकेपछि आफू सुत्ने भवनमा आफैं बढारेका थिए। राति घरबाट पुर्‍याएको खाना पनि खाए। सुतिरहेकै बेला राति १२ बजेतिर एक्कासि उनको घाँटी घ्यारघ्यार हुन थाल्यो।

त्यसको १५ मिनेटमै उनको मृत्यु भयो। वडाध्यक्ष बुढाले उनका लागि एम्बुलेन्स बोलाउने मौकासमेत नपाइएको बताए। सुत्नुअघि उनमा कुनै समस्या नदेखिएको पनि उनले बताए।

‘अगाडि केही समस्या देखिएको थिएन, खाना खाएर सुतेका रहेछन्। राति एक्कासि उनको घाँटी घ्यारघ्यार भएको सँगै सुतेका साथीहरूले थाहा पाएछन्,’ बुढाले भने, ‘तत्काल मलाई खबर गरे, म आउँदाआउँदै मृत्यु भइसकेछ।’ 

वडाध्यक्ष बुढाले मृत्यु भएका युवासँग रहेका अरू पाँच जनालाई पञ्चपुरी-१ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा पठाइएको जानकारी दिए।

‘युवकको मृत्युपछि गरिएको पिसिआर परीक्षणपछि पोजेटिभ आएको थाहा भएपछि उनीसँग रहेका अरू पाँच जनालाई विद्यालयमा बनाइएको क्वारेन्टिनमा पठाइएको छ,’ थापाले भने। 

ती पाँच जनाको पिसीआर परीक्षणका लागि स्वाब संकलनका लागि आग्रह गरिएको पनि उनले बताए।

पञ्चपुरी नगरपालिकाकी उपमेयर रेग्मीका अनुसार मृत्यु भएका युवा बसेको क्वारेन्टिनमा ४९ जना बसेका थिए। तीमध्ये आरडिटी गर्दा ३ जनामा पहिले नै कोरोना पोजेटिभ देखिएको थियो। उनीहरूलाई आइसोलेसनमा भर्ना गरिएको छ।

बाँकी सबैका कोरोना नेगेटिभ देखिएपछि पहिलो चरणमा ती युवासहित उनीहरूलाई होम क्वारेन्टिनमा बस्न भनेर पठाइएको उपमेयर रेग्मीले जानकारी दिइन्।

‘पहिले आरडिटीमा कोरोना पोजेटिभ देखिएकालाई आइसोलेसनमा राखिसकेपछि पुनः गरिएको आरडिटीमा नेगेटिभ देखिँदा घर पठाइएको हो,’ उनले भनिन्।

नेपाली सेनाको सहयोगमा शव गाडिँदै

कोरोना संक्रमणका कारण मृत्यु भएका युवाको शव नेपाली सेनाको सहयोगमा गाड्न लागिएको छ। शुक्रबार बिहान नेपाली सेनाको टोली पञ्चपुरी-१ स्यानीडाँडा पुगेको वडाध्यक्ष बुढाले बताए।

‘नेपाली सेनाको टोली आइसकेको छ, हामीलाई खाल्डो खनिदिन आग्रह गर्नुभएको छ,’ उनले भने, ‘खाल्डो खन्नका लागि मेसिन खोजिरहेका छौं।’

लासलाई जलाउने परम्परा भए पनि कोरोना संक्रमण फैलिने डरले परिवारसँग सल्लाह गरी गाड्न लागिएको बुढाले बताए।

‘जलाउँदा कोरोना झन् फैलिने सम्भावना देखिएपछि मेसिनले खाल्डो खनेर नेपाली सेनाको सहयोगमा शव गाड्न लागिएको हो,’ उनले भने।

कोरोनाभाइरसले कर्णालीमा भएको यो दोस्रो मृत्यु हो। यसअघि जेठ १७ गते दैलेखको दुल्लु नगरपालिकामा एक युवाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो।

Published on: 5 June 2020 | Setopati

 

Link

Back to list

;