s

मुम्बइबाट उद्दार गरिएका ८ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाइयो

रौतहट : सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको समन्वयमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । उक्त संस्थाले राष्ट्रिय बाल अधिकार परिषद र मिसन रेसक्यू अपरेशन इन्डीयाको समन्वयमा बालकहरूलाई नेपाल ल्याएको हो ।

उद्दार गरी ल्याइएका बालकलाई शनिबार जिल्ला प्रहरी कार्यालय गौरमा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख र राष्ट्रिय बाल अधिकार परिषदको प्रतिनिधिलगायतका सरोकारवालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले जानकारी दिए।

उद्दार गरिएका बालक राजपुर नगरपालिकाका २ जना, इशनाथ नगरपालिका २ जना,दुर्गा भगवती गाउँपालिकाका २ जना र गढीमाई नगरपालिकाका २ जना छन् । ती बालकहरू ६ देखि ८ महिना पहिले विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डीयाले भारतीय प्रहरीको सहयोगमा गत अगस्टमा उद्दार गरेको थियो ।

ग्रामीण विकास केन्द्र रौतहटका प्रतिनिधि ममता झा र सामुदायिक विकास तथा सचेतना नेपालको कार्यकारी निर्देशक दिलिप कोइराला, सचिव अनन्त बानिया भारतको मुम्बई पुगी बाल कल्याण समिति मुम्बई सहर र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका हुन् ।

६ महिनाअघि सम्पर्कविहीन भएको छोरा भेटिएपछि नुसरत बेगमले खुसीहुँदै भनिन्,'अब छोरालाई स्कुल पढाउँछु। राम्रोसँग हेरविचार गर्छु।' सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी दिलीप कोइरालाले अझै भारतका विभिन्न बालगृहमा ६ जना बालक रहेको र उनीहरुलाई नेपाल फर्काउन कागजी प्रक्रिया थालेको बताएका छन्।

Published on: 25 December 2023 | Annapurna Post

Link

Back to list

;