s

मुम्बईमा जलेर ८ नेपालीको मृत्यु

५ जना एउटै गाउँका परे

तीन जना सख्त घाइते, उपचारी जारी

ज्यान गुमाउनेमा एकै परिवारका दाजुभाइ पनि

मुम्बईको भिवन्डी सहरस्थित काठ गोदाममा शनिबार बिहान भएको आगलागीमा परेर कपिलवस्तुका ८ नेपालीको मृत्यु भएको छ। सख्त घाइते तीन नेपालीको उद्धारपछि उपचार भइरहेको छ। मृत्यु भएकामध्ये पाँच जना र सख्त घाइते तीन जना एकै गाउँका छन्। ज्यान गुमाउनेमा एकै घरमा दाजुभाइ समेत परेका छन्। खबरले पूरै गाउँ शोकमग्न छ।

आर्थिक अवस्था कमजोर भएका उनीहरू रोजगारीका लागि त्यहाँ गएका थिए। उनीहरू ज्यालादारी हैसियतमा काम गर्दै आएका थिए। मुम्बई स्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाका अनुसार मुम्बई सहरबाट १५ किमि टाढाको भिवन्डी सहरमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका उनीहरू बिहान करिब तीन बजे लागेको आगोमा जलेका हुन्।

ज्यान गुमाउनेमध्ये गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास एउटै गाउँ कुशहवा-५ सतभराका हुन्। अन्य तीन जना तिलकराम, अजय र नीरज भने कपिलवस्तुकै अर्को गाउँका हुन्। सख्त घाइते भएका विनोद अहिर, बुढे लोनिया र तितरे लोध पनि सतभरा गाउँकै हुन्।

मुम्बई भिवन्डीको मानपोली प्रहरी स्टेसनका वरिष्ठ प्रहरी निरीक्षक अनील आँकडेले असुरक्षा र लापरबाहीका कारण काठ गोदाममा आगलागी भएकाले बताए। उनले तीन जना गोदाम सञ्चालकलाई हिरासतमा लिएको जानकारी दिए। 'एफआईआर -घटना दर्ता भइसकेकाले छानबिन तीव्रताका साथ अघि बढाइनेछ,' उनले भने, 'नेपाली दूतावासको समन्वयमा मृतकहरूको शव नेपाल पठाउन पहल गरिनेछ।'

युनियन अध्यक्ष थापाले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन तत्काल पहल सुरु गर्ने जनाए। 'स्थानीय प्रहरी प्रशासन र सरोकार सम्बद्ध निकायसँग नेपाली श्रमिकले पाउनुपर्ने क्षतिपूर्तिबारे कुराकानी सुरु भइसकेको छ,' उनले भने।

मृत्युको खबर बिहानै पाएपछि गाउँमा रुवाबासी चलेको कुशहवा गाविसका पूर्वउपाध्यक्ष बुद्धिसागर शुक्लाले कान्तिपुरलाई बताए। जलेर मृत्यु हुने गौरी र गणेश दाजुभाइ हुन्। दुवै सँगै बसेर काम गरिरहेका थिए। दुवै छोराको मृत्युपछि बाबु परदेशी लोनिया विक्षिप्त छन्। घरमा कसैलाई सम्हाल्नै नसक्ने गरी रुवाबासी छ। 'के गर्ने, कसो गर्ने भनेर मेरो दिमागले नै काम गर्न सकिरहेको छैन,' परदेशीले दुखेसो पोखे। प्रजिअ विनोदप्रकाश सिंहका अनुसार घटनाबारे बुझ्न परदेशी शनिबारै मुम्बई लागेका छन्। उनीसँग आफन्त उमाप्रसाद चौहान पनि गएका छन्।

त्यस्तै, अर्का मृतकका बाबु गौमती रैदास पनि शनिबारै मुम्बई लागेका छन्। पुरै गाउँ शोकमग्न छ। सीमावर्ती गाउँ सतभराका ७०/८० जना रोजगारीका लागि भिवन्डीमा छन्। उनीहरू त्यहाँ कबाडी, हजाम र अन्य काम गर्दै आएका छन्।

Published on: 28 December 2014 | Kantipur

Back to list

;