s

मुलुकभर ९ लाख औद्योगिक प्रतिष्ठान, ३४ लाखलाई रोजगारी

मुलुकभर ९ लाख २२ हजार ४ सय ४५ औद्योगिक प्रतिष्ठान सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ ले यस्तो देखाएको हो । सरकारी कार्यालय, कूटनीतिक मिसनहरू, घरपरिवार र दर्ता नगरी गरिएका कृषिबाहेकका सम्पूर्ण आर्थिक क्रियाकलापमा त्यो संख्याका प्रतिष्ठानहरू संलग्न भएको तथ्यांक विभागले दिएको हो ।

उद्योग, व्यवसाय, सेवा, गैरसरकारी क्षेत्र, कम्पनी खोलेर गरिएका कृषिलगायत सरकारी निकायमा दर्ता भएर सञ्चालन भएका प्रतिष्ठानहरू गणनामा समावेश गरिएको छ । वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापी रूपमा गणना गरिएको थियो ।

कृषि क्षेत्र र सरकारी नोकरी गर्नेबाहेक व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानहरूमा ३४ लाख ८ हजार ७ सय ४६ जना संलग्न रहेको पनि गणनाले देखाएको छ । त्यसमध्ये २० लाख ४४ हजार ९ सय ८९ पुरुष र १३ लाख ६३ हजार ७ सय ५७ महिला छन् । एक प्रतिष्ठानमा सरदर ४ जना संलग्न रहेको पनि गणनाले देखाएको छ । प्रतिप्रतिष्ठान जनसंख्या भने ३२ छ ।

प्रदेश ३ मा सबैभन्दा बढी, कर्णालीमा कम

प्रदेश नं ३ मा ३० दशमलव ०६ प्रतिशत प्रतिष्ठान रहेको पनि गणनाले देखाएको छ । यो प्रदेशहरूमा सबैभन्दा बढी हो । त्यस्तै, कर्णाली प्रदेशमा ६ दशमलव शून्य प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । प्रदेश १ मा १८ प्रतिशत, प्रदेश ५ मा १६ प्रतिशत, प्रदेश २ मा १३ प्रतिशत, गण्डकीमा ११ प्रतिशत र प्रदेश ७ मा ७ प्रतिशत प्रतिष्ठानहरू छन् ।

काठमाडौंकेन्द्रित उद्योग व्यवसाय

जिल्लातर्फ काठमाडौं जिल्ला र स्थानीय तहतर्फ पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै उद्योग प्रतिष्ठान रहेको तथ्यांकले देखाएको छ । काठमाडौंमा १४ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । त्यस्तै, झापा र रुपन्देहीमा ४–४ प्रतिशत प्रतिष्ठान दर्ता छन् । काठमाडौं महानगरपालिकामा करिब ९ प्रतिशत उद्योग प्रतिष्ठान दर्ता छन् । पोखरा महानगरपालिकामा ३ दशमलव १ प्रतिशत प्रतिष्ठान दर्ता छन् । जिल्लातर्फ सबैभन्दा कम मनाङमा ४८७ प्रतिष्ठान छन् ।

Published On: 14 September 2018 | Naya patrika

Back to list

;