s

एमआरपी पनि नक्कली

दिनेश रेग्मी, देवेन्द्र भट्टराई 

नक्कली सामानको उत्पादन र बजारको भीडमा के-केमा भरोसा गर्ने ? प्रविधि र विज्ञानको भरपुर उपयोगका कारण विश्वभर विश्वासिलो 'परिचयपत्र' मानिने मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि नक्कली पाइएको छ ।

कुवेतस्थित नेपाली दूतावासले शंकास्पद दुई एमआरपीको फोटोकपी फेला परेको जनाउँदै छानबिनका लागि परराष्ट्र मन्त्रालयमा पठाएको छ । शंकास्पद नक्कली एमआरपीमा कास्कीकी अन्जु न्यौपाने (नम्बर ०७४६७१००) र बाराकी महिमा देवान (नम्बर ०५४६७१९१) को नाम रहेको छ ।

परराष्ट्रको राहदानी कार्यालयका एक अधिकारीका अनुसार महिमा देवानको नाममा भेटिएको पासपोर्टको बारकोड र मितिमा मोहम्मद नामका अर्कै व्यक्तिको पासपोर्ट जारी भइसकेको अभिलेख छ । अन्जु न्यौपानेको नाममा लेखिएको पासपोर्ट नम्बर ७ लाखबाट सुरु भएको र यो संख्यामा परराष्ट्रबाट पासपोर्ट जारी नभएको ती अधिकारीले बताए ।

फेरि एमआरपी प्राप्त गर्न सक्ने नियमावलीमा दुवै कान देखिएको फोटो हुनुपर्ने भनिए पनि अन्जु र महिमा दुवैको कान कपालले छोपिएको छ । परराष्ट्र मन्त्रालयका कामु सचिव दुर्गाप्रसाद भट्टराईले नक्कली एमआरपीबारेको जानकारी आफैंमा नौलो र अनुसन्धानको विषय रहेको प्रतिक्रिया दिए ।

एमआरपी नियमावलीअनुसार बाहकको तस्बिरको साइजसमेत मिलेको छैन । केन्द्रीय राहदानी कार्यालयका अनुसार २०१० को डिसेम्बर २६ बाट नेपालमा एमआरपी प्रदान गर्न थालिएकोमा अहिलेसम्म झन्डै ३ लाख ५० हजारमात्रै वितरण भएको छ । दुईमध्ये महिमाले २०११ को फेब्रुवरी ९ मा र अन्जुले २०११ मे १० मा राहदानी पाएकी छिन् । बाराको इनरुवा सिमरा-४ की २५ वषर्ीया महिमाले आफ्नो बुवाको नाम मदन देवान लेखाएकी छिन् ।

नक्कली हस्तलिखित राहदानीले ठूलो समस्या निम्त्याइरहेकाबेला मेसिन रिडेबल पासपोर्ट पनि नक्कली फेला पर्न थालेकोमा कुवेतस्थित राजदूत मधुवन पौडेलले अचम्मित बनाएको बताए । 'एमआरपी पनि नक्कली बन्न थाल्यो भने यसले अझ ठूलो समस्या निम्त्याउने छ,' पौडेलले भने, 'यसरी भेटिएका पासपोर्टको छानबिनसँगै सचेतनाका अरू उपाय अवलम्बन गर्नुपर्ने हुन्छ ।'

कुवेतको एक म्यानपावर रिक्रुटिङ कम्पनीले दूतावासको मापदण्डअनुसार भिसा निस्के/ननिस्केको निश्चित गर्न पठाएका ४१ व्यक्तिको राहदानी फोटोकपीमा शंकास्पद ती एमआरपी भेटिएका हुन् । दूतावासले अन्जुको सक्कली भिसा निस्के/ननिस्केको आफ्नो कम्प्युटर प्रणालीबाट रुजु गर्दा महिमा देवान, बाराको नाम निस्केपछि दुवैलाई एकसाथ छानबिनमा राखेको जनाएको छ । दुईमध्ये महिमा भने घरेलु कामदार -हाउसमेड) को भिसामा बिमा प्रक्रियासमेत पूरा गरेर कुवेत आइसकेको हुन सक्ने अनुमान गरिएको छ । यी दुवै राहदानीका प्रतिलिपि दसैंअगाडि दूतावासमा बुझाइएकोथियो । नक्कली एमआरपीको सूचना पाएपछि कुवेतस्थित रिक्रुटिङ एजेन्सीका प्रतिनिधि यो साता दूतावासमा आएर आवश्यक परामर्श दिने र नेपालबाट यस्तो पासपोर्ट पठाउने म्यानपावर तथा एजेन्सीकाबारे खुलासा गर्ने एक अधिकारीले जानकारी दिए ।

परराष्ट्रमा राहदानी कार्यालयका प्रमुख सहसचिव दीपक धितालले सेवाग्राहीलाई एमआरपी प्रदान गर्न थालेको एक वर्ष बितिसक्दा यस्तो नक्कली, प्रकरण थाहा नभएको बताउँदै भने, 'यो अनुसन्धानको विषय हो, शुक्रबारबाटै यसमाथि छानबिन थालिनेछ ।'

हस्तलिखित राहदानीका कारण त्यसमा बाहकको तस्बिर/ठेगाना फेरेर गिरोह सञ्चालन हुँदै आएकाले विशेषतः खाडी मुलुकमा रोजगारीमा जाने नेपाली श्रमिकले विभिन्न कठिनाइ बेहोर्दै आएका छन् । खाडीको कुवेत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कतारमा मात्रै गत एक वर्षमा तीन सयभन्दा बढी नाम/तस्बिर हेरफेर गरिएका राहदानीहरू फेला परेका थिए । 'सरकारले अब उप्रान्त कुनै तहमा पनि हस्तलिखित राहदानी उपयोग नगर्ने र राहदानीको उपयोग प्राथमिकता हेरी तत्कालै एमआरपी सुविधा उपलब्ध गराउने पहल यही नक्कलीको गिरोहलाई निरुत्साहित गराउन पनि थालेको हो,' परराष्ट्रमा राहदानी कार्यालयका एक अधिकारीले भने । अहिले पनि राहदानी बनाउन आउने थुप्रै सेवाग्राहीको नागरिकताको आधिकारिकता प्रमाणित हुन नसक्दा विभिन्न कठिनाइ झेल्नुपरेको अर्का एक कन्सुलर अधिकृतले बताए ।

'एमआरपी पद्धतिलाई पनि सहयोगी हुने गरी राष्ट्रिय परिचयपत्र बनाउनेतर्फ सरकारी पहल अगाडि बढ्नुपर्छ भनेर परराष्ट्र मन्त्रालयले सरकारलाई हालै सुझाव प्रस्तुत गरेको छ', उनले भने ।

Published on: 22 December 2011 | Kantipur 

Back to list

;