s

एमआरपी नपाउँदाको सास्ती

वैदेशिक रोजगारमा खाडी आएकाको राहदानी समयमै नविकरण नहुँदा घर फिर्नेदेखि भिसा थप्नसमेत समस्या परेको छ । नेपाली कामदारको बहुल रहेको कतार, साउदी अरब, कुबेत, बहराइन, ओमन र संयुक्त अरब इमिरेट्स -यूएई) मा कार्यरत नेपालीका राहदानी नवीकरण भएर समयमै नआएको हो । राहदानी समयमै नआउँदा घर बिदामा जान नपाउने, भिसा लगाउन नपाउने जस्ता समस्यामा कामदारले भोग्नुपरेको छ । 

कतार, साउदी, कुबेत र यूएईस्थित नेपाली दूतावासका अनुसार राहदानी बनाउन आउने नेपालीको चापले दैनिक प्रशासनिक काममा समेत असर परेको छ ।

दूतावासलाई थेग्न मुस्किल कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव हरिहरकान्त पौडेल दैनिक १ सयभन्दा बढी राहदानी नवीकरणको र्फम बुझ्छन् । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म र्फम दिने र त्यसपछि राहदानी थाप्न आउनेहरूको भीडले दूतावासको सानो ठाउँमा ठेलमठेल हुन्छ । 'दूतावासले धान्न नसक्ने स्थिति आयो,' पौडेलले भने, 'मान्छे ओइरिएका छन् । थेग्न गाह्रो भएर कुपन नै बाँड्नुपरेको छ ।' 

कुबेतमा पनि उस्तै छ । 'हामी थोरै भएको मुलुकमा पनि ५० भन्दा बढीको निवेदन आउँछ,' झन्डै ५७ हजार नेपाली रहेको कुवेतस्थित राजदूत मधुवन पौडेलले भने, 'दूतावास परिसर राहदानी बनाउन र लिन आउनेको भीडलाई सीसीटीभी राखेर निरीक्षण गर्नुपरेको छ ।' 

वैदेशिक रोजगार विभागका अनुसार मलेसियासहित खाडीका ६ मुलुकमा आर्थिक वर्ष २०६९/७० मा मात्रै करिब ४ लाख नेपाली भित्रिएका छन् । जसअनुसार कतारमा ९० हजार, मलेसियामा १ लाख ५६ हजार, साउदीमा ८६ हजार, यूएईमा ५२ हजार, कुबेतमा १४ हजार, बहराइन र ओमनमा ३/३ हजार नयाँ अनुहार  भित्रिएका छन् । यो बाहेक मात्रै यी मुलुकमा १५ लाखभन्दा बढी नेपाली छन् ।  'खाडीमा निकै कमसँग मात्रै एमआरपी छ,' द्वितीय सचिव पौडेलले भने ।  यतिखेर १० वर्षअघि बनेको राहदानीको म्याद सकिएकाले नयाँ बनाउनेहरूको ताँती लागेको हो । सबै दूतावासमा त्यस समयमा बनेको राहदानीको नवीकरण गर्न एकै पटक चाप बढेको छ । 

दूतावासका अनुसार हरेक दिन यस्तो चाप बढिरहेको छ । कतारले मात्रै दुई सातामा कम्तीमा १४ सय राहदानी काठमाडौं पठाउँछ । 'सबैतिरको दबाब अहिले काठमाडौंमा परेको छ,' उनले भने, 'त्यसले गर्दा तीन महिनामा आउने राहदानीहरू अहिले चार महिना पुग्ने स्थिति बनेको छ ।'

उता आममाफीको प्रक्रियामा व्यस्त साउदीस्थित नेपाली दूतावासले त हाल नयाँ राहदानी बनाउने प्रक्रिया नै ओझेलमा परेको छ । साउदीबाट यतिखेर समस्यामा परेका ९ हजारलाई उद्धार गर्न सकिएको छैन । क्षेत्रफलको हिसाबले निकै ठूलो रहेकाले दूतावासमा आएर राहदानी नवीकरण गर्नु आफैंमा निकै जटिल छ । 'हामीले केही साता त यो काम रोक्नु नै पर्‍यो,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने, 'अहिले नवीकरण र्फम लिन थालेका छौं ।'  

विकल्पमा अस्थायी राहदानी 

दूतावासहरूले समयमै राहदानी नआउने भएपछि विकल्पमा ६ महिने अस्थायी राहदानी दिने व्यवस्था गरेका छन् । यसका लागि थप ८० रियाल दस्तुर बुझाउनुपर्छ । 'नयाँ बनाउनका लागि ३ सय रियाल बुझाएँ । अस्थायीका लागि ८० रियाल,' झापाका बेनबहादुर कार्कीले भने, 'हामी दोहोरो मारमा पर्‍यांैं ।' सुवर्णखाल-८ अर्घाखाँचीका रमेशकुमार गौतमले अपि्रल २२ मा राहदानीको नवीकरणका लागि निवेदन दिएका थिए । उनी नयाँ एमआरपीमा भिसा लगाएर घर जाने योजनामा थिए । आइतबार -अगस्ट ४) सम्म नआएपछि फेरि अस्थायी राहदानी बनाएर दूतावासबाट फर्के । '२२ तारिखको टिकट छ,' उनले भने, 'एमआरपी आउने निश्चित भएन ।'

खाडीका अधिकांश कामदारसँग राहदानी साथमा नहुँदा सकिने म्याद पनि थाहा हुँदैन । समयमै नयाँ राहदानी दिन नसक्दा कामदारमाथि भार थपिने स्थिति छ  । संयुक्त अरब इमिरेट्स -यूएई) को रसअलखेमामा कार्यरत गोविन्द भण्डारीले तीन महिनाअघि निवेदन दिइसकेकाले राहदानी पाउने आशामा आएका थिए । राहदानी समयमै नआएकाले निरास देखिन्थे । 'कार्पेन्टरका रूपमा रसअलखेमामा कार्यरत छु । राहदानी कम्पनीसँग थियो । भिसाको म्याद सकिन दुई महिना मात्र बाँकी रहँदा कम्पनीले नयाँ राहदानी बनाउनुपर्छ भनेर दियो,' उनले भने, 'अब भिसा लगाउन नपाउने भएँ । कति दिनसम्मको जरिवाना लिने हो ?' 

झन् दूतावास नभएको मुलुकमा गाह्रो छ । 'कम्तीमा चार महिना लाग्ने गरेको छ । अप्ठेरो परेको बेला भन्ने बित्तिकै हुँदैन,' ओमनस्थित नेपाली दूतावासका प्रतिनिधि दीपक श्रेष्ठले भने, 'हामी राहदानीका लागि ३१० साउदी रियाल र ४० रियाल बैंक ड्राफ्ट गरेर पठाउने गरेका छौं । कतिपय आफैंले कुरियरमार्फत पठाउने गरेका छन् ।'

तत्काल राहदानी चाहिनेहरू नेपालै जाने गरेका छन् । खाडीमा उच्च तहमा कार्यरत नेपालीहरू कम्पनीको कामले अरू मुलुकतिर गइराख्नुपर्छ । उनीको लागि ६ महिने आस्थायी राहदानी चलाउन प्राविधिक कठिनाइ हुन्छ । 'यहाँको राहदानी कहिले हात पर्छ भन्ने ठेगाना छैन । नेपालमै अलि बढी पैसा तिरेर एक सातामा बन्ने भएकाले उतै जानुपर्‍यो,' कतारमा रहेका रोल्पाका भीमबहादुर बुढामगरले भने, 'मलाई कुर्ने समय नै छैन । जागिरै त्यस्तै छ ।'       

नागरिकता बुझाउने अर्को झन्झट   

दोलखाका दलबहादुर तामाङ नौ महिनाअघि इलेक्टे्रसियन काम गर्थे । ६ महिनाको भ्याद भएको राहदानी बोकेर आएका तामाङलाई यहाँ एमआरपी बनाउन सक्कली नागरिकता बुझाउनुपर्‍यो । उनले राहदानी बोकेकाले साथमा नागरिकता बोकेनन् । दूतावासले नागरिकता बुझाउन नसकेपछि ट्राभल डकुमेन्ट बनाएर जागिर छाडेर स्वदेश फिर्ता भए । 'मेरो घर दोलखाको विकटमा पर्छ । नागरिकताको फोटोकपी समेत ल्याउनेस्थिति भएन,' घर जाने बेला विमानस्थलमा भेटिएका उनले भने, 'एमआरपी बन्ने स्थिति भएन । ट्राभल डकुमेन्ट बनाएर जानुपर्‍यो ।' 

परराष्ट्र मन्त्रालयले राहदानीको नवीकरण गर्न नागरिकता अनिवार्य गरेपछि खाडीमा काम गर्ने नेपालीका लागि निकै झन्झट भएको छ । अझ विकट गाउँमा बस्नेहरूका लागि समस्या जटिल छ । 'पासपोर्ट भइसकेपछि किन फेरि नागरिकता चाहियो ?' दूतावास पुग्नेहरू भन्छन् । 

कतिपय नागरिकता बुझाउन नसक्नेहरू दूतावासलाई बिन्ती चढाइरहेका हुन्छन् । त्यसको सुनुवाइ नभएपछि दुःख मान्दै र्फकछन् । साउदीस्थित राजदूत पाण्डेले नागरिकताको फोटोकपीलाई नै आधार मानेर र्फम बुझ्ने गरेको बताए । कतारमा फोटोकपीलाई आधार मान्न सकिए पनि सक्कलीलाई नै जोड दिइएको छ । राहदानी नवीकरणका लागि नागरिकता माग्नुको परराष्ट्र मन्त्रालयको आफ्नै तर्क छ । 'गलत व्यक्तिको हातमा एमआरपी नपरोस्,' एक अधिकारी भन्छन् ।

Published on: 10 August 2013 | Kantipur

Back to list

;