s

एमआरपी लिने म्यानमारी पनि

प्रतिमा बाँस्कोटा, अमन कोइराला

नेपाली मेसिन रिडेबल पासपोर्ट (एमआरपी) ठूलो संख्यामा म्यानमारका नागरिकले समेत लिएको खुलासा भएको छ । प्रहरीको प्रतिआतंकवाद सेलले एमआरपीसहित बिहीबार पक्राउ गरेका १३ बंगादेशीमध्ये ६ जना म्यानमार (बर्मा) का नागरिक भएको खुलेको हो । ५ जना भने नेपाली एमआरपी बनाउन म्यानमारबाट आएका हुन् ।

एमआरपी बरामद भएका ६ म्यानमारीसहित २ बंगालादेशी र एक नेपालीलाई राहदानी र नागरिकता किर्ते ऐनमा प्रहरीले मुद्दा दर्ता गरेको छ । बाँकी ५ म्यानमारीलाई अध्यागमन विभागको जिम्मा लगाएको काठमाडौं प्रहरीले जनाएको छ । पक्राउमध्ये बर्मा घर हुने जाहित आलम, आलम गिर, मोहम्मद एमवल्ला, उमर सावेर, मोहम्द साहजान र अलि हुसेन छन् ।

यसअघि धेरैजसो बंगालदेशीले मात्र नेपाली नागरिकता र राहदानी लिने गरेको पाइए पनि म्यानमारका नागरिकबाट समेत बरामद भएको पहिलो पटक हो । उनीहरूलाई नेपालमा ल्याएर गैरकानुनी तरिकाले विदेश पठाउने गिरोहका नाइके बर्मेली नागरिक भएका कारणसमेत यस्तो प्रवृत्ति बढेको प्रहरीको अनुमान छ । 

उनीहरूले शुक्रबार प्रहरीलाई बयान दिँदै आफूहरू बर्माबाट आएको बताएका हुन् । नेपाली एमआरपी लिएका बंगलादेशीलाई म्यानपावरसम्म पुर्‍याउने धनुषाका रफिक धुनियाविरुद्ध समेत राहदानी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

बंगलादेश र म्यानमारबाट नागरिक ल्याएर नेपाली एमआरपी उपलब्ध गराई विदेश पठाउने अब्दुल करिम घटनाको अनुसन्धान थाल्नुअघि नै फरार भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार करिमले पैसा लिएर म्यानपावरमार्फत साउदी उडाएका ६ व्यक्ति कम्पनीले भनेको स्थानमा नगई अन्तै भागेपछि उनी फरार भएका हुन् ।

'कामदार पठाउनुअघि नै कामदार पठाएबापत पाउने रकम म्यानपावरमार्फत उनीहरूले पाउँछन्,' एक प्रहरीले भने, 'ती व्यक्ति भागेर अन्तै गएपछि रकम फिर्ता गर्नुपर्ने हुन्छ, रकम नतिर्न फरार भएको रहेछ ।' करिमले जेबीआर एसोसियट्स प्रालि म्यानपावरबाट पठाएका ४ र प|mन्टलाइन रिक्क्रुटमेन्टबाट पठाएका २ जना कम्पनीमा नगई भागेका थिए । प्रहरीले करिम भागेर जानसक्ने सम्भावित स्थानमा अनुसन्धान गरिरहेको छ ।

सर्लाही जिल्ला प्रशासन कार्यालय बाहिर बसेर लेखनदासको काम गर्ने रामबाबु पनि फरार छन् । प्रहरीले नागरिकता र एमआरपी जारी गरेको विषयमा अनुसन्धान सुरु गरेपछि ४/५ दिन उता उनी देखिएका छैनन् । रौतहट घर बताउने उनले सक्कली नाम र ठेगाना लुकाएको हुनसक्ने अनुमान छ ।

सर्लाहीबाट जारी २३ नागरिकता २०६९ कात्तिकभित्र नवीकरण भएको पाइएको छ । म्यानमार र बंगालदेशका नागरिक एमआरपीसहित पक्राउ परेको खबरपछि सर्लाही प्रशासनले नागरिकता नवीकरण र राहदानी सिफारिसमा कडाइ गरेको छ ।

२०६२ चैत २३ मा मलंगवा आक्रमणमा जिल्ला प्रशासन कार्यालयका स्रेस्ता जलेपछि नागरिकता पाइसकेकाको पुरानो नागरिकताका आधारमा नवीकरण गरिँदै आएको थियो । बिहीबारदेखि नागरिकता नवीकरण गर्दा अभिभावकको सनाखत र गाविसको सिफारिस अनिवार्य गरिएको छ ।

स्रेस्ता जलेको, पुरानो नागरिकता र निवेदनका आधारमा नवीकरण हुने भएकाले नेपालीसँग अनुहार मिल्ने विदेशीले राहदानी लिन सर्लाही रोजेको हुन सक्ने अनुमान छ । जन्मसिद्ध नागरिकता लिनेको राहदानी सिफारिस रोकिएको छ ।

नागरिकता लिएको ८/९ वर्षपछि व्यक्तिको अनुहार फोटोभन्दा केही फरक हुन सक्ने भएकाले दुरुपयोग भएको हुनसक्ने कर्मचारी बताउँछन् । 'नवीकरण गर्न आउनेको अनुहार र नागरिकताको फोटो हेरेका भरमा नवीकरण हुन्थ्यो,' एक कर्मचारीले भने, 'विदेशीले त्यसरी राहदानी निकालेको थाहा भएपछि अहिले कडाइ छ ।'

राहदानी फाँटका कर्मचारीले भने नागरिकता प्रमाणपत्र स्रेस्तासँग रुजु गरेर आएपछि मात्र सिफारिस दिने गरेको दाबी गरे । 'नागरिकता नवीकरणमै जालझेल भएको हुन सक्छ,' ती कर्मचारीले भने, 'नागरिकता नवीकरण भएर रुजु भएपछि हामीले विदेशी भनेर थाहा पाउने आधार हुँदैन ।' केही कर्मचारीले भने राहदानी सिफारिसमा विवाद हुँदा केही अघि २० हजार खर्च गरेर लिएको हल्ला सुनिएको बताए ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलीले आफू आएपछि समेत त्यस्ता राहदानी सिफारिस भएको देखिएको र कसरी भयो भन्नेमा आन्तरिक छानबिन जारी रहेको बताए । 'नागरिकता नवीकरण र पासपोर्ट सिफारिस सम्बन्धित व्यक्ति नआई गर्दैनौं,' उनले भने, 'भीडभाडमा एकदुईवटा झुक्याउन पनि सक्छन् तर धेरैले लिएको देखियो ।'

Published on: 23 February 2013 | Kantipur

Back to list

;