s

मृत्युदण्डबाट जोगाउन ‘ब्लड मनी’को जोहो

सन्तोष यादव

साउदी अरबमा मृत्युदण्ड सजाय तोकी जेल जीवन बिताइरहेका धनुषाका उमेश यादवको जीवनरक्षाका लागि आवश्यक रकम (ब्लड मनी) संकलन भएको छ ।

ब्लड मनी संकलन अभियानमा जुटेका सरोज रायले साढे ३७ लाख जम्मा भएको बताए । हेल्प मधेसी नामक संस्थाले संकलन गरेको १० लाख रुपैयाँ बुधबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतमार्फत पीडित परिवारका सदस्यको उपस्थितिमा रायलाई हस्तान्तरण गरियो । मुख्यमन्त्री राउतले प्रदेश सरकारका तर्फबाट पनि रकम सहयोग गर्ने प्रतिबद्धता जनाए ।
 
पाकिस्तानी नागरिक मोहम्मद अतिफ बसिर अहमद असलमको हत्या आरोपमा उमेश साउदी जेलमा छन् । अभियन्ता रायले पाकिस्तान पुगेर बसिरका परिवारसँग उमेशलाई माफी दिने सम्झौता गरिसकेका छन् । त्यस क्रममा बसिरका परिवारले ब्लड मनी ३० लाख मागेका थिए । ‘रकम संकलन भइसक्यो । अब पाकिस्तान पुगेर चाँडै बसिरको परिवारलाई रकम बुझाउने योजना बनाउँदै छौं’, रायले भने ।
 
उनका अनुसार आममाफीको कागज साउदीको अदालतमा बुझाएपछि उमेश मृत्युदण्डको सजायबाट जोगिन सक्छन् । रकम संकलन भइसकेपछि माफी पाउने आशा पलाएको उनले बताए । ‘पाकिस्तानी परिवारले दिने आममाफीको कागज अदालतमा बुझाएपछि उमेशले माफी पाउन सक्छ’, उनले भने ।
 
साउदीस्थित पुनरावेदन अदालतले जनरल कोर्टको फैसला उल्ट्याउँदै अप्रिल १५ तारिख अर्थात् वैशाख २ गते उमेशलाई घाँटी रेटेर २४ घण्टा झुन्ड्याउने सजाय सुनाएको थियो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । सन् २००७ जुलाई ३ तारिखका दिन पाकिस्तानी नागरिक बसिरको हत्या गरेको आरोप उमेशमाथि लागेको छ । उनीहरू दुवै बिन लादेन कम्पनीमा काम गर्थे । फैसलामा रकम लेनदेनको विषयमा विवाद हुँदा उमेशले रड प्रहार गरेर बसिरको हत्या गरेको उल्लेख छ । उमेशले भने आरोप स्वीकार गरेका छैन् । कार्यस्थलमा झगडा हुँदा बसिरको मृत्यु भएको उमेशको भनाइ छ । बसिरको मृत्युपछि नेपाल रकम पठाउने क्रममा उनी बैंकबाट पक्राउ परेका थिए ।
 
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ७ का उमेशको घरको अवस्था नाजुक छ । उनकी पत्नी सञ्जु यादव पहिले स्थानीय प्लाई उद्योगमा काम गर्थिन् । पतिलाई साउदीमा मारिदिन्छ भन्ने खबर सुनेदेखि डरले काम गर्न नसकेको उनले बताइन् । ‘दुई छोरा पढाउन र घरपरिवार चलाउन मुस्किल छ’, उनले भनिन्, ‘आफन्तसँग मागेर गुजारा गर्दै आएको छु ।’ आममाफीका लागि आवश्यक रकम संकलन भएपछि उमेश घर फर्किने आशा जागेको उनले बताइन् ।
 
Published on: 24 May 2018 | Annapurna Post

Back to list

;