s

मृतक परिवारले क्षतिपूर्ति पाएनन्

भारतमा नेपाली कामदार

पुनर्वास नगरपालिका–१० बिचफाँटाकी सीता बुढाका पति अनिल भारतको चेन्नईमा काम गर्थे । घरबाट गएको ४ महिना मात्रै भएको थियो । अघिल्लो दिन दम्पतीका बीचमा फोनमा लामो कुराकानी भयो । ‘घर–परिवार र काम गर्दाको सजिलो–अप्ठ्यारोका विषयमा गन्थन भएको थियो,’ सीताले ती क्षण स्मरण गरिन्, ‘अर्को दिन बिहान ओछ्यानबाट उठ्न नपाउँदै श्रीमान्को मृत्युको खबर सुनेँ ।

त्यो खबर सुनेपछि सीताले आफूलाई सम्हाल्नै सकिनन् । त्यो पल सम्भिँmदा अहिले पनि एक्लै टोलाएर बस्छिन् । ‘पाँच वर्ष भयो श्रीमान् बितेको, त्यतिबेलादेखि परिवारको रेखदेख र छोराछोरीको पढाइ सबैको बोझ मैले उठाउनुपरेको छ,’ उनले भनिन्, ‘बुढा सासूससुरा र कलिला छोराछोरीलाई कसरी पाल्ने भन्ने चिन्ता छ ।’
 
होटलमा काम गर्ने पतिको कामकै सिलसिलामा मृत्यु भए पनि उनले सामान्य किरिया खर्चबाहेक कुनै राहत र क्षतिपूर्ति पाइनन् । घरमा आम्दानी गर्ने अरू कोही छैनन् । आधा बिघा जमिनको कमाइले खान पुग्दैन । २०७० मा अनिलको मृत्यु हुँदा उनी पनि आफन्तसँगै शव बुझ्न चेन्नई गएकी थिइन् । त्यतिबेला साहुले किरिया खर्च भनेर ५० हजार नेपाली रुपैयाँ दिएको थियो । ‘त्यतिबेला छोराछोरीलाई पढाउने खर्च उपलब्ध गराउँछु र थप केही पैसा पनि दिन्छु भनेको थियो,’ सीताले भनिन्, ‘तर नत छोराछोरीको पढाइ खर्च पाइयो, न थप रकम नै ।’ उनका दुई छोरा छन् । परिवारको गुजारा चलाउन बिचफाँटाकै हरेली टोलमा सानो किराना पसल थापेकी छन् । सीमावर्ती भारतीय बजारबाट सामान ल्याएर बिक्री गर्छिन् । यही आम्दानीबाट उनले घर खर्च चलाएकी छन् । सुरक्षित आप्रवासनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था निड्स नेपालको आर्थिक सहयोगमा उनले दुई वर्षदेखि किराना पसल चलाउन थालेकी हुन् । सोही ठाउँकी नन्दा नेपालीका पति देउरामेको पनि भारत जाँदै गर्दा बाटामै मृत्यु भयो । यो खबर परिवारले धेरै पछि मात्रै थाहा पायो । आफन्तले हालै काँशको पुत्ला बनाएर अन्तिम संस्कार गरे । नन्दाको अवस्था सीताको भन्दा दयनीय छ । उनले परिवारको समेत साथ–सहयोग पाएकी छैनन् । पति घरबाट गएदेखि नै उनीमाथि अनेक आरोप–प्रत्यारोप लगाउने र घरै छाड्न दबाब दिने गरिएको थियो ।
 
‘छोराछोरी केले पाल्ने, गुजारा चलाउनै समस्या भयो,’ नन्दाले भनिन्, ‘जमिनका नाममा छाप्रो बनाउने ठाउँ मात्रै छ ।’ पुनर्वासमा रोजगारीको खोजीमा भारत तथा तेस्रो मुलुक जानेको संख्या अत्यधिक छ । घरैपिच्छेका युवा भारत वा तेस्रो मुलुक गएका छन् । कामकै सिलसिलामा वा बाटामा मृत्यु हुनेको संख्या पनि धेरै रहेको उक्त क्षेत्रमा गठन गरिएको महिला समूहकी अध्यक्ष रत्नादेवी क्षेत्रीले बताइन् । रत्नाका पति रामबहादुर पनि २०७० मा चेन्नई जाने क्रममा बाटामै लुटिए । लुटपाटका क्रममा डाँकाहरूले कुटपिट गरे । बेहोस अवस्थामा प्रहरीले भेटेपछि अस्पताल पुर्‍याउँदा उनको ज्यान जोगिएको थियो । केही दिनको उपचारपछि घर फर्किए । ‘कम्मरमुनि घाउ नै घाउ थिए,’ रत्ना सम्झिन्छिन्, ‘बाँच्लान्जस्तो लागेको थिएन, धेरै दिनको उपचारपछि निको भएँ ।’ त्यतिबेलादेखि उनका पति रामबहादुरले भारत जान छाडेका छन् । भारतमा मृत्यु भएका व्यक्तिका आफन्तले कुनै पनि राहत तथा क्षतिपूर्ति पाउन सकेका छैनन् ।
 
Published on: 14 May 2018 | Kantipur

Back to list

;