s

मृतकका परिवारलाई साउदीबाट अढाई करोड

रुद्र खड्का

रोजगारीको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ। लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए। साउदीस्थित नेपाली राजदूतावासले जनाए अनुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको  छ।

श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी अरेबिया यतिखेर दोस्रो गन्तव्यमा छ। साढे १० महिनादेखि सरकारले मलेसिया रोजगारी बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो। श्रमिक जाने संख्याको आधारमा विगतमा साउदी तेस्रो स्थानमा रहने गथ्र्यो।

हाल श्रम स्वीकृति निकालेर सबभन्दा बढी नेपाली कामदार  जाने गन्तव्य कतार भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो साता कलिङ भिसा निकालेका कामदार जान पाउने गरी मलेसिया रोजगारी सुचारु गरे पनि नयाँ भने कहिलेदेखि जान पाउँछन् भन्नेबारे कुनै जानकारी दिएको छैन। मलेसिया रोकिएपछि ठूलो संख्याका कामदार साउदी लगायतका कठिन मानिएका गन्तव्यमा गइरहेका छन्।

मृतकका हकदारले पाउने रकम लिन अब परराष्ट्र मन्त्रालयमा सम्पर्क राख्नु पर्ने हुन्छ। दूतावासका अनुसार साउदीबाट पठाइएको रकम ब्लड मनी र बिमाबापतको हो। विभिन्न जिल्ला घर भएका ४१ जनाको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ। ४१ मध्ये सात जनाको ब्लड मनीको रकम पठाइएको हो। साउदीमा कुनै नागरिकको गैरकानुनी तरिकाले हत्या गरिए मृतकका आफन्तले ब्लड मनीको रकम प्राप्त गर्ने कानुनी व्यवस्था छ।   ब्लड मनीबापत कति रकम प्राप्त गर्ने भन्नेबारेको यकिन भने क्षति र जिम्मेवारीपालनको अवस्था हेरेर अदालतले निर्णय गर्छ।

ब्लड मनीबापत सबभन्दा बढी सिरहाका मोहम्मद मजिबुल अन्सारीका परिवारले एक लाख ५० हजार रियाल (करिब ४४ लाख १७ हजार रुपैयाँ) पाउने गरी रकम पठाइएको छ। त्यस्तै स्याङ्जाका बेगबहादुर थापा (एक लाख रियाल), सुनसरीका अमिर मियाँ (७५ हजार रियाल), सुनसुरीकै मुस्तक मियाँका परिवारले ६९ हजार रियाल पाउने गरी ब्लड मनीको रकम पठाइएको छ। ब्लड मनीको रकम पाएका अन्यमा धनुषाका सन्तोष यादव (२० हजार रियाल), सिराहाका राजीवकुमार शर्मा (२० हजार रियाल) र स्याङजाका माया सार्की (१० हजार रियाल) छन्। उनीहरूका नजिकका हकदारले मात्र त्यो रकम प्राप्त गर्नेछन्। हाल रोजगारीका क्रममा करिब चार लाख युवा साउदीमा छन्।

आर्थिक वर्ष २०७३÷७४ मा रोजगारीका लागि नयाँ र पुराना गरी एक लाख आठ हजार चार सय १४ युवा रोजगारीका लागि साउदी गएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा साउदी जानेको संख्या पाँच हजार ७२ छ। जुन संख्या कतार जानेको भन्दा करिब एक हजारले कमी हो।

श्रम स्वीकृति लिएर फागुन महिनामा छ हजार एक सय युवा कतार गएका छन्। सोही महिनामा कतार र साउदीपछि रोजगारीका लागि युवा संयुक्त अरब इमिरेट्स गएका छन्। काम खोज्दै युएई जानेको संख्या चार हजार आठ सय ३७ छ। वैदेशिक रोजगारीमा गएकामध्ये चालु आर्थिक वर्षको नौ महिनामा साउदीमा एक सय ४८ युवाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगारीको क्रममा गन्तव्य मुलुकमा ज्यान गुमाउने सबैलाई रोजगारदाता र ब्लड मनीको रकम उपलब्ध हुँदैन। गन्तव्य मुलुकबाट रकम प्राप्त नभए पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेलाई वैदेशिक रोजगार बोर्डले सात लाख रुपैयाँ उपलब्ध गराउँछ। त्यस्तै मृतकका परिवारलाई बिमा कम्पनीले १० लाख रुपैयाँ दिने व्यवस्था छ। 

Published on: 10 April 2019 | Nagarik

Back to list

;