s

मृतक खनालका पीडित परिवारलाई राहत प्रदान

यूएईको दुवईस्थित सिंगापुरको कम्पनीद्वारा सञ्चालित इभान लिम पेन्टा कन्स्ट्रक्सन कम्पनीले आफ्नो कम्पनीमा रोजगारीका क्रममा ज्यान गुमाएका एक नेपाली कामदारको परिवारको शिक्षा दिक्षा र पालन पोषणका लागि राहत स्वरुप २७ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
  
गुल्मी अर्खेलि–४ का ठाकुरप्रसाद खनाल उक्त कम्पनीमा ४ वष अघि राजधानीको सामाखुसीस्थित अञ्जली ओभरसिज सर्भिस प्रालिबाट रोजगारीमा गएका थिए । नेपाल आई पुनः रोजगारीमा गएको अवस्थामा उनको मृत्यु भएको थियो ।
 
अञ्जली ओभरसिज सर्भिस प्रालिका प्रवन्ध निर्देशक टीका शिवाकटीले पीडित परिवारलाई राहत रकम दिलाउन सक्रिय पहल गरेका थिए । उक्त कम्पनीका म्यानेजर अस्फाक हुसेन नेपाल आई खनालको आश्रित परिवारलाई रकम उपलब्ध गराएका हुन् ।
 
आश्रित परिवारलाई उपलब्ध गराइएको २७ लाख मध्ये ५० प्रतिशत अर्थात् १३ लाख ५० हजार रुपैयाँ स्वर्गीय खनालकी श्रीमती टीकादेवी खनालको बैंक खातामा र बाँकी ५० प्रतिशत मध्ये २५ प्रतिशत खनालका १५ वर्षीय जेठा छोरा र बाँकी २५ प्रतिशत ६ महिनाका कान्छा छोराको मुद्धती बैंक खातामा जम्मा गरिदिएका छन् ।
 
हुसेनले बालबच्चाको शिक्षाका लागि कम्पनीले उक्त रकम उपलब्ध गराएको बताए । यसअघि खनाल परिवारलाई उक्त कम्पनीले १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा सञ्चालक शिवाकोटीले वैदेशिक रोजगारीमा जाने कामदारप्रति निरन्तर उत्तरदायी रहेको भन्दै आवश्यक परे मृतक खनालका छोराहरुले वैदेशिक रोजगारीमा जान चाहेमा भविष्यमा निःशुल्क अवसर उपलब्ध गराइदिने प्रतिवद्धता व्यक्त गरे । खनाल परिवारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट पाउनुपर्ने बीमा र क्षतिपूर्तिवापतको करीब २० रुपैयाँ यसअघि नै पाइसकेका छन् । राहतप्रति पीडित परिवारले अञ्जली ओभरसिज सर्भिस र युएईको इभान लिम पेन्टा कन्स्ट्रक्सन कम्पनीप्रति आभार प्रकट गरे ।
 
Published on: 3 April 2018 | Madhyanha

Back to list

;