s

मृत कामदारका सन्तानको छात्रवृत्ति बढाइँदै

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सन्तानलाई स्कुले शिक्षाका निम्ति दिइँदै आएको छात्रवृत्ति रकम बढाइने भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कार्यविधि संशोधन गरी छात्रवृत्ति रकम बढाउन लागेको हो । 
 
अघिल्लो वर्षदेखि छात्रवृत्ति वितरण गरिँदै आए पनि न्यूनतम सर्तको दायरा साँघुरो भएको र आवश्यक प्रचार नभएका कारण ६२ जनाले मात्रै यो छात्रवृत्ति पाएका थिए । यसअघि छात्रवृत्ति कार्यविधिमा वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका सरकारी स्कुलमा पढ्ने एक सन्तानलाई छात्रवृत्ति स्वरूप आर्थिक सहायता दिने उल्लेख थियो । कक्षा १ देखि ८ सम्म पढ्ने भए वार्षिक ६ हजार र ८ देखि १० कक्षाका विद्यार्थी भए वार्षिक दस हजार रुपैयाँ दिने प्रावधान थियो । बोर्डले यो प्रावधानलाई थप फराकिलो बनाउँदै रकम वृद्धि गर्ने र वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका सबै सन्तानले छात्रवृत्ति पाउने गरी कार्यविधि संशोधन गर्न आँटेको छ । बोर्डले तयार पारेको संशोधन प्रस्ताव अहिले कानुन मन्त्रालयमा पुगेको छ । बोर्डका कार्यकारी निर्देशक काफ्लेका अनुसार २०६५ यता मृत्यु भएका कामदारका सन्तानले छात्रवृत्ति नलिएको भए आवश्यक प्रक्रिया पूरा गरेर छात्रवृत्ति लिन सक्नेछन् । 
 
कार्यविधि संशोधन अन्तिम चरणमा रहेको काफ्लेले बताए । संशोधन भएपछि वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरूको सन्तान सरकारी वा संस्थागत जुनसुकै स्कुलमा पढेका भए पनि छात्रवृत्ति पाउनेछन् । साथै कक्षा १ देखि ८ सम्म पढ्नेले वार्षिक १० हजार र ८ देखि १२ सम्म पढ्नेले वार्षिक १२ हजार पाउनेछन् । यसअघि करार अवधिभित्र मृत्यु भएका कामदारका सन्तानले मात्रै छात्रवृत्ति पाउने गरेकामा संशोधन प्रस्तावमा श्रम स्वीकृति लिएर गएका सबै कामदारका सन्तानले पाउने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीबाट पूर्ण रूपमा अपांग भएर फर्किनेका छोराछोरीले पनि यस्तो छात्रवृत्ति पाउने गरी संशोधन प्रस्ताव अघि बढाइएको छ । 
 
बोर्डका अनुसार यस्तो छात्रवृत्ति पाउन वैदेशिक रोजगारीमा मृत्यु भएको प्रमाण पुग्ने कागजात विद्यालयमा पेस गर्नुपर्छ । यसैका आधारमा विद्यालयले सम्बन्धित जिल्ला शिक्षा कार्यालयको छात्रवृत्ति समितिमा उक्त विवरण पठाउँछ । समितिले छात्रवृत्तिबारे सिफारिस गरेपछि बोर्डले वार्षिक रूपमा जिल्ला शिक्षा कार्यालयमा रकम पठाइदिन्छ । 
 
Published on: 11 November 2016 | Kantipur

Back to list

;