s

मोडलिङ भन्दै झन्डै तान्त्रिक पूजाका लागि बेचिइनन् !

काठमाडौंमा मोडलिङ गर्ने हो ?’ सीतापाइलाकी प्रेममाया तामाङको आकर्षक प्रस्तावले रिमा (नाम परिवर्तन) सुरुमै लोभिइन् । राम्रो पारिश्रमिक र अवसरको प्रलोभनमा परेकी उनले प्रस्ताव टार्न सकिनन् । मोडलिङका लागि ६ फिट उचाइ चाहिने भन्दै प्रेममायाले नाप लिएको भिडियो विराटनगरका उमेश साहलाई पठाइन् । उताबाट स्वीकृति भएपछि रिमालाई विराटनगर लैजाने योजना बन्यो ।

महिनावारी, घाउचोट भए/नभएको, अप्रेसन गरे/नगरेको सोधपुछ गर्न थालेपछि भने उनले शंका गरिन् र आफन्तलाई सुनाइन् । अनौठो कुरा सुनेपछि उनीहरूले पुस ४ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराए । परिसरले विशेष प्रहरी टोली परिचालन गरेर युवतीको पिछा गर्दै अनुसन्धान सुरु गर्‍यो ।

युवतीलाई कृष्ण तामाङले काठमाडौंबाट विराटनगर आउनु भन्दै पुस ६ मा हवाई टिकट र २६ हजार रुपैयाँ पठाएका थिए । सो दिन प्राविधिक कारण जान नसकेपछि भोलिपल्ट बुद्व एयरको फ्लाइटबाट दिलकुमारी बुढामगरको साथमा उनलाई विराटनगर पुर्‍याइयो । एयरपोर्टमा लिन आएका कृष्ण तामाङ र उमेश साहले भ्यानमा राखेर रामजानकी मन्दिरको खाजाघरमा पुर्‍याए ।

विराटनगर जलजलाचोकस्थित काली मन्दिर धर्मशालाको कोठा नम्बर २०५ र २०६ बुक गरी उनीहरूले पुनः उनको उचाइ, महिनावारी भए/नभएको, अप्रेसन गरे/नगरेको जाँच गरे । उनलाई तान्त्रिक पूजाका लागि सीमापारि लगी पूजा गराउनेबारे कुरा भइरहँदा निगरानीमा रहेको प्रहरीले कृष्ण र उमेशलाई नियन्त्रणमा लियो ।

नवलपरासी कावासोती हुप्सेकोट–१ का २६ वर्षीय कृष्ण तामाङ र सप्तरी राजविराज नगरपालिका–१४ का ४० वर्षीय उमेश साहसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अरूमा दाङ घोराही नगरपालिका–१० बस्ने २४ वर्षीया दिलकुमारी बुढामगर, सप्तरी सप्तकोसी नगरपालिका–११ बस्ने ३५ वर्षीय उमेश माझी, मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ५१ वर्षीय दिलीप पोदार, धादिङ खनियाँबास गाउँपालिका–२ घर भई सीतापाइला बस्ने २३ वर्षीया प्रेममाया तामाङ र सुनसरी गढी गाउँपालिका–१ मधेली बस्ने ३७ वर्षीय रञ्जितकुमार चौधरी छन् । विराटनगरबाट ६ जना पक्राउ परेपछि प्रहरी प्रेममायाको खोजीमा लागेको थियो । उनी सीतापाइलाबाट समातिइन् । कृष्ण र प्रेमा श्रीमान्/श्रीमती हुन् ।

उनीहरूले राति १० बजेसम्म युवतीलाई भारत पुर्‍याउने तयारी गरेको बुझेपछि साढे ९ बजे नै धर्मशालाबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सीमापारिका एक पुजारीसँग उमेश र कृष्णको कुराकानी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । ‘उनीहरूले किन युवतीको पूजा गराउन खोजेका हुन्, निकै रहस्यमय छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने, ‘त्यहाँसम्म पुर्‍याइएको भए युवतीको ज्यान जोखिममा पर्ने थियो ।’ पूजाका लागि तयार गर्दा ‘बलि’ चढाउन खोजेको पनि प्रहरीले शंका गरेको छ । ती पुजारीबारे पनि अनुसन्धान भइरहेको बोगटीले बताए । ‘घटनामा संलग्नमध्येका उमेश माझी अपहरण तथा शरीर बन्धक र हातहतियार मुद्दामा जिल्ला अदालतबाट धरौटीमा छुटेका रहेछन्,’ उनले भने, ‘सीमापारिको सम्पर्क सूत्रदेखि युवती खोजी गर्नेमा सञ्जाल नै लागिपरेको बुझेका छौं । प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले ५ लाखका लागि उनलाई बिहार लैजान खोजेको बताएका छन् । पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रुपैयाँ, मोबाइल ७ थान, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक, कालो रङको धागो, गेरु रङको कपडा, कालो धागोले बाँधेको चाँदीको जन्तर २ थान, कृष्ण तामाङको एटीएम कार्ड ७ थान र तान्त्रिक पूजाका सामग्री बरामद गरेको छ ।

Published on: 27 December 2019 | Kantipur

Link

Back to list

;