s

मोबाइलबाटै कन्सुलर सेवा

वसन्त खड्का

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले मोबाइलबाटै सेवा प्रवाह गर्ने भएको छ। विभागले बुधबार नेपाल कन्सुलर एप्स सार्वजनिक गरेको हो। एप्सको सहायताले मोबाइलबाटै कन्सुलर विभागमा निवेदन तथा उजुरी दर्ता गर्न सकिने विभागले जनाएको छ। मोबाइल एप्सका माध्यमबाट आफ्नो निवेदनसम्बन्धी कारबाहीको अवस्था के छ भन्ने कुरासमेत हेर्न सकिनेछ।

‘यसको सहायताले एकातर्फ उजुरी दर्ता गर्न कार्यालयसम्म आउनुपर्ने झन्झट अन्त्य भएको छ, अर्कोतर्फ समय र पैसाको पनि बचत हुन्छ,’ विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारीले भने। निवेदनकर्ताले आफ्नो निवेदनउपर के भइरहेको छ भन्ने कुरा रियल टाइममा हेर्न पाउने भएकाले कर्मचारी थप जबाफदेही बन्ने राजभण्डारी बताउँछन्। ‘एप्सले कर्मचारीलाई जबाफदेही बनाउन र सार्वजनिक सेवा सहज बनाउन मद्दत गर्छ,’ राजभण्डारीले भने।निवेदनकर्ताले आफूले दिएको उजुरीका लागि कागजपत्र आवश्यक भए नभएको जानकारी एप्सबाटै पाउनेछन्। सबै जानकारी एप्सबाट प्राप्त हुने भएकाले विभाग तथा विदेशस्थित नेपाली नियोगमा फोन गरिरहुनपर्ने झन्झट पनि अन्त्य हुने भएको छ।

मोबाइल एप्स प्रयोगसँगै कागजी कामकारबाहीमा न्यूनता आउने, समय बचत हुने र अभिलेखमा समेत सहज हुने विभागको विश्वास छ। एप्सको सहयोगले विदेशी नियोगले सेवाग्राहीका उजुरी तथा निवेदनउपर के कस्तो कारबाही गरिरहेका छन् भन्ने कुरासमेत विभागबाटै अनुगमन गर्न सकिनेछ। एप्सबाट निवेदन प्राप्त गर्ने प्रविधिका कारण विदेशस्थित नियोगले निवेदकका निवेदन तथा उजुरी हराउने तथा छुटाउने समस्या पनि अन्त्य हुनेछ। एप्सका माध्यमबाट सेवाग्राहीले कर्मचारीको कामलाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

एप्सको सहायताले विदेशमा घाइते भएका वा मृत्यु भएकाको क्षतिपूर्तिबापत प्राप्त हुने रकमको विवरणसमेत पारदर्शी हुने, रकम प्राप्त भए–नभएको जानकारी हुने र त्यसको अभिलेख राख्न सजिलो हुने विश्वास विभागको छ। विभागका महानिर्देशक राजभण्डारीले हाल विभागमा विभिन्न उजुरी तथा निवेदन लिएर दैनिक हजारौंको संख्यामा सेवाग्राही आउने गरेकामा एप्सको सुरुवातसँगै विभागसम्म आउनुपर्ने समस्या समाधान हुने बताए। ‘अहिले फरकफरक प्रकृतिका निवेदनसहित सेवाग्राही विभागमै उपस्थित हुने गरेका छन्। अब सेवाग्राही कार्यालयसम्म धाउनुपर्ने छैन’, उनले भने। मोबाइल एप्स सुरुवात गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समस्यामा परेकाहरूले अब घरबाटै उजुरी दर्ता गराउन र प्रगति विवरण हेर्न सक्ने बताए। ‘सुरक्षित आप्रवासन व्यवस्थित गर्न नसकिरहेका बेला यसले समस्यामा परेकालाई आफ्ना गुनासा सहजै दर्ता गराउने व्यवस्था गरिदिएको छ,’ उनले भने।

Published on: 21 February 2019 । Nagarik

Back to list

;