s

मिस्त्रीखोलाका मजदुरको बिचल्ली, कार्यालयमा गरे नाराबाजी

सन्तोष गौतम 

बेनी  : लकडाउनको अप्ठ्यारो परिस्थितिमा ठेकेदारले ज्याला, घर जान, उपचार र खानपानको व्यवस्थापन गर्न नसकेपछि  म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित मिस्त्रीखोला जलविद्युत आयोजनाका सयौं मजदुरको बिचल्ली भएको छ । 

रोवष्ट इनर्जी प्राली प्रर्वद्धक रहेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनका मजदुरले आन्दोलन सुरु गरेका छन् । कैलाली र इलामका दुई सयभन्दा बढी मजदुरले शनिबार दिनभर आयोजनाको नारच्याङ बेशीगाउँस्थित कार्यालयमा घेराउ र नाराबाजी गरेका थिए । 

७५ दिनको ज्याला नदिएको ठेकेदारकै वेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको, बिरामी भएका मजदुरले उपचार र आफन्तको मृत्यु भएको बेलामा किरीया गर्न समेत जान नदिएको मजदुरहरुले बताए । केही मजदुर आफ्नै तरिकाले घर गएपनि क्याम्पमा बसेकाहरुलाई खान बस्नका लागि ठेकेदारले वेवास्ता गरेको गुनासो गरेका छन् । 

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, प्रहरी नायव उपरिक्षक किरनजंग कुवर, गाउपालिकाका अध्यक्ष डमबहादुर पुन लगायत जनप्रतिनिधि र स्थानीय अगुवाले ठेकेदार कम्पनीका आयोजना व्यवस्थापक तिलक रानालाई मजदुरको समस्या सम्बोधन गराउने प्रतिवद्धता जनाउन लगाएपछि शनिबार साँझ वातावरण साम्य भएको थियो । 

‘गृह मन्त्रालयले तोकेको दुई दिनभित्र ठेकेदारले ब्यवस्थापन गर्न नसक्दा घर जान नपाएका मजदुरको आधारभूत र मानवीय संवेदनसंग जोडिएको विषयमा ठेकेदार संवेदनशिल नभएका कारण असहज वातावरण बनेको देखियो,' सिडिओ ज्ञाननाथ ढकालले भने, 'मजदुरको समस्याप्रति संवेदनशिल बनेर सरकारको पछिल्लो निर्णय अनुसार सुरक्षाको उपाय अपनाएर काम गर्न आग्रह गरेका छौं ।' 

रोवष्ट इनर्जीका प्रतिनिधि चुडामणी निरौलाले ठेकेदार हाइ हिमालको व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण आयोजनाले बदनामी ब्यहोर्नुपरेको गुनासो गरेका छन् । बैंक बन्द भएकाले ज्याला दिन ढिलाई भएको र छोटो अवधिमा धेरै मजदुरलाई घर पठाउन नसकिएको आयोजना ब्यवस्थापक रानाले बताए । 

पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले विद्युतगृहमा उपकरण जडान गरेर बाँध र टनेल परिक्षण गरिरहेको छ । बैशाख महिनाभित्र आयोजना सञ्चालन गर्ने लक्ष्य थियो । सन. २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले गत बैशाखमा दुई हजार २७० मिटर सुरुङ खनेको छ । 

नारच्याङको बेशीगाउँ स्थित कालीगण्डकी नदीको बायाँ किनारमा विद्युतगृह, निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरेको छ । पहाडभित्र  ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा बालुवा थिग्राउने भूमिगत पोखरी बनाएको छ । आउटलेट देखि बाँधसम्म एक हजार ५०० मिटर दुई मिटर गोलाईको पेन स्टक पाईप जडान गरेको छ । 

मिस्त्रीखोलामा प्रर्वद्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट, जलविद्युत विकास, नेपाल बैंक, नविल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र एस डेभलभमेन्ट बैंकले ऋण लगानी गरेका छन् । विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमती) दिएको थियो । 

नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्ष पछि धकेलिएको हो । मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेका मध्य सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा २ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत आयोजना सञ्चालनमा छ । ५ मेगावाटको घलेम्दीखोलाले माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

Published on: 5 April 2020 | Annapurna Post

Link

Back to list

;