s

मिसन जाँदै हराउँदै

प्रतिमा बाँस्कोटा

संयुक्त राष्ट्रसंघीय मिसनमा गएका कनिष्ठदेखि वरिष्ठसम्मका ३६ प्रहरी कर्मचारी विदेश पलायन भएका छन् । तीमध्ये केही मिसनबाट नफर्की उतैबाट युरोप र अमेरिकातर्फ गएका छन् भने कतिपयचाहिँ स्वदेश फर्केपछि संगठनलाई सम्पर्क नै नगरी पुनः बिदेसिएका छन् ।

पलायन हुनेहरूले राष्ट्रसंघीय मिसन गएबापत प्रहरी संगठनलाई तिर्नुपर्ने रकमसमेत बुझाएका छैनन् । मिसन गएबापत पाइने विदेशी मुद्राको १० देखि १४ प्रतिशतसम्म रकम प्रहरीको कल्याणकारी कोषमा दाखिला गर्नुपर्छ । त्यसरी कोषलाई बुझाउन बाँकी रकम १ लाख ६२ हजार २ सय ९ अमेरिकी डलर (झन्डै १ करोड ६२ लाख रुपैयाँ) छ ।

'मिसनमा गएकाहरू स्वदेश फर्केपछि मुख्यालयमा सम्पर्क गर्न नआए पनि हामी रकम उठाउन सक्छौं,' प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले भने, 'तर नेपालमै नर्फकनेहरूसँग कसरी उठाउने भन्ने गृहकार्य भइरहेको छ ।' कल्याणकारी कोषमा बुझाइएको रकम मिसनमा जान नपाएका प्रहरी कर्मचारीका छोराछोरीलाई पढाउन र औषधि-उपचारलगायत कल्याणकारी काममा खर्च गर्ने गरिन्छ ।

विदेश पलायन भएका प्रहरी अधिकारीहरूलाई मुख्यालयले बर्खास्त गरिसकेको छ । तीमध्ये डीएसपी मधुसुदन बुढाथोकीले पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले पनि चलिरहेको छ ।

राज्यको प्रतिनिधित्व गरेर विदेश गई उतै पलायन हुनु राज्यकै लागि लज्जास्पद भएको पूर्वगृहसचिव भोजराज पोखरेलले बताए । 'यहाँ सानसँग बसेको व्यक्ति अमेरिका वा अन्य मुलुकमा लुक्नुको कारण आर्थिक अभाव पनि हो,' उनले भने, 'यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।'

मिसनमा खटिएको मुलुकबाट अमेरिकाको भिसा लगाएर घुम्न भनेर गएका कतिपय प्रहरी अधिकारी पनि त्यतै बसेका छन् । त्यसरी बसेकामा एसएसपीदेखि असईसम्म १४ जना छन् ।

प्रहरी मुख्यालय स्रोतका अनुसार सन् २००१ मा पुलिस डिभिजन अफिसरका रूपमा राष्ट्रसंघीय मुख्यालय न्युयोर्क पुगेका एसएसपी आमोदचन्द्र गुरुङले उतैबाट राजीनामा दिए । यस्तै, रुवान्डामा अनुसन्धान अधिकृतका रूपमा खटिएका एसपी राजेश न्यौपाने र डीएसपी पूर्णचन्द्र अधिकारी त्यहाँबाट अमेरिकातर्फ पलायन भए ।

सन् २००७ मा हाइटी गएका इन्स्पेक्टर मुकुन्द थापा अमेरिका गएर बसे । लाइबेरियामा खटिएका चन्द्रप्रसाद पोख्रेल, सुरेशप्रसाद अधिकारी र टेकबहादुर घर्ती पनि कोसोभो, लाइबेरिया र हाइटीबाट उतै लुकेर बसेको स्रोतले बतायो ।

यस्तै सईहरू गंगाबहादुर राना, मोहनकुमार गुरुङ, विनोद मल्ल, जंगबहादुर अधिकारी, पदमबहादुर ठकुराठी, दानबहादुर मदासी कोसोभो, लाइबेरिया, सुडान, हाइटीलगायतका मिसनबाट विदेशतिरै लुकेर बसेका छन् । 

राष्ट्रसंघीय मिसनमा जानेमात्र नभई तालिमका लागि अमेरिका गएका प्रहरीसमेत उतै लुक्ने गरेका छन् । सन् २००३ मा प्रतिआतंकवादसम्बन्धी तालिममा भाग लिन गएका १२ प्रहरीमध्ये ८ जना स्वदेश नै फर्केनन् । अमेरिकासँग सीमा जोडिएको हाइटीमा मिसन गएका बेला प्रहरी अधिकारी लुकेका कारण एक वर्षअघि त्यहाँका कमान्डरले घुम्न जाने छुट्टीसमेत दिएका थिएनन् ।

पलायन हुने प्रवृत्तिले प्रहरी संगठनलाई दीर्घकालीन असर पार्ने पूर्वडीआईजी कुमार कोइरालाले टिप्पणी गरे । 'बाहिर नेपाल प्रहरीको राम्रो छवि छ,' उनले भने, 'यस्ता प्रवृत्तिले त्यो छविमाथि धक्का पुर्‍याउँछ । त्यसैले यो क्रमलाई जसरी भए पनि नियन्त्रण गर्नुपर्छ ।'

Published on: 7 February 2014 | Kantipur

Back to list

;