s

मृत्यु भएका व्यक्तिको पासपोर्ट प्रयोग गरी १५ वर्ष अमेरिका बस्न सफल

मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरू प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थोक्पाको कथा हो, यो ।
 
१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरूलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्ट पनि त्यही नाममा थियो । पेम्बा र याङजी शेर्पाको पासपोर्टमा आफ्नो फोटो टाँसेर उनीहरू अमेरिका गएका थिए । पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए । तर, एउटा औँठा छापले १५ वर्षअघिको उनीहरूको अपराध अहिले बाहिर आएको छ । हाल दुवै हिरासतमा छन् । तीन साताअघि उनीहरू पक्राउ परेका हुन् ।
 
सिरियन र इरानीको युरोप छिर्न नेपालको रुट 
 
युरोप मध्यपूर्वी देश नजिक छ । तर, कतिपय मध्यपूर्वी देशका नागरिक युरोप छिर्न नेपालको रुट प्रयोग गर्छन् । नक्कली पासपोर्ट तथा भिसा प्रयोग गरी युरोप छिर्न चाहनेले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेका हुन् । हाल चार इरानी र एक सिरियनलाई अध्यागमन विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरू ग्रिसको नक्कली पासपोर्ट बनाई युरोप छिर्न लागेको अध्यागमन विभागका निर्देशक शम्भु मरासनीले बताए । सेयेद अली खाराजानी, उनकी श्रीमती लिसनिडे ट्रियानटाफेलेस र डेढ वर्षको बच्चालाई नियन्त्रणमा लिइएको हो ।
 
त्यस्तै, इराकी जोहारा जामनी डेनी र सिरियाका मोहम्मद फौद उनोथेमेन पनि पक्राउ परेका छन् । सिरियन नागरिकले भने स्पेनको नक्कली पासपोर्ट लिएर क्यानाडा जान नेपाललाई ट्रान्जिट बनाएका थिए । सक्कलीजस्तै देखिने नक्कली एमआरपी लिएर उनीहरू नेपाल आएका थिए । पासपोर्टमा भिसा लगाइसकेपछि सूचना आएकाले उनीहरू पक्राउ परेका हुन् ।
 
१५ लाखमा भिसा लागेको पासपोर्ट 
 
मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईवटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए । सोही समूहले पासपोर्टमा उनीहरूको फोटो परिवर्तन गरिदिएको थियो । त्यही पासपोर्टबाट उनीहरू सन् २००२ मा अमेरिका पुगेका थिए । दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए । कसैले थाहा पाएन । यो १५ वर्षमा उनीहरू अमेरिकामा स्थापित भइसकेका थिए । छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन् । अब अमेरिका जान दुवैलाई गाह्रो थिएन । त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए । दूतावासमा दुवैले आफूहरू यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए । तर, औँठाछापबाट उनीहरूको अपराध पत्ता लाग्यो ।
 
औँठाछाप सामान्यतः कसैसँग मिल्दैन । तर, लाक्पा र थोक्पासँगै मिल्ने औँठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए । थप छानबिन गर्ने क्रममा उनीहरूले आफ्नो विगत लुकाउन सकेनन् । अरूको पासपोर्ट प्रयोग गरी अमेरिका गएको स्वीकारे । त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो । ब्युरोले सामान्य सोधपुछपछि उनीहरूमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो । प्रहरीले उनीहरूलाई राहदानी ऐनअनुसार अनुसन्धान अघि बढाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए । अध्यागमन ऐनअनुसार म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको विभागका निर्देशक शम्भु मरासनीले जानकारी दिए । धेरै देशले यात्रुहरूको विवरण आँखाको रेटिना तथा औँठा छापसहित राख्ने गर्छन् । तर, नेपालमा भने पासपोर्टको विवरणसमेत राम्रोसँग राखिँदैन । जसकारण नक्कली भिसा र पासपोर्टको प्रयोग नेपालमा धेरै हुने गरेको छ ।
 
 Published on: 10 September 2017 | Naya Patrika

Back to list

;