s

मिजोरमबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता आउँदै

पर्वत पोर्तेल

भारतको उत्तरपूर्वी राज्य मिजोरमवाट उद्धार गरिएका २३ नेपाली महिलालाई बिहीबार ल्याइँदैछ ।बर्मासँग सीमाना जोडिएको मिजोरमको चम्फीबाट उनीहरुलाई उद्धार गरिएको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाएका छन् ।

उत्तरपूर्वी भारतको मिजोरमस्थित वर्मासंगको सीमा चम्फीवाट उद्धार गरिएका नेपाली महिलाहरु । उनीहरु घुमघामको बहानामा मिजोरम प्रवेश गरेका थिए । लालबहादुर नामक नेपाली भाषी एजेन्टले उनीहरुलाई मिजोरम पुर्‍याएका थिए । उनीहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएको बुझिएको छ । लालबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

केही महिना अघि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७८ जना नेपालीलाई उद्धार गरी घर फर्काइएको थियो । पछिल्लो घटनापछि मणिपुरको मोरे सीमानामा गरिएको कडाईका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिन्छ । पूर्वोत्तर भारतका मणिपुर, मिजोरम र नागाल्याण्ड राज्यको सीमाना बर्मासँग जोडिन्छ । शक्ति समुह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा उनीहरुलाई नेपाल ल्याइँदैछ । विहीवारै उनीहरुलाई काठमाडौं लगिने र केही समय सेफ होममा राखिने जनाइएको छ ।

Published on: 9 May 2019 | Kantipur

Back to list

;