s

मेडिकल फेल भएर फर्किए तत्काल क्षतिपूर्ति

नेपालमा स्वास्थ्य परीक्षण गराएर विदेश गएका तर त्यहाँ असफल भएर फर्केका कामदारलाई तत्काल क्षतिपूर्ति दिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निर्देशन दिएको छ। 

कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयलाई उक्त निर्देशन दिएको हो। यहाँ स्वास्थ्य परीक्षण गराई सम्पूर्ण प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा गएका कामदार सम्बन्धित देशमा पुगेपछि स्वास्थ्य परीक्षणमा असफल भई फर्केका र उनीहरुले नेपाल आएपछि क्षतिपूर्ति नपाएको गुनासो बढेपछि नेपाल रोजगार स्वास्थ्य व्यवसायी महासंघमार्फत क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रिपरिषद कार्यालयले निर्देशन दिएको हो। नेपालमा स्वास्थ्य परीक्षण गराएर विदेशका असफल भएका कामदारले ४० हजार क्षतिपूर्ति पाउने गर्छन्। नेपाल रोजगार स्वास्थ्य व्यवसायी महासंघ र स्वास्थ्य व्यवसायी महासंघअन्तर्गत सूचीकृत मेडिकलले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। दुवै संस्थाबाट कामदारले क्षतिपूर्ति पाउँदैनन्। 

श्रम तथा रोजगार मन्त्रालयका सचिव भोलाप्रसाद शिवाकोटीले स्वास्थ्य परीक्षण असफल भएर फर्केका कामदारलाई क्षतिपूर्ति दिलाउन स्वास्थ्य व्यवसायी महासंघलाई निर्देशन दिइसकेको बताए। 'हामीले क्षतिपूर्ति नपाएका करिब चार सय कामदारलाई तत्काल क्षतिपूर्ति दिलाउन निर्देशन दिइसकेका छौं, उहाँहरु नयाँ कार्यसमिति भएर समय लागेको हो। दुई–चार दिनमा काम हुन्छ,' उनले भने। 

महासंघ अध्यक्ष कैलाश खड्काले पनि चुनाव र नयाँ कार्यसमितीले गर्दा क्षतिपूर्ति दिन समय लागेको बताए। 'महासंघमा हामी नयाँ कार्यसमिति आएका छौं, नयाँ कार्यसमिति खाता सञ्चालन गर्न थालेको छैन। खाता नयाँ कार्यसमितिमा आउनेबित्तिकै हामी क्षतिपूर्ति दिन्छौं,' उनले भने। दुवै महासंघअन्तर्गतका मेडिकलले कामदारसँग २६ सय २५ रुपैयाँ शुल्क लिने गरेका छन्। सोमध्ये महासंघले होलोग्रामको नाममा पाँच सय र क्षतिपूर्तिका लागि दुई सय लिँदै आएको छ। 

महासंघका उपाध्यक्ष विजया कोइरालाले क्षतिपूर्ति दिलाउन पहल भइसकेको बताइन्। 'हामीले प्रक्रिया अघि बढाइसकेका छौं। सायद बिहीबारबाट सुरु हुन्छ,' उनले भनिन्।

Published on: 28 August 2014 | Nagarik

Back to list

;