s

मेयर दाल-चामल बोकेर आए, उनलाई सपनाजस्तो लाग्यो

भगवती पाण्डे 

रूपन्देहीको तिलोत्तमा नगरपालिका-४ सीमानगरका ईन्द्र थापा शुक्रबार दिउँसो घरभित्रै बसिरहेका थिए। 

तिनाउ खोलाले उकासेको बगरमा ब्लक खप्टाएर र झेंगटीले बारेको उनको घरमा प्लाष्टिक र झेंगटीकै छानो छ। पाँच  जनाको उनको परिवारको बिछ्यौना, चुल्हो, अन्नपात भाँडाकुडा सबै त्यही सानो छाप्रोभित्र अटाएको छ। 

ब्लकलाई माटो र सिमेन्टले समेत नजोडिकनै लगाइएको गाह्रो ठूलो हावाहुरी आउँदासमेत भत्केला भन्ने पीर उनलाई सधैँ भइरहन्छ। 

बिहानको खाना केही पहिले खाएकोले होला शुक्रबार दिउँसो चुल्हो ओभानो थियो। घरबाहिर बलेनीमा केही ग्यालेन असरल्ल पल्टिएका थिए। 

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गरिएको लक डाउनले बाहिरको वातावरण त शान्त थियो तर ईन्द्रको मनमा भने चैत-वैशाखको जस्तो भूमरी चल्दै थियो- साँझ बच्चाहरूलाई के खान दिने होला! 

त्यही बेला तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरे र उपप्रमुख जगेश्वरी देवी चौधरी उनको घरनजिकैको सडकमा आए। गाडी रोके। उनीहरूको गाडीमा ईन्द्रलाई दिने रासन थियो। 

दिनभरी काम गरेर खाने मजदुर र अति विपन्न परिवारलाई नगरपालिकाले घरघरमै राहत बाँड्दै छ भन्ने उनले बिहानमात्र छिमेकीको घरमा बजेको रेडियोबाट सुनेका थिए। तर पत्याएका थिएनन्। 

मेयर र उपमेयर उनको आँगनमै आएर भने- राहत वितरणको सुरूवात नै उनको घरबाट हुँदैछ। उनीहरूले कुरामात्र गरेनन् गाडीबाट निकालेर १० किलो चामल, २ किलो दाल र एक प्याकेट नुनको बोरा ईन्द्रालाई दिए। ईन्द्रलाई यो सबै सपनाजस्तो लाग्यो। 

‘बिहान रोटी खाएका थियौं, साँझ के खाने होला भनेर चिन्ता लागिरहेको थियो तपाईंहरू भगवान बनेर आइदिनुभयो,’ उनले हर्षित हुँदै भने। 

लक डाउनका कारण ईन्द्रजस्तै हातमुख जोर्न नपाउने नागरिकका लागि तिलोत्तमा नगरपालिकाले अहिले धमाधम राहत बाँडिरहेको छ। 

आफ्नो नगरभित्रका नागरिक लक डाउनका कारण भोकै बस्न नपरोस् भनेर अति विपन्न र मजदुरी गरेर खाने परिवारलाई राहत वितरण थालिएको हो। 

नगरपालिकोको बिहीबारको कार्यपालिका बैठकले राहत बाँड्ने निर्णय गरेको थियो। 

राहत वितरण गर्न सबैभन्दा पहिला त्यस्ता परिवारको पहिचान गरिन्छ। 

अहिलेसम्म सरकारले मजुदरी गरी खाने अति विपन्न परिवारको तथ्यांक संकलन नगरेकाले त्यस्ता परिवार पहिचान गर्ने जिम्मा वडाअध्यक्षहरूलाई दिइएको छ। 

मेयर घिमिरेका अनुसार वडाअध्यक्षले वडा सदस्य र टोल विकास समितिसँग मिलेर तथ्यांक संकलन गर्छन्। 

टोल विकास समितिमा १३-१५ जना पदाधिकारी/सदस्य हुन्छन्। 

‘उहाँहरूले घर-घरमा पुगेर आफ्नो टोलमा भएका परिवारको डाटा वडा कार्यालयमा पठाउनु हुन्छ। वडा अध्यक्षले प्रमाणित गरेर  नगरपालिका पठाएपछि हामी राहत लिएर जान्छौं,’ मेयर घिमिरेले भने। 

सीमानगर टोल विकास समितिका अध्यक्ष ओम गुरूङले राहत चाहिने परिवारलाई तीन तहमा वर्गीकरण गर्ने गरेको जानकारी दिए। 

उक्त वर्गीकरणअनुसार बस्ने स्थान पनि नभएको काम गर्न पनि नसक्ने, एकल महिला, अपांगता भएका परिवार क समूहमा पर्छन्।  साँझ बिहान मजदुरी गरेर गुजारा गर्नेलाई ख समूहमा राखिएको छ भने श्रीमान् बाहिर गएर काम गर्ने र  श्रीमतीले मजदुरी गरे केही दिनका लागि अन्नपात जोहो गर्न सक्नेलाई ग समूहमा राखिएको छ। 

अहिले नगरपालिकाले राहत बाँडेको क र ख समूहका परिवारलाई हो। 

सीमानगरकै सिर्जना दर्जी दिनभरी मजदुरी गरेर ६ जनाको परिवार पाल्दै आएकी थिएन। दिनभरि काम गरेर साँझ एक किलो चामल र दुई-चार दाना आलुप्याज किनेर जोहो टार्थिन्।  लक डाउन भएपछि उनले काम  पाइनन्। बस्नको लागि नदी उकास क्षेत्रमा सानो छाप्रो तर भित्र अन्नको दाना थिएन। 

राहत पाएपछि भने उनलाई आश पलाएको छ।  

‘१० किलो चामल भएपछि त एकसातालाई थोरै-थोरै पुर्‍याएर खान्छौं,’ उनले भनिन्। 

 १७ वडा रहेको नगरपालिकाका हरेक वडाबाट ५० देखि २ सयसम्म अति विपन्न परिवारको लगत नगरपालिकामा आइपुगेको उनले जानकारी दिए। 

शुक्रबार दिन वडा नम्बर ४ र ५ का करिब ८० परिवारमा चामल, दाल र नुन वितरण गरिएकोमा शनिबार पनि वितरण गर्ने काम जारी रहेको नगरप्रमुख घिमिरेले जानकारी दिए। 

‘सहज समयमा सबैले आफ्नो जिविका चलाउँदै आएका छन् विपद् र अप्ठ्यारो परेको बेला नै हो स्थानीय सरकार भएको आभाष दिलाउने, अहिले नगरपालिकाले अभिभावकको जिम्मेवारी निर्वाह गर्ने अवसर पाएको छ,’ घिमिरेले भने। 

वडा नम्बर ४ का अध्यक्ष दिवाकर ढकालले आफ्नो वडामा सवा दुई सयजति विपन्न परिवारको लगत संकलन भइसकेको र अझै लगत लिने क्रम जारी रहेको बताए। 

तिनाउ नदी किनारसम्म जोडिएको वडा भएको कारण पनि उक्त वडामा नदी उकास क्षेत्रमा बसोबास गर्ने अधिकांश मजदुर र विपन्न परिवार छन्।

वडा अध्यक्ष ढकालले लामो समय काम गर्न नपाउँदा सामान्य अवस्थाका परिवार पनि आर्थिक र खाद्य संकटमा पर्ने गरेपनि प्राथमिकताको आधारमा सबैभन्दा कमजोर अवस्थाका परिवारलाई पहिले राहत वितरण गरिने जानकारी दिए। 

उपप्रमुख चौधरीले घरमा केही हुनेलाई भन्दा केही नहुनेलाई पहिलो चरणमा राहत विरतण गरिएको बताइन्। चौधरीका अनुसार पहिलो चरणको राहत वितरणका लागि नगरपालिकाले १ सय ७० क्विन्टल चामल, ३५ क्विन्टल दाल र करिब दुई हजार प्याकेट नुन किनेर भण्डारण गरेको छ।  

कर्मचारीलाई ७५ प्रतिशत भत्ता दिइने 

तिलोत्तमा नगरपालिकाले लकडाउनको अवधिमा राहत वितरणलगायत काममा खटिने कर्मचारीलाई ७५ प्रतिशतसम्म भत्ता दिने तयारी गरेको छ। 

‘हामीले नगरपालिकाका कर्मचारीलाई ५० देखि ७५ प्रतिशतसम्म भत्ता थप गर्ने सोचमा छौं,’ नगर प्रमुख घिमिरेले भने। 

लकडाउनको अवधिमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, चालक र अनुगमनमा खट्ने कर्मचारीलाई यो भत्ता दिइने उनले बताए। 

कतिपय प्राविधिक र कानुनी विषय छन् त्यसको अध्ययन गरेर उनीहरूले निर्वाह गरेको जिम्मेवारीका आधारमा भत्ता दिन लागेको घिमिरेले बताए।

Published on: 28 March 2020 | Setopati

Link

Back to list

;