s

मेयर रोजगार कार्यक्रम सञ्चालन गरिने

नन्दराम जैसी

चन्दननाथ नगरपालिका जुम्लाले मेयर रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को बजेट, नीति तथा कार्यक्रममा मेयर रोजगार कार्यक्रमलाई नमुनाका रूपमा सञ्चालन गर्ने उल्लेख गरिएको छ। सो कार्यक्रम नगरपालिकाभित्रका विपन्न, दलित, जनजाति तथा पिछडिएका र बेरोजगार युवा समुदायको सघन बसोबास भएका वडामा आव ०७५÷७६ देखि लागू हुने भएको छ।

बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर अप्सरादेवी न्यौपानेले मेयर रोजगार कार्यक्रम सञ्चालनका लागि तत्काल कार्यविधि तयार गरी कार्यान्वयनमा ल्याइने बताइन्। ‘यो कार्यक्रमले महिला, दलित, युवा तथा फरक क्षमता भएका बेरोजगार व्यक्तिलाई समेट्ने गरी सार्वजनिक निर्माण कार्यमार्फत न्यूनतम एक वर्षको ६० दिन बराबरको रोजगारी सिर्जना गरिनेछ’, उनले भनिन्, ‘मेयर रोजगार कार्यक्रम सञ्चालनपछि एउटै वर्षमा कम्तीमा ४ सय ५० जना विपन्न परिवारका सदस्यले रोजगार पाउनेछन्।’ यो कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले आवश्यकअनुरूप बजेट विनियोजन गर्नेछ भने कार्यक्रम कार्यान्वयनका लागि संघीय सरकारसँग १ करोड र प्रदेश सरकारसँग ५० लाख बजेट माग गरिएको छ।
 
यस्तै बजेट, नीति तथा कार्यक्रमले नगरपालिकाभित्र टेलिफोन, विद्युत्, केबुललगायत अन्य लथालिंग अवस्थामा रहेका लाइन तार व्यवस्थित गर्न जमिनभित्र तार बिछ्याउने कार्यक्रम ल्याइएको छ। जसका लागि सरोकारवालासँग समन्वय गरी आवश्यक बजेट छुट्याइने भएको छ।
 
नगर क्षेत्रको विकासका लागि विभिन्न महत्त्वकांक्षी नीति तथा कार्यक्रमसहित नगरपालिकाले आव ०७५÷७६ का लागि आइतबार कुल ३७ करोड ४९ लाख ३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। सोही बजेटका आधारमा नगरको फोहोरमैला व्यवस्थापन, ल्यान्डफिल्ड साइड निर्माण, बालमैत्री नगर घोषणा, कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न ८ ‘स’ मिसन, व्यवस्थित सहर विकास गर्न गुरुयोजना, भूउपयोेग योजना, विकास निर्माणमा वान डोर प्रणाली, लगानी सम्मेलन, आफ्नो टोल आफंै सुधार, डीपीआर निर्माण, नगर गुरुयोजना स्वीकृत, टुक्रे योजना निरुत्साहितलगायत नगरपालिकाको प्रशासनिक सेवा प्रवाहलाई मुस्कानसहितको सेवा प्रवाहको नीति अख्तियार गर्ने कार्यक्रम ल्याइएको छ।
 
बजेट, नीति तथा कार्यक्रम सार्वजनिकपछि नगरकार्यपालिकाका सदस्यले उठाएको प्रश्नमाथि उत्तर दिँदै मेयर कान्तिका सेजुवालले नीति तथा कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन नगरपालिका प्रतिबद्ध रहेको बताइन्। सीमित स्रोतको उपलब्धताका कारण नगरवासीको अपेक्षाअनुरूप सबै माग नीति, कार्यक्रममा सम्बोधन गर्न नसकिए पनि क्रमिक रूपमा आवश्यकता र मागका आधारमा सम्बोधन हुँदै जाने उनको भनाइ छ।
 
Published on: 25 June 2018 | Annapurna Post

Back to list

;