s

कतारमा सात नेपाली अलपत्र

डम्बरसिं राई
 
कतारको दोहास्थित अल्सादमा ७ नेपाली २५ दिनदेखि अलपत्र परेका छन् । मेनपावर कम्पनीले सम्झौता गरे अनुसारको काम नदिएकाले मे २२ तारिखदेखि अलपत्र परेका हुन् । 
 
खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री अलपत्र परेका हुन्। त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुलिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान पनि अलपत्र परेका छन्।
 
उनीहरू काठमाडौंको गोंगबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालि मार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए। ‘हामीलाई १२ देखि १४ सयसम्म दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिएको हो।’ तामाङले भने, ‘अहिले न काम पाइएको छ, न खाना नै।’
 
सबैलाई एकै ठाउँ काम पाइने आश्वासन दिएको तर अहिले भने नपाएको तामाङले दुखेसो सुनाए। यसबारेमा त्यहाँस्थित नेपाली राजदूतावासमा फोन गर्दा समेत बेवास्ता गरेको तामाङले गुनासो सुनाए। ‘हाम्रो बेहाल भएपछि एमबेसीमा फोन गर्‍यौँ।’ तामाङले भने, ‘दूतावासले आफूहरूलाई बोलाए पनि जाने खर्च नहुँदा समस्या छ।’
 
सन्देश केसी नाम बताउने मेनपावर कम्पनी सम्बद्ध व्यक्तिलाई आफूहरू अलपत्र परेको जानकारी गराउँदा उल्टै थर्काएको तामाङले सुनाए। ‘पैसा मैले मात्र खाएको छैन, त खातेहरूले जे–जे गर्छस् गर भनेर थर्कायो।’ तामाङले भने, ‘यसो भनेपछि हामी ठगिएको थाहा भयो।’

Published on: 19 June 2019 | Kantipur

Back to list

;