s

मास्क र पन्जाको भरमा ग्यास उद्योगका मजदुर, दिनभरि काम गरेर घर फर्कंदा परिवार त्रसित

कोरोरा भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतदेखि देशभर  लकडाउ गरेर अत्यावश्यक वस्तुको आपूर्ति मात्र सुचारु गरेको छ । जसकारण खाना पकाउने एलपी ग्यासको निर्बाध आयात र वितरण भइरहँदा देशभर रहेका ५९ ग्यास उद्योगमा कार्यरत मजदुरले भने असुरक्षा महसुस गरेको बताएका छन् । 

उद्योगमा कार्यरत मजदुर र उद्योगदेखि डिलरसम्म ग्यास वितरण गर्ने चालक तथा सहचालकहरूले कपडाको मास्क र पन्जाको भरमा दिनहुँ काम गर्नुपरेको गुनासो गरेका छन् । विगत १५ वर्षदेखि ग्यास ढुवानी गर्ने गाडी चलाइरहेका दीपक बिडारीले दिनहुँ काम गरे पनि सुरक्षाको न्यूनतम सुविधा पनि प्रयोग गर्न नपाएको बताए । 

बाबा ग्यास ढुवानी गर्ने उनले दिनहुँ काठमाडौंका सबै क्षेत्रमा पुगेर ग्यास ढुवानी गर्दा कोराना रोग लाग्ने जोखिम बढ्दै गएको गुनासो गरे । ‘हामी अत्यावश्यक सेवाअन्तर्गत रहेर काम गर्ने भएकाले यो वेला छुट्टी चाहिन्छ भन्दैनौँ । तर, कम्तीमा व्यक्तिगत सुरक्षाका लागि पिपिई व्यवस्था भइदिए हुन्थ्यो भनेर उद्योग र आयल निगमलाई भनिरहेका छौँ । अहिलेसम्म कसैले सुनेका छैनन्,’ बिडारीले भने । दिनभर असुरक्षित रूपले काम गरी साँझ घर फर्कंदा परिवारका सदस्य सधैँ त्रसित हुने गरेको उनले गुनासो गरे ।  ‘धुलो, मैलो अवस्थामा घर फर्कंदा परिवारका सदस्य नरमाइलो मान्छन् । यसैले पो कोराेनो सार्छ कि भनेर डराउँछन् पनि,’ उनले दुःखेसो पोख्दै भने । 

उनले उद्योगले मास्क र पन्जा मात्र दिने गरेको बताए । दैनिक चार–पाँच सय सिलिन्डर लोड–अनलोड गर्दा चालक र दुईजना सहचालक धुलोमैलो हुँदा रोगको संक्रमण हुने खतरा बढी रहेको उनले बताए । उनले लकडाउनभरि उद्योगमै बस्ने व्यवस्था गराउन पनि आग्रह गरेका छन् । ‘दिनभरि असुरक्षित हिसाबले काम गरेर घर जाँदा परिवारमा सधैँ डर, त्रास भयो । हामी मजदुरलाई लकडाउनभरि उद्योगमै सामूहिक वास र खानाको व्यवस्था हुन सके राम्रो हुन्थ्यो,’ उनले भने । 

देशभरका ग्यास उद्योगमा करिब पाँच सय मजदुर काम गर्छन् । मनोबल बढाउन स्वास्थ्य र सुरक्षा क्षेत्रमा काम गर्ने सरकारी कर्मचारीलाई जस्तै बिमाको व्यवस्था गरिदिनुपर्ने मजदुरहरूको माग छ । ‘यस्तो भयो भने काम गर्दागर्दै हामीलाई केही भइहाल्यो भने परिवारले त राम्रै राहत पाउँछ भन्ने आस हुन्छ नि,’ बिडारीले भने । 

त्यस्तै विगत पाँच वर्षदेखि हिमाल ग्यासमा कार्यरत नवराज खनियाँले पछिल्ला दिन कोराना लाग्ने नेपालीको संख्या बढ्दै जाँदा काम गर्न डर लाग्न थालेको बताए । ‘कोरोनाले धेरै मान्छेलाई समात्न थालेको सुन्छौँ । हामीलाई कुनै सुरक्षाको साधन नदिई काम गराइरहेका छन्,’ उनले भने, ‘हाम्रो उद्योगमा काम गर्ने सबैजना डराइरहेको अवस्था छ ।’ 

उद्योगले मास्क र पन्जाको व्यवस्था गरे पनि राम्रो व्यवहार नगरेको उनले बताए । ‘दिनहुँ मास्क र पन्जाको व्यवस्था छ, तर उद्योगका कर्मचारीले खुसीले दिँदैनन् । गोदाममा कतापट्टि परेको छ, खोजेर लैजानु भन्दै पन्छिन खोज्छन्,’ खनियाँले भने । 

आयल निगमले देशभरका डिपोमा काम गर्ने कर्मचारीलाई महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबाट पिपिई खरिद गरी लगेको छ । प्रतिगोटा १२ सय दरका पिपिई निगमको अपरेसन कार्यमा खटिने प्राविधिक कर्मचारीले लगाइरहेका छन् । सोही प्रकारको पिपिई दिए पनि ढुक्कले काम गर्न सक्ने ग्यास उद्योगमा कार्यरत मजदुरको भनाइ छ । 

ग्यास उद्योगमा सबैभन्दा बढी सिलिन्डर ओसारपसारको काम हुन्छ । धेरै उद्योगले सिलिन्डरमा रोग नियन्त्रक औषधि छर्कने गरेका छैनन् । सिलिन्डरमा रोग नियन्त्रक औषधि छरेर बजार पठाउने व्यवस्था भए मात्र पनि ढुवानीमा केही सुरक्षा हुने मजदुरहरूको भनाइ छ । 

भारतबाट आउने चालकबाट धेरै डर

भारतबाट ग्यास लिएर आउने बुलेटचालक भन्सारमा निर्बाध आवातजावत गरिरहेका छन् । उनीहरूको स्वास्थ्य जाँच हुने गरेको छैन । ती चालकहरू सबै भारतीय हुन् । उनीहरू सुरक्षाको कुनै साधन नै नलगाई उद्योगमा आउने गरेको एक उद्योगीले बताए । ‘ग्यास उद्योगमा कोराना त बुलेटचालकले सार्लान् भन्ने चिन्ता छ । कतिपय भारतीय चालकहरू त मास्क र पन्जाबेगर नै आइरहेका हुन्छन्,’ ती उद्योगीले भने, ‘बुलेटचालकहरूको भन्सार नाकामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था अविलम्ब सुरु गर्नु जरुरी छ ।’

Published on: 7 April 2020 | Nayapatrika

 

Link

Back to list

;