s

मरुभूमि जिन्दगी

आजको रात नभागी हुन्न,' दिनभर निलबहादुर ग्याङ्गी मगरले सोचे । अर्को मनले भन्यो, 'भागेर कता पुग्ने ? भाग्नु थप जोखिम मोल्नु हो ।' मुख्य सडक पुग्नै ८० किलोमिटर हिँड्नुपर्छ । तीन वर्षअघि कपिल(साहु) ले यो साउदी मरुभूमिमा छिराउँदा उनले दूरी याद गरेका थिए । उनका मित्र गणेशबहादुर अस्थायीले पनि यसै भन्थे । गोठबाट नजिकै सानो बजार जुलुपमा पर्छ । कपिल साउदी छोड्दा गणेशबहादुर बेलाबेला ऊँटलाई घाँस र अन्नपानी लिन जुलुपमै पुगिरहन्थे ।

रातभरि हिँड्दा जुलुपमै नपुगिए त जिन्दगी नै जाला भन्ने डर । बीचमा कसैको घर, टहरा र ओत लाग्ने रूख बिरुवा छैन । प्रहरी छैनन् । छ त एकनासको बालुवाको मरुभूमि । ३ लिटर मात्रै पानी अट्ने कोकाकोलाको बोतल छ । यति पानी त तीन किलोमिटर हिँड्दै पिएर सकिन्छ । कपिल केही दिनका लागि कतार गएका थिए । 'भाग्ने उपयुक्त मौका यही हो,' धेरै बेर सोचे, फेरि एउटै गाविसका गणेशलाई कसरी एक्लो बनाएर हिँड्ने ? कपिलले सबै गणेशलाई नै जिम्मेवारी दिएर हिँडेका छन् ।

सडकछेउमा गोठ नराख्नुको कारण पनि यही रहेछ- कामदार सजिलै नभागोस् । एक वर्षअघि दु:ख सहन नसकेर छिमेकी गोठमा काम गर्ने गोरखाका गुरुङ र बंगाली निकै भाग्ने प्रयास गरेको निलबहादुरलाई थाहा थियो । गुरुङटोली सफल भएन । 'पहिलोपटक भागेर गोठबाट २० किलोमिटर टाढा पुगेका थिए । कपिलको गाडीले पक्रिएर फिर्ता ल्याए,' उनले सम्झिए, 'दोस्रोपटक एक दिन पूरा हिँडेर जुलुपै पुगेर प्रहरीको शरणमा पुगेका थिए । प्रहरीलाई कपिलले के भनिदिएछ कुन्नि, उल्टो झुन्ड्याएर पिटेछ ।' त्यसपछि गुरुङले झन् यातना पाए । कपिलका बाबुछोराले पिट्दै काममा नलगाएको दिन थिएन । कसो कसो फुत्किएर कता हिँडे कता । 

घर्तीछाप-, काभ्रेका निलबहादुर कुकको काम गर्न कतार आएका थिए । तीन दिनमै भिसा र आईडी बन्यो । उनलाई बोलाउने गाउँकै गणेशबहादुर ८ वर्षदेखि साउदी थिए । उनले भिसा कतारको भए पनि काम साउदीमा ऊँट चराउने बताइदिए । 'म यतै छु । काम गार्‍हो छैन । यतै आउनु । दाजुभाइ मिलेर बसौंला,' गणेशले भनेपछि कपिलको ल्यान्डक्रुजरमा साउदी गए । कतारबाट बोर्डर क्रस गरेपछि जुलुप पुगेर खवुज (रोटी) र चिकेन खाए । त्यसपछि मरुभूमि छिरेको, छिरेको छिर्‍यै भए । 

धनीहरूका गोठ सडक छेउछाउमै छन्, अलि गरिबखालका गोठ निकै भित्र । सयभन्दा बढी ऊँटको स्याहार सुसारको काम । गणेश कपिलका अलि विश्वासिला भएकाले सबै जिम्मेवारी उनैलाई थियो । गाडी पनि चलाउँथे । ऊँट चराउने बेला पालोपालो गर्थे । दुईथरीका ऊँट थिए । एकथरीलाई चराउन लैजानुपर्ने । अर्कोथरी रोगी, बच्चा र हिँडडुल गर्न नसक्नेलाई गोठमै राखेर अन्नपानी दिनुपर्ने ।

मरुभूमि पसेपछि उतै अड्किएका नेपालीहरू निलबहादुरका साथीभाइ भए । चार वर्ष, छ वर्ष, आठ वर्षदेखि घरमा नपठाई बाँधेर काममा लगाइएका थिए उनीहरू । 'भाग्न सम्भव छैन,' सबैको भोगाइ थियो, 'घर पठाइदिँदैन ।' यस्ता नेपाली ऊँट चराउने क्रममा भेटिन्थे । उनीहरूसँगको भेटघाट दुर्लभ हुन्थ्यो । भेट्नेहरू भाग्यलाई दोष दिन्थे । बल्लबल्ल भेटभए पनि खुलेर मज्जाले गफिन नपाउने । 'कपिलले थाहा पायो भने राम्रो ठान्दैन,' उनले भने, 'मेरो मान्छेलाई भड्कायो भन्ने ठान्छन् ।' गोठ एक ठाउँमा हँुदैन । जता पानी पर्‍यो, त्यतै ऊँट लैजानुपर्ने । पानी परेका ठाउँमा घाँसहरू उमि्रन्छ । त्यही खाँदै ऊँट अगाडि बढ्छ । अनि चराउनेको जिन्दगी- ऊँटको पछाडि हिँडेको छ, हिँडेको छ । 'एक दिन ६० किलोमिटरसम्म हिँडेको थाहा छ,' उनले भने । 

'ऊँटले जसरी कत्ति पानी खाको,' कपिलले झपारिरहँदा निलबहादुरले सुन्या नसुन्यै गरे । 'विवाद गरेर, जवाफ फर्काउनु भनेको पिटाइ खानु हो' भन्ने उनले बुझेका थिए । पानी पनि ऊँटकै लागि थियो । जुन ट्यांक्करमा आउँथ्यो । छिनछिनमा पानी नखाए जीवनलीलै समाप्त हुने डर । गर्मीबाट बच्ने अमृत नै पानी । चर्को घाममा जति पानी पियो, त्यति पसिना बग्छ । त्यही पसिनाले लुगा भिज्छ । अनि, शीत्ल दिन्छ । 'एक दिनमा १८ लिटरसम्म ट्यांकरको पानी पिएको छु,' उनले भने । 

ऊँटको पछाडि दौडिँदा खाने बस्ने टुंगो थिएन । रातमा बस्ने छाप्रो थिएन । बगरमै खायो । बगरमै सुत्यो । बगरमै हिँड्यो । दिशाहीन गन्तव्य । 'केवल हेरिन्थ्यो, कता बादल कालो देखिएको छ,' उनले सम्झिए, 'मालिकले खाना ल्याइदिए दुई पेट भरिन्थ्यो । नत्र, पानीले नै जीवन चल्थ्यो ।' तालु घामले पोल्ने, पैतला बालुवाले । चराले जसरी तातो बलुवा खोस्रेर फाल्नुपर्ने । 'चिसो बालुवा भेटिएपछि मात्रै बस्ने हो,' उनले भने, 'त्यो तातो नभईन्जेल बस्न मिल्छ । नत्र फेरि खोसि्रनुपर्छ ।'

'कैयौं रात बालुवाले पुरिदिएको छ । सुतेर राति ब्युँझिनुपर्छ । सरेन भने बालुवाले छोपिदिन्छ,' नरबहादुरले भने । राम्रो साहु भएमा खैमा (गोठ) बनाइदिएको हुन्छ । मरुभूमिमा सयमा जनाले पनि त्यस्तो सुविधा पाउँदैनन् । 'बगरमै सुत, बगरमै खाउ, बगरमै लड,' उनले दु:ख पोखे । बिरामी पर्दा औषधि उपचार थिएन । नेपालमा परिवारसँग समयमा सम्पर्क नहुने अर्को समस्या । 'सबैतिर टावर टिप्दैन,' उनले भने, 'सात महिनासम्म सम्पर्कविच्छेद भयो । के भयो ? कसो भयो ? केही थाहा भएन ।' 

'तिमी अब नआए हुन्छ,' एक साँझ गंगाबहादुरले नरबहादुरलाई सम्झिए, 'धेरै दु:ख पायौं ।' एकै ठाउँमा भए पनि गंगाबहादुरका लागि आदत परिसकेको थियो । यो काममा ल्याइदिने पनि उनै थिए । तर, कहिल्यै पनि दुई वचन लगाएनन् । 'एउटै गाउँको मान्छे । मिलेर बस्नुपर्छ,' नरबहादुरलले यही सम्झे ।

उनी ८ सय रियालमा गएका थिए । सुरुको दुई महिना पाँच सय रियाल पाए । अलिअलि काम जानेपछि सात महिनासम्म ६ सय रियाल थापे । फेरि दुई महिना सात सय । त्यसपछि ८, ९ सय हँुदै चार महिनाअघिदेखि एक हजार रियाल पाउन थाले । दुई महिनाको बाँकी नै छ । कतारको भिसा सिद्धिएको एक वर्षजसो हुन लागेको थियो । कपिलले नरबहादुरले भिसा लगाउन कतार ल्याउनैपर्दथ्यो । 'यसले कतार त लिएर जाओस्,' नरबहादुरले सोचेको रहेछन्, 'त्यसपछि मैले जानेको छु ।' 

उनले जानेको भनेको एउटै थियो, 'उसबाट फत्कुन् ।' साउदीबाट कतारको सीमा कटेपछि उनको मन निकै हलुंगो भयो । आफ्नै घर आएजस्तो । अनि कपिलले परिवारलाई अस्पताल लिएर गएको बेला भागे । सिधै प्रहरीको शरणमा पुगे । यस्तो केस सनैया-को श्रम विभागले हेर्छ । प्रहरीले उतै पठाइदियो । विभागबाट त्यति काम होला जस्तो उनलाई लागेन । सनैयामा केही नेपालीसँग भेट भयो । उनीहरूले ट्याक्सी खर्च दिएर नेपाली दूतावासको बाटो देखाइदिए । दूतावासको शरणमा आइपुगेका उनी स्वदेश जाने प्रतीक्षामा छन् । 


Published on: 13 December 2014 | Kantipur

Back to list

;