s

मर्स कोरोना भाइरस वैदेशिक रोजगारीमा रहेका नेपाली जोखिममा

अतुल मिश्र

महामारी एवं रोग नियन्त्रण हेर्ने हाम्रो सरकारी निकायले प्रवासी नेपाली कामदार र पर्यटकहरूलाई मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) प्रभावित मुलुकबाट फर्किंदा रुघाखोकी, ज्वरो र निमोनिया लगायतका लक्षण देखिए तुरुन्त स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ ।

हालसम्म मुलुकमा मर्सको कुनै बिरामी नभेटिएको भए पनि नेपाली नागरिकमा यो संक्रमण भए/नभएको किटानीसाथ भन्न सकिने स्थिति छैन । खाडी, कोरिया लगायतमा कार्यरत नेपाली कामदार यो संक्रमणको उच्च जोखिममा छन् । उनीहरूको माध्यमले यो संक्रमण मुलुकमा समेत भित्रिने खतरा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार, मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) नाम भएको कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको छ । मर्सबाट प्रभावित ३६ प्रतिशत बिरामीको मृत्यु भएको छ ।

कोरोना भाइरस भाइरसको बृहत् परिवार हो, जसले सामान्य रुघाखोकीदेखि सर्भ एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) जस्तो रोगसम्म उत्पन्न गर्छ । हाल देखिएको मर्सको समस्या कोरोना भाइरसबाट हुने श्वासप्रश्वासको संक्रमण हो, जसलाई सन् २०१२ मा साउदी अरबमा पहिचान गरिएको थियो ।

‘मर्स प्रभावित राष्ट्रबाट फर्किनेहरूमा शंकास्पद लक्षण देखिएकाहरूलाई परिवार एवं समुदायसँग घुलमिल नभई छुट्टै बसेर चिकित्सकीय सहयोग लिन आग्रह गरेका छौं,’ स्वास्थ्य मन्त्रालय, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले भने, ‘नेपालीहरूलाई मध्यपूर्व र दक्षिण कोरियामा भ्रमण गर्नुअघि चिकित्सकीय सल्लाह लिनसमेत आग्रह गरेका छौं ।’

डब्लूएचओका अनुसार मध्यपूर्वको राष्ट्रमा यो जोर्डन, कुबेत, ओमन, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेटस, यमनमा देखिएको हो । यस्तै युरोपमा यो संक्रमण फ्रान्स, जर्मनी, ग्रिस, इटली, युनाइटेड किङ्डममा देखिएको छ । अफ्रिकामा यो टयुनेसिया र इजिप्ट एवं एसियामा चीन, मलेसिया, रिपब्लिक अफ कोरिया, फिलिपिन्समा देखिएको छ । यति मात्र नभई यो भाइरस संयुक्त राज्य अमेरिकामा समेत देखिएको हो ।

हाल करिब ५० हजार नेपाली मर्सबाट अति प्रभावित कोरियामा कार्यरत रहेको उल्लेख गर्दै डा. मरासिनी खाडी मुलुकमा समेत २० लाखभन्दा बढी नेपाली कार्यरत रहेकोले मुलुकमा यो रोगको जोखिम उच्च रहेको बताउँछन् ।

डब्लूएचओद्वारा गत बुधबार जारी विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा सन् २०१२ को सेप्टेम्बरपछि हालसम्म एक हजार तीन सय २१ प्रयोगशाला प्रमाणित मर्सको संक्रमण देखिएको छ भने यसबाट न्यूनतम ४ सय ६६ मृत्यु भएको छ ।

हालै देखिएको मर्सको प्रकोपअन्तर्गत शुक्रबारसम्म कोरिया र चीनमा क्रमश: १ सय ६५ र एक गरी एक सय ६६ वटा मर्सको प्रयोगशाला प्रमाणित रोगी देखिएका छन् । डब्लूएचओका अनुसार वर्तमान प्रकोपमा २४ जनाको मृत्यु भइसकेको छ ।

‘हालसम्म यो संक्रमणले विदेशमा बस्ने नेपाली प्रभावित भएको छन् वा छैनन्, किटानी साथ भन्न सकिने स्थिति छैन,’ डा.मरासिनी भन्छन्, ‘हालका दिनमा शंकास्पद लक्षणसहित विदेशमा मृत्यु भएको नेपालीको मृत्युको कारणको अध्ययन गर्नु आवश्यक छ ।’
मर्स सन् २०१२ मा मध्यपूर्वी देशमा फैलिएको थियो । साउदी अरबबाट फर्किएका एक ६८ वर्षीय व्यापारीको माध्यमबाट मर्स भाइरस कोरियामा फैलिएको हो । पहिलोपटक गत मे २० तारिखमा यो रोग पत्ता लागेको हो ।

डब्लूएचओका अनुसार ऊँट यो भाइरस संरक्षित राख्ने ठूलो स्रोत हो । तर मानिसमा यो संक्रमण सार्ने ऊँटको वास्तविक भूमिका हालसम्म अज्ञात छ । अत्यन्त निकट सम्पर्क बाहेक यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्दैन । मर्सको संक्रमण भएको दुई साताभित्र रोगको लक्षण देखिन्छ । यो भाइरसविरुद्घ हाल कुनै खोप वा खास उपचार छैन । यसमा बिरामीको स्वास्थ्य स्थितिअनुसार सघाउने उपचार दिइन्छ ।

मधुमेह भएका, मृगौलाले काम गर्न छोडेका, फोक्सोसम्बन्धी दीर्घकालीन रोग भएकाहरू, रोग प्रतिरोधी क्षमता कम भएकाहरू मर्स कोरोना भाइरसको उच्च जोखिममा हुन्छन् । यस्ता व्यक्तिले ऊँटसँगको सम्पर्क त्याग्नुपर्छ । यस्तै ऊँटको काँचो दुध र पिसाब खानु हँुदैन । यस्तै राम्ररी नपाकेको मासुसमेत सेवन गर्नु हुँदैन । हाल मुलुकमा मर्स कोरोना भाइरस रोगको प्रयोगशाला परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत ठाउँमा हुने गरेको छ ।

कसरी सुरक्षित रहने ?

संयुक्त राज्य अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार यो संक्रमणबाट बचाउको उपाय अपनाउनु नै महत्त्वपूर्ण हो ।

सार्सबाहेक यो संक्रमण फैलिने प्रक्रियाबारे धेरै अध्ययन भएको छैन । यो संक्रमित व्यक्तिबाट अन्य स्वस्थ व्यक्तिमा अति निकट सम्पर्क जस्तै: हात मिलाउनु, छुनु आदिबाट सर्छ । यो भाइरस कुनै व्यक्तिले संक्रमित स्थल, वा सतहलाई छोएपछि आफ्नो नाक, मुख आँखा छुँदासमेत सर्ने गर्छ । एउटा केसमा भने यो संक्रमित दिसाबाट समेत सरेको देखिएको छ । उक्त दिसा हावामा छरिएपछि श्वासप्रश्वासको माध्यमले सरेको सीडीसीले उल्लेख गरेको छ ।

सामान्यत: रुघाखोकी आदिमा गरिने बचाउको उपाय यो संक्रमणले समेत बाँच्न सघाउँछ । घरबाहिरबाट फर्कदा वा समय समयमा सधैं साबुनपानीले हात धोएर सुरक्षित रहन सकिन्छ । यस्तै, आफ्नो आँखा, नाक र मुखलाई साबुनपानीले सफा नगरेसम्म हातले छुनु हँुदैन । संक्रमण देखिने गरिएको सम्भावित क्षेत्रमा रुघाखोकी लगायतका लक्षण भएका बिरामीको निकट सम्पर्कबाट बाँच्नुपर्छ ।

इपिडिमियोलोजीले मर्स प्रभावित राष्ट्रमा जाँदा न उमालेको दुध र राम्रोसँग नपाकेको मासु नखान अनुरोध गरेको छ । यति मात्र नभई संक्रमण देखिएका मुलुकहरूमा चमेरो र उँmटलाई नछुनसमेत आग्रह गरेको छ ।

लक्षण

सीडीसीका अनुसार, यो भाइरसले सामान्यत: केही समयका लागि माथिल्लो श्वासनलीसम्बन्धी रोग निम्त्यिाउछ । यसको मुख्य लक्षणमा नाकबाट पानी बग्नु, कफ आउनु, घाँटी दुख्नु र ज्वरो आदि हुन् । यो भाइरसले कहिले काहीं निमोनियाजस्तो तल्लो श्वासनलीको समेत संक्रमण गर्छ । यो समस्या मुटुसम्बन्धी रोग, रोग निरोधक क्षमता कम भएकाहरू र बूढापाकामा देखिनु सामान्य मानिन्छ ।

डब्लूएचओका अनुसार मर्सको संक्रमणमा पेटसम्बन्धी समस्याअन्तर्गत पखालासमेत देखिएको छ । ज्वरो, खोकी, सास फेर्न समस्या हुनुसमेत यसका लक्षण हुन् । गम्भीर स्थितिमा बिरामीलाई श्वास फेर्न नसक्दा भेन्टिलेटरमा राखेर सघन उपचार गर्नुपर्ने स्थितिसमेत आउँछ ।

Published on: 20 June 2015 | Kantipur
 

Back to list

;