s

मापदण्ड छलेर कामदार विदेश पठाइँदै

दिनेश रेग्मी

'घरको कामका लागि दुबई (यूएई) जान लागेकी छु । उमेर २४ वर्ष भयो । अहिले दुईदिने अभिमुखीकरण तालिम लिँदै छु, अरू तालिमबारे थाहा छैन,' खोपा-७ कपिलवस्तु निवासी सरस्वती बिष्टले भनिन्, 'घर सरसफाइको तरिका सिकेकी छैन, उहीँ (दुबई) गएपछि सिकाउँछन् रे ।'

वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारीहरूले बुधबार वैदेशिक रोजगारमा जाने तयारीमा रहेका कामदारको अभिमुखीकरण तालिमको निरीक्षण गर्दा बिष्टले ती भनाइ राखेकी हुन् । सरकारले हालै खाडी मुलुकमा जाने घरेलु कामदार महिला (हाउसमेड) को उमेर ३० वर्ष पुग्नुपर्ने निर्धारण गरेको छ । यस अनुसार उनको उमेर पुग्दैन । उनलाई एजेन्टले हाउसमेडका लागि पठाउँदै छन् ।
 
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले उमेर नपुगेको महिलालाई घरेलु काममा जान स्वीकृत नदिएको बताए । 'उनको बारेमा जानकारी लिन्छौं, घरेलु काममा ३० वर्षभन्दा कम उमेरकालाई स्वीकृति दिँदैनौं,' भट्टराईले भने, 'वैदेशिक रोजगारमा जान सरकारले निर्धारण गरेको मापदण्ड पूरा हुनैपर्छ ।'
 
बिष्टसँगै अभिमुखीकरण तालिम लिएकी भुवनेश्वरी-५ पाल्पाकी रूपा विक घरेलु कामका लागि दुबई जाँदै छिन् । उनको उमेर पनि २ वर्ष पुग्दैन । अभिमुखीकरणमा रहेकी विकले घरायसी प्रयोगका सामग्री चलाउन नआउने बताउँछिन् । 'ओरिएन्टेसन तालिममा जहाजमा बस्ने तरिका सिकाए तर वासिङ मेसिन कसरी चलाउने सिकाएनन्,' उनले भनिन्, 'पहिलो पटक विदेश जाँदै छु, अब उतै गएर सिक्ने होला ।'
 
घरेलु महिला कामदारका लागि श्रम स्वीकृति लिनुअघि २१ दिनको घरेलु सीप विकास तालिम लिनुपर्ने विभागले निर्धारण गरेको छ । तर उनीहरूलाई विदेश पठाउने म्यानपावर कम्पनी तथा एजेन्टहरूले दुईदिने अभिमुखीकरण दिलाएर सीप विकास तालिमबारे जानकारी दिने नै गरेका छैनन् ।
 
तालिमको अनुगमनमा रहेकी बोर्डकी निमित्त कार्यकारी निर्देशक गिरिजा शर्माले जानकारीको अभावमा घरेलु महिला कामदारले सीप विकास तालिम पाउन नसकेको बताइन् । 'अभिमुखीकरण तालिम दिने संस्थाले पनि घरेलु महिला कामदारलाई २१ दिने तालिम छ भनिदिनुपर्नेमा त्यो पनि पाइएन,' शर्माले भनिन्, 'घरेलु कामको प्रकृति फरक हुनाले उनीहरूलाई सीप विकास र अभिमुखीकरण तालिम दुवै दिनुपर्छ ।'
 
उमेरको मापदण्ड पूरा नभएको मात्र होइन, रोजगारमा जाने कति कामदारलाई कुन कम्पनीमा के काम गर्न जानेसम्म थाहा नभएको भेटिएको छ । 'कम्पनीको काम हो रे तर काम के गर्ने थाहा छैन,' मलेसिया जान लागेकी पराल्नी-७ गुल्मीकी गीता रजाली मगरले कान्तिपुरलाई भनिन्, '७० हजार लाग्छ भनेको छ, पैसा दिएकी छैन ।'
 
मलेसियाका लागि सरकारले तोकेको ७० हजारसम्म लिन पाइने भनेपछि कैयौं कामदारहरूले १ लाख २० हजार रुपैयाँसम्म तिरेको बताएका छन् । '१ लाख २० हजार लाग्छ भनेर दियौं,' गाउँकै छोेटेलाल पण्डित मार्फत काठमाडौं आएको सुनाउँदै बलैया-७ बाराका सराजुल अन्सारीले भने, 'कति लाग्छ, हामीलाई थाहा छैन, त्यति लाग्छ भनेकाले दिइयो ।' अन्सारी सहित बलैया-८ का जाकिर मिया अन्सारी र कोनिया-४ पर्साका विशालगुरु थारूले १ लाख २० हजार रुपैयाँका दरले बुझाएको बताए ।
 
'सरकारले मलेसियालाई ७० हजार लाग्छ भनेर तोकेको पनि थाहा छ तर १ लाख १० हजार रुपैयाँ बुझाउनुपर्योो,' अयोध्यापुरी-८ चितवनका कृष्णप्रसाद भण्डारीले सुनाए, 'जति अनुरोध गर्दा पनि नमानेपछि के गर्ने ?' उता निःशुल्क भिसा र निःशुल्क हवाई टिकट रोजगारदाताले उपलब्ध गराउने कतारमा जाने कामदारले म्यानपावर कम्पनी वा एजेन्टलाई बढीमा २० हजार रुपैयाँभन्दा बढी तिर्नु नपर्ने सरकारको मादपण्ड छ । '२० हजार रुपैयाँभन्दा बढी लाग्दैन तर ८० हजार तिर्नुपर्योल,' कतारमा जाने तयारीमा रहेका रम्घा-२ लमजुङका अर्जुन न्यौपानेले कान्तिपुरलाई भने, 'थाहा पाएर मात्र के गर्नु, तिर्नुपर्योल ।'
 
पाँच वटा तालिम केन्द्रहरूको अनुगमनका क्रममा बानेश्वरको राज वैदेशिक रोजगार परामर्श केन्द्रमा २९ कामदारको नामावली विभाग पठाएर ९ जनालाई तालिम दिएको भेटिएको छ । तालिममा श्रव्यदृश्य सामग्री एक ठाउँ बाहेक अन्यत्र प्रयोग गरेको नपाइएको पनि विभागले जनाएको छ । संयोग टे्रनिङ सेन्टर गोंगबुको एक हलमा प्रशिक्षक हिँड्नै नमिल्ने गरी कामदारलाई प्रशिक्षणका लागि सिटमा राखिएको थियो ।
 
वैदेशिक रोजगार अभिमुखीकरण तालिम व्यवसायी महासंघका अध्यक्ष पूर्णबहादुर मल्लले जति सुधार हुनुपर्ने हो त्यति सुधार हुन नसके पनि अहिले महासंघ सुधारको प्रक्रियामा लागेको बताए । 'हिजो तालिमका लागि टाउको गन्ने प्रक्रिया थियो, अहिले हामी  आन्तरिक सुधारमा लागेका छौं,' मल्लले कान्तिपुरलाई भने, 'कम्तीमा हरेका साता अनुगमन होस्, यसले पनि हामीलाई सुधार्न मद्दत गर्छ ।'
 
विभागका महानिर्देशक भट्टराईले मादपण्ड पूरा गर्ने तालिम केन्द्रहरूलाई पहिले सुझाव दिने र त्यसलाई पालना नगरे क्रमशः चेतावनी, निलम्बन र खारेजी समेत गर्ने बताए । 'हामीले तालिम केन्द्रको गुणस्तर वृद्धि गर्न खोजेका छौं,' उनले भने, 'अवस्था सुधारात्मक छ तर सुधार गर्नुपर्ने धेरै छ ।' तालिमका लागि भौतिक पूर्वाधारयुक्त कक्षाकोठा र स्नातक उत्तीर्णबाट प्रशिक्षण लिएको प्रशिक्षक हुनुपर्छ ।
 
 Published on: 23 August 2012 | Kantipur 

Back to list

;