s

मापदण्ड छल्दै घरेलु काम गर्न महिला कतारमा

दिनेश रेग्मी

मापदण्ड छल्दै नेपाली महिला खाडीमा घरेलु कामदार बनेर आउने क्रम बढेको छ । सरकारले एक वर्षअघि मापदण्ड बनाएर महिलालाई रोजगारीका लागि खाडी खुला गरेको थियो ।

सरकारले घरेलु महिला कामदारको तलब, सेवा सुविधा लगायतको रोजगार करारनामा अनिवार्य रूपमा नेपाली दूतावासमा प्रमाणीकरण भएपछि मात्र श्रम स्वीकृति दिन वैदेशिक रोजगार विभागलाई निर्देशन गरेको छ । उसको निर्देशन विपरीत मापदण्ड छल्दै नक्कली श्रम स्वीकृतिको भरमा म्यानपावर कम्पनी र एजेन्टहरूले नेपालको विमानस्थलबाटै कामदार पठाउँदै आएका छन् । कतिपय भारतीय बाटो हुँदै खाडी भित्रिएर दुःख पाएका छन् ।

पछिल्लो पटक कतारमा मापदण्ड छलेर आएर समस्यामा परेका चार महिला बिहीबार रोजगारदाताबाट सेवा सुविधा दिलाएर घर फिर्तीमा सहयोग गरिदिन आग्रह गर्दै नेपाली दूतावास पुगेका छन् । दूतावासले सातामा २/४ जना महिला कामदार समस्या परेर दूतावास आउने गरेको बताएको छ ।

सरकारले कतारमा घरेलु महिला कामदारलाई न्यूनतम मासिक तलब १ हजार रियाल (करिब २४ हजार रुपैयाँ) हुनुपर्ने, ३० वर्ष उमेर पुग्नुपर्ने, दूतावासमा ४ हजार रियाल (करिब ९६ हजार रुपैयाँ) धरौटी राख्नुपर्ने, २ लाख रियाल (करिब ४८ लाख रुपैयाँ) को जीवन बिमा गर्नुपर्ने, आतेजाते टिकट, खाना, आवास, स्वास्थ्य उपचार निःशुल्क हुनुपर्ने, महिलालाई घर तथा दूतावास सम्पर्कका लागि मोबाइल दिनुपर्ने लगायत मापदण्ड तोकेको छ ।

मापदण्ड छलेर आएका महिला समस्यामा परेर दूतावास पुगेपछि मात्र एजेन्टले गरेको छली प्रकरण उजागर हुने गरेको छ । 'मलाई एयरपोर्ट (त्रिवि विमानस्थल) को चेक गर्ने ठाउँमा कर्मचारीले पहिल्यै चिने जस्तो गरेर जाँचै नगरी छोडिदिए,' घर फर्किन दूतावास पुगेकी लमजुङ, खुदीकी २२ वर्षीया सुनु गुरुङले साथमा भएको नक्कली काजगात देखाउँदै भनिन्, 'उताबाट आए पनि यता दुःख पाइयो ।'

भारतीय एक चिकित्सको निवासमा १० महिनादेखि कार्यरत गुरुङसँग एजेन्टले दिएको कतारको एक कम्पनीको नक्कली रोजगार करारनामा छ । उनले आफूलाई काका नाता पर्ने गाउँकै सीबी गुरुङले विभिन्न प्रलोभन देखाउँदै २५ हजार रुपैयाँ लिएर पठाएको बताइन् । उनले आफूलाई एजेन्टले ७ सय रियाल (करिब १६ हजार ८ सय रुपैयाँ) तलब हुन्छ भने पनि साढे ६ सय (करिब १५ हजार ६ सय रुपैयाँ)  मात्र पाएको सुनाइन् ।

उनी भागेको खबर पाएर दूतावास पुगेका चिकित्सकले आफूकहाँ एजेन्टले मापदण्ड पूरा नगरी कामदार ल्याइदिएकामा आश्चर्य व्यक्त गरेका छन् । 'उनलाई ल्याउन धरौटी सहित मेरो १० हजार रियाल (करिब २ लाख ४० हजार रुपैयाँ) खर्च भएको छ,' उनको भनाइ उद्धृत गर्दै दूतावासका अधिकारीले भने, 'मैले पहिला यसैगरी ल्याएको थिएँ ।' दूतावासको सेल्टर र अनुगमन विभागमा बसेर भर्खरै स्वदेश र्फकेकी विराटनगरकी राजवंशी थरकी युवती वैशाख २२ मा श्रम स्वीकृति र रोजगार करारनामाबिनै त्रिभुवन विमानस्थलबाट कर्मचारीले पैसा खाएर पठाएको बताएकी थिइन् ।

'पहिला दिदी आउनुभएको थियो, मेडिकल फेल भएर जानुभयो अनि म आएकी हुँ,' उनले कान्तिपुरसँगको भेटमा भनेकी थिइन्, 'दिदी र मलाई पठाउने एउटै मान्छे हो । दिदीसँग एएरपोर्टमा १८ हजार खाए, मसँग पनि त्यति नै लिए । यहाँ आएर समस्यामा परियो ।'

नेपालबाट मापदण्डबिना घरेलु तथा अन्य काममा कतार आएर समस्यामा पर्नेहरू बढेको जनाउँदै दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले अध्यगमनमा कडा गर्नुपर्ने बताए । विमानस्थलमा वैदेशिक रोजगार विभागको श्रम डेस्क पनि छ । 'मापदण्ड छलेर आउने क्रम रोकिएको छैन,' पाण्डेले भने, 'उतै रोकिदिए रोजगारदाता पनि मापदण्ड पूरा गरेर ल्याउँथे । त्यसले गर्दा यहाँ समस्या कम हुन्थ्यो ।

Published on: 13 July 2012 | Kantipur

Back to list

;