s

मन्त्री विष्टका दुई निर्णयः ठगी मुद्दाको दैनिक सुनुवाइ, काठमाडौं बाहिर श्रम कार्यालय

नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ठूलो संख्यामा कामदार वैदेशिक रोजगारीमा जाने तराईको धनुषा र पश्चिमको दाङ अथवा रुपन्देही गरी दुई स्थानमा श्रम कार्यालय खोल्न निर्देशन गरेका छन् ।
 
यसअघि तत्कालीन मन्त्री फरमुल्लाह मन्सुरले बारा र राज्य मन्त्री डिल्लीबहादुर चौधरीले दाङमा वैदेशिक रोजगार विभाग अन्तरगतको कार्यालय खोल्ने विषयमा अध्ययन गर्न मन्त्रालयमा कार्यदल गठन गरेका थिए । तर, ती कार्यालय स्थापना हुन सकेका थिएनन् । हालमध्य तराइको धनुषा जिल्लाबाट सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यसपछि सिरहा, झापा, महोत्तरी, मोरङ, सर्लाही, सप्तरी, सुनसरी, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरुबाट धेरै कामदार वैदेशिक जाने गरेका छन् । ती जिल्लामा कार्यालय खोलिए हजारौं खर्च गरी श्रम गर्नकै लागि काठमाडौं आउनुपर्ने बाध्यता हट्ने मन्त्री विष्टको भनाइ छ ।
 
मन्त्री विष्टले यस विषयमा प्रक्रिया अघि बढाउन आइतबार वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यलाई निर्देशन दिएका छन् । ती स्थानमा कार्यालय खोल्न कम्तीमा ४० जना कर्मचारी आवश्यक पर्ने भएकाले अर्थमन्त्रालयसँग कुराकानी भइरहेको मन्त्रालय श्रोतले बताएको छ । ती स्थानमा कार्यालय स्थापना गरे ताहाचलको भीड आधा घट्ने अनुमान छ ।
 
राजधानी बाहिर ४३ स्थानमा अभिमुखीकरण तालिम केन्द्र रहेका छन् । यसैगरी पीडितलाई छिटो न्याय दिन दैनिक रुपमा उजुरीमा सुनुवाई गर्नपनि मन्त्री विष्टले विभागका महानिर्देशक आचार्यलाई निर्देशन दिएका छन् । हाल विभागले हरेक बुधबार मेलमिलाप गराई पीडित कामदारको रकम दिलाइ दिन छलफल गराउने गरेको छ ।
 
Published on: 19 March 2018 | Madhyanha

Back to list

;