s

नेपाली कागजले दियो रोजगारी

टीकाप्रसाद भट्ट
 
मन्थलीमा नेपाली कागज बनाउने काममा महिलाहरूको आकर्षण बढेको छ । नेपाली शैली र जापानी प्रविधिको हातेकागजबाट मनग्ये आम्दानी हुन थालेपछि महिलाको रुची बढेको हो । 
 
उच्च पहाडी क्षेत्रमा त्यत्तिकै खेर जाने लोक्ता फिटेर नेपाली कागज बनाउँदा रामेछापका महिलालाई राम्रो आम्दानी मिलेको हो । कागज उद्योगमा लोक्ता भिजाउने, पकाउने, पेल्ने, चाल्ने र फर्मामा हाल्ने काम सबै महिलाले गर्छन् । लघु उद्यमी समूह संघको तालिमपछि तीन वर्षदेखि लोक्ताको बोक्राबाट नेपाली कागज बनाउन उनीहरू जुटेका हुन् । 
 
मन्थलीको आकाशेमा रहेको शैलुङ नुम्बुर नेपाली कागज उद्योगमा स्थानीय ३२ महिलाले काम पाएका छन् । कागज उद्योगमा काम गर्दा महिलाहरूको राम्रो आर्जन छ । ‘घरको काम सक्यो आयो, बेलुका घर फर्कंदा ५ देखि ७ सय आर्जन गर्न सकिएको छ,’ उद्योगमा आंशिक समय काम गर्दै आएकी सुमित्रा नेपालीले भनिन् । महिलाहरूले घरखर्च, बालबालिका पढाउनेदेखि बचत गर्नसम्म सकेको उनले सुनाइन् । नेपाली काजगको बजार माग धान्न धौधौ परेको उद्योग सञ्चालक भरत श्रेष्ठले बताए । मन्थलीमा उत्पादन भएको कागज आन्तरिक बजारका अतिरिक्त काठमाडौंसम्म पुग्ने गरेको छ । स्थानीय तहले दिने सिफारिस, अनुसूची, सामुदायिक संस्थामा गरिने कागज, सहकारीमा लेनदेनको कारोबारलगायतमा नेपाली कागजकै प्रयोग हुन्छ । 
 
जिल्लाका अन्य उद्योगबाट उत्पादन भएको कागज मन्थली बजारमा आइपुग्दैन । उक्त उद्योगले गत आर्थिक वर्षमा मात्र २ हजार ६ सय कोरी कागज (२ सय ताउको एक कोरी) उत्पादन गरी बजारमा पठाएको थियो । उक्त कागज बिक्री गर्दा ४८ लाख रुपैयाँ आर्जन भएको उद्योगले जनाएको छ । मन्थलीको कागज उद्योग बाह्रै महिना चल्छ । समूहमा आबद्ध महिलाहरूले दैनिक ज्यालाका अतिरिक्त बाहय क्षेत्रबाट आउने अनुदानको रकमबाट सेयरसमेत पाएका छन् । ‘हामी कामदार मात्र हैनौं मालिक पनि भइसकेका छौं,’ नेपालीले भनिन्, ‘आफ्नै उद्योग, आफ्नै सीपका कारण सबैले मिहिनेत गरेका छौं ।’ जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष गुञ्जबहादुर कार्कीले मन्थलीको कागज उद्योग जिल्लाकै नमुना भएको बताए । 
 
नेपाली कागज बनाउने कच्चा पदार्थ लोक्ता जिल्लाका झन्डै ३५ सामुदायिक वनमा पाइने गर्छ । त्यसमध्ये करिब २० बनको लोक्ता मन्थली आइपुग्छ । धेरै पानी नपर्ने स्थान भएकाले मन्थलीमा कुनै दिन पनि उद्योगको काम रोकिँदैन । कागज बनाइसकेपछि सुकाउनुपर्ने हुन्छ । मन्थली कागज सुकाउनका लागि जिल्लाकै उपयुक्त स्थान मानिन्छ । बिहीबार उक्त उद्योगको नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर वुदले अवलोकन गरेका थिए । 
 
Published on: 3 November 2017 | Kantipur

Back to list

;