s

म्यानपावरमै बन्छ दूतावासका कागजात

वैदेशिक रोजगार सिलसिलामा सम्बन्धित मुलुकका दूतावासले दिने विभिन्न कागजात म्यानपावर कम्पनी आफैंले बनाएर ठगी गरिरहेको खुलासा भएको छ। वैदेशिक रोजगारमा ठगी र अनियमितता बढेको गुनासोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उपत्यकामा सञ्चालित २७ म्यानपावर कार्यालयले १ सय ६९ दूतावासका नक्कली छाप र लेटरप्याड बनाएको खुलेको हो।

ती म्यानपावरले नक्कली छाप र लेटरप्याडकै आधारमा नक्कली कागजपत्र तयार पारी वैदेशिक रोजगार विभागमा पेस गरेको अख्तियारको अनुसन्धानबाट फेला परेको छ। आयोगले गत महिना २७ म्यानपावर कम्पनीका ४५ वटा फाइल विभागबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। आयोगले विभागसँग सबै म्यानपावरका विवरणसमेत मागेको थियो। 

अनुसन्धान क्रममा नक्कली मागपत्र बनाएर विभागमा पेस गरेको फेला परेपछि आयोगले ललितपुरको नाई बिल्डिङ प्रेसका सञ्चालकलाई पक्राउ गरेको थियो। नाईका सञ्चालकको बयान र ४५ वटा फाइल अध्ययनबाट म्यानपावर कम्पनीहरूले नक्कली कागजपत्र बनाएर विभागमा पेस गरेको फेला परेको आयोगका एक अधिकारीले जानकारी दिए। अनुसन्धानमा संलग्न ती अधिकारीका अनुसार २७ म्यानपावरले विभिन्न मुलुकका दूतावासको नक्कली लेटरप्याड, छाप, विभागका कर्मचारीको दस्तखत र अन्य कागजात आफैं बनाएर विभागमा पेस गरेको भेटिएको छ। 

आयोग स्रोतका अनुसार अनुसन्धानमा व्यवसायी संघकै कार्यसमितिका पदाधिकारीको म्यानपावरसमेत परेको छ। स्रोतले उपलब्ध गराएको सूचीमा वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष ज्ञानप्रसाद गैरेको कम्पनीको नामसमेत छ। छानबिनमा तानिएको रारा इम्प्लोइमेन्ट कन्सल्टेन्ट प्रालि, चाकुपाट, ललितपुरका सञ्चालक गैर हुन्।

दूतावासको नक्कली छाप प्रयोग गर्नेमा किस्ट इम्प्लोइमेन्ट प्रालि सिनामंगल (सञ्चालक इन्द्र श्रेष्ठ, अयेन्द्रकुमार प्रधान), गल्फ होराइजन इन्टरनेसनल वसुन्धारा (सन्त लामा), सल्मानी ओभरसिज प्रालि बानेश्वर (रामचन्द्र गिरी), आर एन्ड आर ग्लोबल जब ट्रेकर प्रालि चप्पलकारखाना (ग्यान्जबहादुर श्रेष्ठ र गणेश गुरुङ) र मसरिक इन्टरनेसनल ओभरसिज प्रालि सिनामंगल (राजकुमार खड्का र खेमनाथ गौतम) छन्।

त्यस्तै, साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सी प्रालि एकान्तकुना (देवीकला आचार्य), युनाइटेड इन्टरनेसनल म्यानपावर प्रालि पुल्चोक (ऋतुराज राई), युनाइटेड एचआर सोलुसन प्रालि कोटेश्वर (रामकुमार राई), ड्रिम एन्ड गाइड सिस्टम प्रालि बसुन्धरा (अब्दुल मोबिन मुलमानलगायत), एस इम्प्लोइमेन्ट बेरु प्रालि ललितपुर (तुलसीप्रसाद काभ्री) र ग्लोबल एलायन्स कन्सल्टेन्सी सर्भिस (एलपी साँवा लिम्बू) ले पनि दूतावासका नक्कली छाप र किर्ते कागजात बनाएको अख्तियार छानबिनमा फेला परेको छ। लिम्बू संघका पूर्वअध्यक्षसमेत हुन्।

छानबिनमा परेका अन्य म्यानपावरमा लक्की ओभरसिज प्रालि पुलचोक (यामबहादुर केसी), लिबर्टी कन्सल्ट प्रालि, परर्फेक्ट कनेक्सन इम्प्लोइमेन्ट प्रालि एयरपोर्ट (डिल्लीप्रसाद लामिछाने), मिराकल ओभरसिज प्रालि गौशाला (जयन्द्र अधिकारी, सीताकुमारी न्यौपाने), युरोक्रस इन्टरनेसनल प्रालि (घनश्याम श्रेष्ठ र मनोज राई), न्यु ग्लोबल म्यानपावर प्रालि तीनकुने (लालबहादुर गुरुङ), धर्म ओभरसिज प्रालि वसुन्धारा (सुनिल गुरुङ), पश्चिम नेपाल ओभरसिज गोगंबु (उमेशप्रसाद आचार्य) र जस्मिन ओभरसिज प्रालि धापासी (नवीन खड्का) छन्। 

अख्तियार र विभाग दुवैले अनुसन्धान जारी रहेको भन्दै म्यानपावर कम्पनीका नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन्। अनुसन्धानमा पाथिभरा ओभरसिज प्रालि बत्तिसपुतली (हंशराज वाग्ले) र प्याराडाइज इन्टरनेसनल प्रालि बखुण्डोल (नवराज खत्री केसी) को पनि नाम रहेकामा अख्तियारले यी दुई नाम र कम्पनी उल्लेख नगरी विभागमा पेस भएको लट नम्बरका आधारमा मात्र अनुसन्धान गरेको स्रोतले जानकारी दियो। वाग्ले संघका अध्यक्ष हुन्।

विभागका प्रवक्ता बद्री कार्कीले आयोगको गोप्य अनुसन्धानबारे विभागलाई जानकारी नरहेको बताए। 'हामीसँग केही म्यानपावर कम्पनी र सञ्चालकको विवरण मागिएको थियो,' कार्कीले भने, 'अनुसन्धानमा परेका म्यानपावर कम्पनीको नाम विभागबाट दिन मिल्दैन।'

आयोग प्रवक्ता श्रीधर सापकोटाले पनि एउटै कम्पनीविरुद्ध धेरै मुद्दा रहेकाले अनुसन्धान लम्बिएको बताए। 'यी मुद्दालाई प्राथमिकतासाथ हेरेका छौं, प्रत्येक म्यानपावर कम्पनीको भित्री तहमा पुगेर अनुसन्धान गरेका छौं, केही दिनमा दोषी म्यानपावरको नाम सार्वजनिक हुन्छ,' उनले भने। त्यसलगत्तै दोषीविरुद्ध मुद्दा दायर गर्ने उनले जानकारी दिए। अनुसन्धानमा परेका म्यानपावर कम्पनी भने अख्तियार र विभागका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा कमजोर बनाउने प्रयासमा रहेको स्रोतको दाबी छ। विभागका एक अधिकृत आर्थिक चलखेलकै कारण अहिलेसम्म नाम सार्वजनिक नगरिएको बताउँछन्।

'नाम तल–माथि पार्न चलखेल भइरहेको छ, राजनीतिक दलदेखि मन्त्रीसम्मको सोर्सफोर्स लगाएर नाम हटाउन म्यानपावर कम्पनी लागिपरेका छन्,' ती अधिकृतले भने। विभागले वैदेशिक रोजगारीका नाममा गैरकानुनी काम गर्ने म्यानपावरमाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमार्फत फाइल अख्तियार पठाएको थियो।

Published on: 7 August 2014 | Nagarik

Back to list

;