s

म्यानपावरको पनि अनुगमन

कमल न्यौपाने 

सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको अनुगमन गर्ने तयारी गरेको छ। उपत्यका बाहिरका केही जिल्ला शाखामा सोमबारदेखि नै अनुगमन सुरु गरिसकेको वैदेशिक रोजगार विभागले विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। उनका अनुसार अनुगमनका लागि विभागका कर्मचारीको टोली खटाइसकिएको छ।

निःशुल्क भिसा र टिकटको व्यवस्था गरिएको अवस्थामा समेत व्यवसायीले न्यूनतम रकमको रसिद मात्र दिएर प्रतिव्यक्ति लाखभन्दा बढी असुली गर्ने गरेको पीडितको गुनासो आएपछि सरकारले म्यानपावरका शाखामा पनि अनुगमन गर्ने भएको हो।
 
उपत्यका बाहिर अनुगमनका लागि कर्मचारी खटिइसकेको बताउँदै प्रवक्ता अधिकारीले उपत्यकाका म्यानपावरमा केही दिनमै अनुगमन सुरु गरिने जानकारी दिए। २० हजार न्यूनतम लिनुपर्ने ठाउँमा एक लाख ५० हजारसम्म लिने गरेको विभागमा गुनासो आएको वैदेशिक रोजगार विभागका प्रवक्ता अधिकारीले बताए। यस्ता उजुरीपछि सरकारले पनि ताकेता गरेकाले त्यस्ता कम्पनीको तत्काल अनुगमन गर्न लागिएको उनले जानकारी दिए। अनुगमनका क्रममा यसरी रकम असुल गरेको भेटिए त्यस्ता कम्पनीलाई कानुनी कारबाही गरिने विभागका प्रवक्ता अधिकारीले बताए।
 
करिब तीन महिनादेखि हुन नसकेको म्यानपावर कम्पनीको अनुगमन विभागले आउँदो सातादेखि सुरु गर्न लागेको प्रवक्ता अधिकारीले बताए। मलेसियालगायत खाडी मुलुक जानेका लागि अब पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी विभागले गरेको उनले जानकारी दिए।
 
केही समयअगाडि अनुगमनको कामलाई तीव्र बनाएर केही म्यानपावर कम्पनीलाई विभागले कारबाही समेत गरेको थियो। विभागले पछिल्लो समय कर्मचारीको अभाव देखाउँदै तीन महिनायता अनुगमनको कार्य ठप्प पारेको थियो। अहिले सरकारले नै ताकेता गरेपछि विभागले अनुगमनको काम सुरु गर्न लागेको हो।
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डेको कार्यकालमा केही म्यानपावरलाई अनुगमन गरी कारबाही समेत गरिएको थियो। तर, पाण्डेलाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि विभागले म्यानपावर व्यवसायीमाथि अनुगमन गर्न चासो देखाएको थिएन। ५० जनाको दरबन्दी रहेको विभागमा अहिले पनि दरबन्दीअनुसारका सबै कर्मचारी नभएको विभागका प्रवक्ता अधिकारीले जानकारी दिए। विभागको मुख्य कार्यअन्तर्गत म्यानपावरको अनुगमन रहे पनि पछिल्लो तीन महिना कुनै पनि कम्पनीको अनुगमन हुन नसकेको प्रवक्ता अधिकारीले बताएका छन्।
 
विभागले अहिलेसम्म एक हजार तीन सय ६० म्यानपावरलाई इजाजत दिइसकेको छ। यसमा एक हजार ५० वटा म्यानपावरले काम गरिरहेको विभागले बताएको छ। सरकारले ०६८ असोज १३ मा प्रभावकारी अनुगमन अभाव भएको भन्दै नयाँ म्यानपावर दर्तामा रोक लगाएको थियो। पछिल्लो समय अदालतबाट आदेश लिँदै नयाँ म्यानपावर धमाधम दर्ता भइरहेका छन्।
 
लामो समयदेखि विभागले म्यानपावर कम्पनीको अनुगमन गर्न छोडेपछि नेपाली युवा ठगिने क्रम बढेको छ। म्यानपावर कम्पनीले मनलाग्दी ढंगबाट पैसा असुल्ने गरेको कामदारले गुनासो गर्दै आएका छन्। विभागको कार्यक्षेत्र बढ्दै गएको र म्यानपावर संख्या पनि बढिरहकाले म्यानपावर कम्पनीका कामबारे स्थलगत रूपमा निगरानी राख्न नसकिएको प्रवक्ता अधिकरीले बताए।
 
म्यानपावर कम्पनीले ठगी गरेको भन्दै दैनिक एक सयको हाराहारीमा विभागमा उजुरी पर्ने गरेको उनले जानकारी दिए। तर, उजुरीमा प्रमाण नपुगेको भन्दै विभागमा कतिपय उजुरी दर्ता समेत हुन नसकेको पाइएको छ। विभागले म्यानपावरको अनुगमन गर्दा तीन तरिकालाई प्राथमिकताका साथ अघि बढाउने तयारी गरेको प्रवक्ता अधिकारीले बताए। उनका अनुसार पहिलो विभागले म्यानपावर विरुद्व परेको लिखित उजुरी, दोस्रो मौखिक उजुरी र तेस्रो फोन, इमेल, एसएमएसमा आएका आधारमा उजुरीलार्ई प्राथमिकतामा राखेर अनुगमन गरिनेछ।
 
ठगीमा संलग्न रहेको उजुरीका आधारमा विभागले यसअघि ६० म्यानपावर कम्पनीमाथि अनुगमन गरेको थियो। यस्तै विभागले ४७ वटा म्यानपावर कम्पनीसँग स्पष्टीकरण समेत सोधेको थियो। तर, यी कम्पनीमाथि त्यतिबेला पनि कानुनी कारबाही हुन सकेको थिएन। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले विभागले अनुगमन पारदर्शी र विभेदपूर्ण ढंगले अघि बढाउनुपर्ने बताए।
 
Published on: 13 March 2018 | Annapurna Post

Back to list

;