s

म्यानपावरको आवरणमा मानव तस्करी

एक वर्षअघि सोममाया (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा साइप्रस पुगेर फर्केकी थिइन् । तर, वैदेशिक रोजगारीमा जाने प्रयास उनको जारी नै थियो । साइप्रसमै चिनजान भएकी ताप्लेजुङकी तारा (नाम परिवर्तन)को माध्यमबाट उनी जेठ ०७४ मा महाराजगन्जस्थित साकुरा इन्टरनेसनल म्यानपावरमा पुगिन् ।

त्यहाँ उनको भेट अर्जुन गिरीसँग भयो । गिरीले टर्कीको पाँचतारे होटेलमा क्लिनरको माग आएको भन्दै मासिक ६० हजार रुपैयाँभन्दा बढी कमाइ हुने बताए । खर्च पनि १ लाखभन्दा बढी नलाग्ने भन्दै पठाइदिने आश्वासन दिए । पासपोर्ट लिँदै उनले एक महिनामै भिसा लाग्ने भनेका थिए । तर, ३ महिनासम्म पनि भिसा नआएपछि सोममाया र ताराले पासपोर्ट फिर्ता मागे । तर, म्यानपावरले दिएन ।

गिरीले टर्कीको भिसा नआएको भन्दै ग्रिसको आकर्षक रोजगारीको अफर गरे । तुरुन्तै भिसा लाग्ने बताउँदै उनले ग्रिसमा कृषिसम्बन्धी काम गर्नुपर्ने र मासिक डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने प्रलोभन देखाए । ताराले पनि जोडबल गरेपछि सोममायाले माइतीबाट सापटी गरेर १ लाख रुपैयाँ बुझाइन् । ‘एक हप्तामै भिसा आउने भन्दै म्यानपावरले पासपोर्ट ग्रिस पठाइसकेको भनेको थियो,’ उनले भनिन्, ‘तर, पासपोर्ट म्यानपावरमै रहेछ । त्यसैले मचाहिँ नजाने भनेर बुझाएको रकम र पासपोर्ट फिर्ता मागेकी थिएँ ।’

गिरीले ०७४ कात्तिकमा भिसा आइसकेको जानकारी दिएपछि सोममायाले सयकडा ३ को चर्को ब्याजमा आफन्त र सहकारीबाट ऋण निकालेर थप १० लाख ६० हजार रुपैयाँ म्यानपावरमै गएर बुझाइन् । तर, रसिद माग्दा दिइएन । भिसा टर्कीको मात्र लागेको रहेछ र त्यो पनि पर्यटक भिसा । म्यानपावर सञ्चालक महेन्द्र राना र गिरीले टर्कीबाट ग्रिसको भिसा लाग्ने तथा एक वर्षभित्रै सबै खर्च उठ्ने आश्वासन दिए । सोममायाले पनि होला भन्दै पत्याइन् ।

हातमा पासपोर्ट थिएन । म्यानपावरका मान्छेले पासपोर्ट दिल्लीमा छ, भिसा हान्नुपर्छ भनेका थिए । ६ वर्षीय छोरा माइतीका जिम्मामा छाडेर सोममाया नागरिकताका भरमा तारासँगै जहाज चढेर दिल्ली पुगिन् । गिरी त्यसअघि नै दिल्ली पुगिसकेका रहेछन् । गिरीले नै त्यहाँबाट उनीहरूलाई साथमा लिएर गए । दुई सातासम्म उनीहरूलाई दिल्लीकै एक होटेलमा राखियो । भैपरी आउँदा समस्या टार्न सजिलो हुन्छ भनेर सोममायाले २० हजार रुपैयाँ साथमै बोकेकी थिइन् ।

साटिदिने भन्दै त्यो पैसा पनि गिरीले नै लिए । तर, फिर्ता गरेनन् । टर्कीमा बुझाउनुपर्छ भन्दै म्यानपावर सञ्चालकले एजेन्टका लागि छुट्याएको रकम मात्रै सोममायासँग बाँकी थियो । उनीहरू बसेको होटेलमा अर्को एकजना एजेन्ट आयो । तपाईंहरूलाई रिसिभ गर्ने मान्छे मै हुँ भन्दै २९ कात्तिकमा टर्कीका लागि हवाईजहाज चढायो ।

टर्की पुगेका उनीहरूलाई लिन त्यहाँस्थित एजेन्ट सुभाष थापामगर आइपुगे । गाडीमा आधा घन्टाको यात्रापछि अन्तरा भन्ने स्थानमा पु-याइयो । राहदानी तथा कागजात र साथमा भएको सबै रकम मगरले जबर्जस्ती लिए । उनीहरूलाई दुई सातासम्म त्यहीँ राखियो । हवाईजहाजमै ग्रिस जाने भनेर टर्की पु-याइएका उनीहरूलाई थापामगरले त्यहाँबाट गुडेरै जानुपर्ने बताए । त्यहाँबाट मानव तस्करले चोरबाटोबाट ग्रिस पु¥याउने काम गर्दा रहेछन् ।

‘हामी बसिरहेको ठाउँमा पाकिस्तानी केटाहरू पनि आए,’ सोममाया भन्छिन्, ‘सुभाषले हामीलाई २०–२० युरो दियो । अन्यत्रैबाट थप अर्की एक नेपाली केटी पनि ल्याएका रहेछन् । अरू पाकिस्तानी, बंगलादेशी, सिरियाली पुरुषहरू गरी १८ जना थिए ।’ सोममायाले आफ्नो साथमा सानो मोबाइल लुकाएर राखेकी थिइन् । त्यहाँबाट उनीहरूलाई रातको समयमा जंगलको बाटो पैदल हिँडाएर लगे । समूहमा रहेका तस्कर समूहले अघिपछि दुवैतिर लागेर धपाएर लान्थे ।

सीमाक्षेत्रमा रहेका सुरक्षागार्डले उनीहरूभन्दा अगाडिको समूहलाई पक्राउ ग¥यो । त्यसैले पछाडिको समूहलाई मोडेर अर्कै बाटो लगियो । प्रहरीको गाडी आउँदा भुइँमा टाँसिएर लुक्न लगाउँथे । हिँड्न नसक्नेलाई बाटोमै छाडेर अघि बढ्थे । अन्ततः उनीहरूलाई हिलो, मैलो ग्रिसको सिमानामा पु-याइयो । जंगलछेउ रहेको सीमामा ठूलो नहर थियो । साथमा भएका सबै सामान तस्कर समूहले त्यही नहरमा बगाइदिए । गरगहनालगायतका काम लाग्ने सामान भने उनीहरूले नै लिए । -याप्टिङको सहायताले नदीपारि तारे ।

सुरक्षागार्डले थाहा नपाऊन् भनेर अनकन्टार जंगलमा लगेर राखियो । साथमा खानेकुरा त परको कुरा, पानीसम्म थिएन । जिउमा एकसरो कपडा मात्रै थियो । भोकैप्यासै अनकन्टार जंगलमा विदेशी पुरुषहरूको झुन्डसँग निकै पीडादायी रूपमा ३ दिन ३ रात कटाएकी सोममाया भन्छिन्, ‘त्यतिखेर त लगभग ज्यानको माया पनि मारिसकेकी थिएँ ।’

केही दिनमा खसीबोका बोक्ने सानो थोत्रो गाडी आइपुग्यो । गाडीको डिब्बाभित्र १८ जनालाई आलुको बोराझैँ खप्ट्याएर बन्द गरियो । निसास्सिँदो गरी खाँदिएका उनीहरूको उकुसमुकुस बेवास्ता गर्दै गाडी बेस्सरी हुइँकियो । जंगल कटेपछि चारजना पाकिस्तानीको अर्को समूह लिन तयार भएर बसेको रहेछ । गाडीबाट निकालेर उनीहरूलाई हिँडाएर एउटा सानो जंगलमा पु-याइयो । त्यतिञ्जेलसम्म पनि उनीहरू कसैले केही पनि खान पाएका थिएनन् । सबैलाई त्यहाँ टाँगिएको टेन्टभित्र राखियो । त्यहीँबाट ग्रिसको एजेन्टसँग फोनबाटै मोलमोलाइ गर्थे । तुरुन्तै पैसा नपठाएर यहीँ सडाइदिनेसम्मको धम्की बन्दी कामदारले प्रस्टै सुन्थे ।

अन्ततः त्यहाँबाट सबैलाई रेल चढेर जान भनियो । सोममायाले साथमा राख्न दिइएको २० युरो त्यसैका लागि भएको बल्ल चाल पाइन् । तीनजना नेपाली युवती पनि सँगै थिए । ग्रिसको राजधानी एथेन्स पुगेपछि स्टेसनमा एउटी नेपाली केटी उनीहरूलाई कुरेर बसेकी हुन्छिन् । तिनैले उनीहरूले चिनियाँ वृद्ध महिलाको घरमा लगेर छाडिदिए । तिनै वृद्धाले कामका लागि विभिन्न ठाउँमा जानुपर्ने बताइन् । तारा र टर्कीबाट थपिएकी अर्की युवती उनलाई त्यहीँ छाडेर कामका लागि अन्यत्रै हिँडे । सोममायालाई भने आइल्यान्ड (समुद्रको टापु) जानुपर्ने भनिएको थियो । ‘साथीहरू जस्तो काम भए पनि गर्छु भन्दै छुट्टिएर गए । मैले घरको काम गर्छु भनेकी थिएँ,’ उनले भनिन् । त्यसैबीच ती वृद्धाले रेलमा चढाएर एक वृद्धकहाँ पु-याइन् । दुवैले रकम लेनदेन गरे ।

उनी ती वृद्धसँग पानीजहाज चढेर आइल्यान्डतर्फ लागिन् । ती वृद्धले उनलाई रक्सी खान कर गर्दै भने, ‘तिम्रो काम रक्सी खाने र पैसा कमाउने हो ।’ करिब २० घन्टा लामो पानीजहाजको यात्राका क्रममा ती वृद्धले उनीमाथि पटक–पटक यौनहिंसाको प्रयाससमेत गरे । सोममाया भन्छिन्, ‘मैले साइप्रसमा ग्रिक भाषाका केही शब्द जानेकी थिएँ । मैले बारमा काम गर्दै नगर्ने बताएपछि उसले आफ्नो साथीका घरमा पु-यायो ।’ सोममायालाई त्यहाँ कृषिसम्बन्धी काम गर्नुपर्ने भनिएको थियो । अरूलाई ३० युरो दिने गरेकोमा उनलाई भने २० युरो मात्र दिने भनियो । अरू विकल्प नभएपछि उनी काम गर्न तयार भइन् । त्यहाँको वृद्धले पनि वेला–वेलामा जबर्जस्ती गर्न खोज्थ्यो । पानीजहाज चढाएर ल्याउने वृद्ध पनि वेला–वेला आउँथ्यो र भन्थ्यो, ‘कि मेरो पैसा फिर्ता दे कि मेरो इच्छा पूर गर ।’

सोममायाले त्यहाँ ५ दिन खेतमा काम गरिन् । काम गर्ने क्रममा भेट भएका एक पाकिस्तानी युवाले उनलाई त्यहाँबाट छिटोभन्दा छिटो उम्किन सल्लाह दिए । पानीजहाज पाइने ठाउँ र टिकट लिने उपाय बताइदिए । त्यहाँ पुगेको सातौँ दिनमा बिरामी भएको बहाना बनाएर उनी घरमै बसिन् । त्यहाँ उनलाई घरको मूलढोका बन्द गरेर राखिएको थियो । जसोतसो त्यहाँबाट उम्किन सफल भइन् ।

कामबाट पाएको ४५ युरोले पानीजहाजको टिकट लिइन् र एथेन्स आइपुगिन् । स्वदेश फर्किने उपायको खोजीमा थिइन् । जहाजमा भेटिएको एक जोडीको सहायताले उनी आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)को सम्पर्कमा पुगिन् । संस्थाका कर्मचारीहरू ग्रिसमा नेपालको राजदूतावास नभएको भन्दै नजिकैको फ्रान्सबाट ट्राभल डकुमेन्ट बनाउने प्रयासमा लागे । ट्राभल डकुमेन्ट बनाउनै डेढ महिना लाग्यो । उक्त अवधिको खाने र बस्ने सुविधा आइओएमले नै मिलाइदिएको थियो । त्यहाँ बस्न थालेको करिब एक महिना भएको थियो । इन्टरनेट चलाउन पाइन् । जसका माध्यमबाट उनी परिवारको सम्पर्कमा आइन् । अन्ततः आइओएमले नै हवाई टिकटको समेत व्यवस्था गरिदिएपछि गत चैतमा चार महिनाको कष्टकर जीवनबाट बाहिर निष्कन सफल भइन् ।

नेपाल आइपुगेलगत्तै म्यानपावर सञ्चालक महेन्द्रकुमार रानालाई सम्पर्क गर्ने प्रयास गरिन् । ‘मुस्किलले सम्पर्कमा आएका रानालाई मैले दिएको रकमसम्म भए पनि फिर्ता दिन भनेकी थिएँ,’ उनले सुनाइन्, ‘उसले नबिल बैंकको ११ लाख ६० हजार रुपैयाँको चेक दियो । तर, खातामा पैसा नहुँदा चेक साटिएन ।’ आपसमै कुरा टुंग्याउने प्रयासमा जुटेकी, प्रयास सफल हुन नसकेपछि उनले २३ जेठ ०७५ मा वैदेशिक रोजगार विभागमा क्षतिपूर्तिका लागि निवेदन दर्ता गराएकी थिइन् ।

सोममायाको निवेदनका आधारमा प्रक्रिया अगाडि बढाएको विभागले सोही दिन म्यानपावर सञ्चालक रानालाई लिखित जवाफसहित उपस्थित हुन पत्र काटेको थियो । त्यसको कुनै जवाफ नआएपछि विभागले ३० जेठमा अर्को पत्र काट्यो । बारम्बार उपस्थित नभएपछि विभागले २८ साउनमा म्यानपावरको बैंक ग्यारेन्टी तथा धरौटीबाट क्षतिपूर्ति भराइदिने निर्णय गरेको छ । म्यानपावरले श्रम स्वीकृति नै नलिई वैदेशिक रोजगारीमा पठाएर अलपत्र पारेको भन्दै विभागले २८ भदौमा पाँच लाख जरिवाना, कैद सजाय र अनुमतिपत्रसमेत रद्द गर्ने गरी पक्राउ पुर्जीसमेत जारी गरेको छ । तर, म्यानपावरमार्फत मानव तस्करी गर्दै आएका महेन्द्र राना, अर्जुन गिरीलगायतलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न भने सकेको छैन ।

Published on: 29 September 2018 | Naya Patrika

Back to list

;