s

म्यानपावरहरूमा छड्केः भेटिए होल्ड गरिएका पासपोर्टका चाङदेखि शंकास्पद कारोबारसम्म

रवीन्द्र घिमिरे

सोमबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाल आफैं म्यानपावरहरुको अनुगमनमा निस्किए । विभागमा आएपछि वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने गरी विभन्नि काम थालेका भुसालले सोमबार आफैं अनुगमनमा निस्किएर कर्मचारीलाई नतिजामुखी अनुगमनको विधि सिकाए । दिउँसो अनुगमनमा निस्किएका विभागको टोली सुरुआतमा एयरपोर्ट नजिकैको ‘स्काई अफ दि वर्ल्र्ड म्यानपावर’मा पुग्यो । टोलीलाई देख्नासाथै म्यानपावरको सञ्चालक र कर्मचारीहरुको हच्किए । विभागको टोलीले फाटाफटी आवश्यक कागजातहरु माग्यो । म्याानपावर सञ्चालक राधा केसी र हेमराज राईले विभिन्न कागजात टोली समक्ष प्रस्तुत गरे । तर कतिपय कागजात तर्कसंगत र विश्वासिला थिएनन् । उनीहरुले विगत ९ महिनादेखि सेवा शुल्क लिएर एक जना पनि कामदार विदेश नपठाएको दावी पेश गरे ।

बहराइनका लागि कामदार आपूर्ति तीव्र पारेको कम्पनीले सबै कामदार एक रुपैयाँ पनि नलिई पठाइरहेको दावी गर्‍यो । ९ महिनाअघि काटिएका नगदी रसिदमा पनि सबै १० हजारका बिल मात्रै देखिन्थे । स्काई अफ दि वर्ल्र्ड म्यानपावरले पछिल्लो सयममा सेवा शुलक समेत नलिएको बतायो । ‘पैसा त एक रुपैयाँ नै कमाउनुहुन्न रहेछ, कसरी चलाउनुहुन्छ त म्यानपावर ?’ महानिर्देशक भुसालले प्रश्न गर्दा सञ्चालक राईले मुस्कुराउँदै जवाफ र्फकाए ‘सर-सापटी र ऋण धन गरेर कम्पनी चलेको छ हजुर ! ‘ उनीहरुले कामदार पठाउँदा विदेशकै रोजगारदाता कम्पनीले रकम दिने गरेको भन्दै कामदारसँग एक रुपैयाँ पनि उठाएको ठोकुवा गरे । तर, विभागका महानिर्देशकले विदेशबाट आएको रकमको स्टेटमेन्ट माग्दा उनीहरु जवाफविहीन भए । ‘हामी उतै विदेश गएका बेलामा कम्पनीसँग मिलाउँछौं,’ राईले केही बेरपछि बल्ल जवाफ फर्काए । तर, त्यसअघि नै अर्की सञ्चालक राधा केसीले भने विदशेबाट नै कम्पनीले आफूहरुलाई पैसा पठाइदिने गरेको बताइसकेकी थिइन् ।

म्यानपावरले अवैधानिक रुपमा कामदारहरुको पासपोर्ट विदेश पठाइदिने बाहनामा जम्मा गरी राखेको पनि भेटियो । उनीहरुले कामदार आफैंले म्यानपावरमा जबरजस्ती पासपोर्ट छाडेर जाने गरेको दावी गरे । म्यानपावरमा देखिएका शंकास्पद कारोबार र कागजात जफत गर्‍यो र स्पष्टीकरण पत्र दियो र टोली त्यहाँबाट हिँडयो । त्यसपछि विभागको टोली सिनमंगलस्थित जुपिटर ओभरसिजमा पुग्यो । त्यहाँ पुग्दा पनि स्थिति स्काईको भन्दा फरक देखिएन । विभागको टोलीले त्यहाँ पनि श्रम इजाजत र माग पत्रसम्बन्धी विभिन्न कागजात माग गर्‍यो । सञ्चालक हिक्मत रावलले केही कागजात टोलीलाई स्पष्ट देखाए भने कति कागजात नभेटिएको भन्दै टारे ।

सो म्यानपावरले पनि विदेश जाने आश देखाएर युवाहरुको पासपोर्ट जम्मा गरेको भेटियो । विशेष गरी मलेसियाको कम्पनीमा पठाउने भन्दै स्टिकरमा कम्पनीको नाम नै टाँसेर पासपोर्ट होल्ड गरेको भेटियो । हाल मलेसिया बन्द भएपनि व्यवसायीहरुले अब छिट्टै खुल्ने भन्दै यसरी नै पासपोर्ट जम्मा गर्न लागेको अनुगमनका क्रममा खुल्यो । उनीहरुले पासपोर्टसँगै अग्रिम रकम पनि बुझिसकेको हुन सक्ने विभागको आशंका छ । पछिल्लो पटक सरकारले अवैधानिक घोषणा गरेको जीएसजीमा पासपोर्ट पुग्न थालेको चर्चा चलेको छ । सोमबार विभागले गरेको छड्केमा यस्ता शंकास्पद पासपोर्टहरु भेटिनुले सरकारले अवैधानिक घोषणा गरेको जीएसजीलाई फेरि ब्युताउँन व्यवसायी नै लागेको चर्चामा बल पुगेको छ ।

विभागको टोलीले जुपिटर म्यानपावरको पनि अनुसन्धान गर्नुपर्ने विषयमा फाइल उठायो र स्पष्टीकरण पत्र दिएर बाहिरियो । त्यहाँबाट विभागको टोली महाराजगञ्जको ट्रस्ट नेपाल म्यानपावरमा पुग्यो । सो म्यानपावरले मलेसिया बन्द भएयता विदेश पठाउने काम नै नगरेको दावी गर्‍यो । तर, रोमानिया पठाउने काम भने सुरु भएको सञ्चालक रविन गुरुङले टोली जानकारी दिए । मुख्य रुपमा यो कम्पनीले विगतमा मलेसियामा काकदार पठाउने काम गर्ने गथ्र्यो । तर, एक वर्ष देखि मलेसियाको काम बन्द भएको अवस्थामा २४ जना कामदार म्यानपावरले कसरी पालिरहेको छ भन्ने प्रश्न स्वभाविक रुपमा उठ्यो । सञ्चालकले केही समयअघिसम्म म्यानपावरसँगै एजुकेसन कन्सल्टेन्सी पनि चलाएको स्वीकारे । म्यानपावरसँगै राखेर कन्टसल्टेन्सी चलाउनु नैतिक मानिँदैन । गुरुङले इक्यानमा दर्ता गर्न समस्या भएकोले अहिले कन्सल्टेन्सी अरु नै पार्टनरले अन्तै लगेर कन्सल्टेन्सी सञ्चालन गरिरहेको दावी गरे । सो म्यानपावरको वैदेशिक रोजगारसम्बन्धी कागजातसहित हिसाव-किताव पनि टोलीले हेर्‍यो । तर, दैनिक कारोबारसहितको लेखालाई अव्यवस्थित र अष्पष्टसँग राखिएकाले हिसाव किताव अपरादर्शी देखियो ।

विभागको टोलीले सो म्यानपावरलाई पनि स्पष्टीकरण पत्र दिएर अनुगमगन टुंग्यायो । अनुगमन अवधिभर टोलीको नेतृत्व गरेका भुसालले कर्मचारीहरुलाई अनुगमनमा आउँदा कसरी प्रस्तुत हुने भन्ने बुझाए । ‘अनुगमनमा हामी विन्रम भएर नै प्रस्तुत हुनुपर्छ, गरिएका बदमासी कागजात खोतल्दा भेटिन्छ,’ भुसालले भने,’अली बढी चनाखो भएर अनुसन्धान गर्नुपर्छ । सबै कागजात हेरेपछि गरिएका त्रुटिका तथ्यहरु भेटिन्छन् ।’ ३ वटा म्यानपावरमा पुगेको विभागको टोलीले कुनै पनि म्यानपावरमा पानीसम्म पिएन । टोली प्रमुख भुसालले कर्मचारीहरुलाई अनुगमनमा हिँड्दा पिउने पानी पनि आफैं व्यवस्था गर्न निर्देशन दिए । उनले सभ्य र शिष्ट भाषाम प्रस्तुत हुन र शंकास्पद कागजात र कारोबारको रेकर्डलाई आधार बनाएर अनुसन्धान अघि बढाउन निर्देशन दिए । ‘पहिले कसरी अनुगमन भयो भन्ने एउटा पाटो हो, तर, अब एउटा विधि र प्रक्रियाबाटै अनुगमन हुन्छ । त्यसले नतिजा पनि ल्याउनुपर्छ,’ भुसालले अनलाइनखबरसँग भने । महानिर्देशक भुसालले म्यानपावर अनुगमनको कार्याविधि बनाएर स्वीकृतिका लागि मन्त्रालयमा पेश गरिसकेका छन् । अब त्यसकै आधारमा नतिजामुखी अनुगमनलाई जोड दिने भुसालले बताए ।हादसम्म विभागमा म्यानपावरका अनुगमनमा लागि कार्यविधिसम्म बनेको थिएन । अब नियमित अनुगमन सुरु भएको र यसले तीव्रता पाउने भुसालले बताए ।

Published on: 13 May 2019 | Onlinekhabar

Back to list

;