s

म्यान्मारबाट अाएका रोहिंग्या काम खोज्दै काभ्रेदेखि गोरखासम्म

शम्भु कट्टेल

म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरू काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेका पाइएका छन् । रोहिंग्या समुदायका अगुवाले नै राजधानी काठमाडौंलगायत काभ्रे र गोरखासम्म पुगेर आफूहरूले काम गरेको स्वीकारे ।

उनीहरू गैरकानुनी ढंगले काम खोज्दै शिविरबाट बाहिरिएका हुन् । गृह मन्त्रालय र अध्यागमन विभागले भने रोहिंग्याहरूले काम गरेको बारे थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
 
कपनस्थित शिविरमा बस्दै आएका रोहिंग्या समुदायका अगुवा जाफर आलमले आफ्नो समुदायका व्यक्तिहरू काम गर्न बाहिर जाने गरेको स्विकारे । ‘मेरो टोलीले काभ्रेको लामीडाँडामा घर बनाउने काम गर्दैछ,’ आलमले अन्नपूर्णसँग भने, ‘हामी दैनिक ज्यालादारीमा मजदुरी काम गर्छौ ।’
 
काठमाडैाँको कपनमा झण्डै ३ सय ३८ रोहिंग्या मुस्लिमहरू शिविर खडा गरेर बस्दै आएका छन् । उनीहरूमध्ये अधिकांश काभ्रेको लामीडाँडा, गोरखा र काठमाडांैका विभिन्न स्थानमा मजदुरका रुपमा घर बनाउने र अन्य काम गर्दै आएका पाइएका छन् ।
 
कुल ३ सय ३८ मध्ये नेपालस्थित शरणार्थी सम्बन्धी राष्ट्र संघीय उच्च आयोग (यूनएचसीआर) ले २ सय ४३ जना रोहिंग्या शरणार्थीलाई प्रमाणीकरण गरेको छ भने बाँकी ९५ जनालाई प्रमाणीकरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ । युएनएचसीआरले म्यानमारबाट आएका रोहिंग्याका ससाना छोराछोरीको शिक्षा र स्वास्थ्यमा केही रकम खर्चिंदै आएको छ ।
 
गृह प्रवक्ता रामकृष्ण सुवेदीले गैरकानुनी आप्रवासीहरूले कुनै पनि काम गर्न नपाउने बताए । सुवेदीले भने, ‘रोहिंग्यालगायत गैरकानुनी आप्रवासीको गतिविधिहरू निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएका छौं । काम गर्दै गरेको पाइए नियन्त्रण गरेर कानुनबमोजिम कारवाही गछौं ।’
 
अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले युएनएचसीआरको रिपोर्टले बर्मेलीहरू आएको सूचना दिएको बताए । उनले गैरकानुनी आप्रवासीले काम गर्न नपाउने जिकिरसमेत गरे ।
 
नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका अधिकारीहरूले यसअघि रोहिंग्या समुदायका व्यक्तिहरूलाई अत्यावश्यक काम बाहेक शिविरबाट बाहिर ननिस्कन र अनावश्यक व्यक्तिहरूसँग कुरा नगर्न सुझाव दिएको थियो । गैरकानुनी ढंगले नेपाल भित्रिएका रोहिंग्याहरू कपनमा दुई वटा शिविर संचालन गरी बसोबास गर्दै आएका छन् । तीमध्ये झण्डै एक सय जना रोहिंग्या सन् २०१७ मा नेपाल प्रवेश गरेको सुरक्षा स्रोतहरूले बताएका छन् ।
 
Published on: 23 May 2018 | Annapurna Post

Back to list

;