s

म्यानपावर ठगीका दैनिक २४ उजुरी दर्ता

म्यानपावर व्यवसायीले विभिन्न बाहनामा कामदार ठग्ने गरेको पाइएको छ। राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा कामदार ठगिने गरेका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनले ठगिएको भन्दै विभागमा उजुरी दिने गरेको तथ्यांक छ।  विभागका अनुसार १० हजार एक सय ५२ युवाले आफू ठगिएको भन्दै उजुरी दिएका छन्। तीमध्ये तीन हजार एक सय ९० उजुरीको अझै सुनुवाई भएको छैन। दुई हजार पाँच सय २६ वटा उजुरी प्रक्रियामा रहेको विभागले जनाएको छ। त्यस्तै पाँच सय ४४ उजुरी तामेलीमा रहेको विभागले जनाएको छ। विभागका अनुसार तीन हजार आठ सय ९२ उजुरी फरफारक भइसकेका छन्।   गत आर्थिक वर्ष एक अर्ब ५२ करोड २० लाख ७१ हजार दुई सय ५५ रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ। विभागका निर्देशक उद्धवप्रसाद रिजालका अनुसार विदेश पठाउँछु भनेर पैसा लिने, नपठाउने र धेरै पारि श्रमिक भन्ने तर थोरै दिने, एउटा काम भनी अर्कोमा पठाउने, सम्झौताबेगर अर्कै कम्पनीको भिसा दिने तथा विकसित मुलुकमा पठाउँछु भनेर मोटो रकम असुल्ने तर नपठाउने जस्ता ठगीका उजुरी विभागमा दिनहुँ आउँछन्।  पीडितसँग कागजात नहुँदा दाबी गरेअनुसार रकम असुली गर्न समस्या भएको रिजालले बताए। विभागले पीडित र पीडकसँग वार्तालाप गराएर पीडकबाट क्षतिपूर्ति भराउने गर्छ। अनुसन्धानका क्रममा केही उजुरी तथ्यहीन हुने गरेको निर्देशक रिजालको भनाइ छ। ‘कुनै न कुनै रूपमा कामदार ठगिएकै छन् तर केही उजुरी फजुल हुने गरेका छन्’, उनले भने।

धेरै उजुरी परेका म्यानपावर

आफू ठगिएको भन्दै तीन म्यानपावरविरुद्ध एक सयभन्दा बढी उजुरी छन्। आर एन्ड आर ग्लोबल ट्र्याकरका एक सय २१, द रिभर ओभरसिजका एक सय १५, प्याराडाइज इन्टरनेसल प्रालिकाबिरुद्ध एक सय ११ वटा उजुरी छन्। ट्र्याकरबाट ठगी भएका उजुरीमध्ये ८९ प्रक्रियामै छन्। यसमा १९ वटा उजुरीमा सम्झौता भएको र १३ उजुरीमा मात्र फरफारक भएको छ।  त्यस्तै ओभरसिजका ४० वटा प्रक्रियामा, ४९ वटाको सम्झौता भएको र २६ वटा उजुरी फरफारक भएको विभागको तथ्यांक छ। त्यस्तै प्याराडाइजका ३६ वटा उजुरी फरफारक भइसकेका छन् भने ४२ वटाको सम्झौता भएको र ३३ वटा प्रक्रियामा छन्।

५० भन्दा बढी उजुरी पर्ने म्यानपावर एक दर्जन छन्। विभागका अनुसार ढुल्सो ह्युमन रिसोर्स प्रालिका ६७, क्यापिटल रिक्रुटमेन्ट सर्भिसका ५८, सिद्धार्थ गौतम ओभरसिज सर्भिस प्रालिकाबिरुद्ध ५८ उजुरी छन्। मोन्टाज ओभरसिज प्रालिका ६९, भेरी एन्ड कर्णाली इन्टरनेसनल प्रालिका ८५, ट्रस्ट नेपाल ओभरसिज प्रालिका ६०, लक्की एचआर सोलुसन प्रालिका ५२, मिलेनियम म्यानपावर कन्सल्टेन्सीका ६१, भण्डारी ओभरसिज प्रालिका ५४, युनिभर्सल इन्टरनेसनल प्रालिका ६२, ग्रिन स्टार ओभरसिज प्रालिकाबिरुद्ध ५७ वटा उजुरी छन्।  विभागको प्रतिवेदनअनुसार २५ देखि ४९ वटा उजुरी पर्ने म्यानपावर दर्जनौं देखिएका छन्। विभागका अनुसार डीएन इन्टरनेसनल नेपाल ओभरसिज इम्प्लोएमेन्ट एजेन्सी प्रालिका ४५, लाइभ इन्टरनेसनल ओभरसिज प्रालिका ४६, अस्मिता इन्टरनेसनल ओभरसिज प्रालिका ४०, मदरल्यान्ड ओभरसिज प्रालिका ३७, सान इन्टरनेसनल ग्रुप नेपाल प्रालिकाबिरुद्ध ४० उजुरी छन्। त्यस्तै हिमालयन म्यानपावर सर्भिस प्रालिका ४४, सुवास ह्युमन रिसोर्स प्रालिका २७, रेसुंगा इन्टरनेसनलका ३४, अल अरेयिबा ओभरसिजका ३४, ओसो रिक्रुटिङ ओभरसिजकाबिरुद्ध ३४ उजुरी परेका छन्।   त्यस्तै बीआई ओभरसिज प्रालिका ४७, सी लिंक ओभरसिज प्रालिका ४३, सान्ना इन्टरनेसनल रिक्रुटिङ सर्भिसका ३०, पाथिभरा ओभरसिज प्रालिका ४५, आरबी ओभरसिज प्रालिका २५, स्मार्ट ओभरसिज प्रालिका २८, क्लासिक ओभरसिज म्यानपावर कम्पनीका ४०, नबिल ओभरसिज प्रालिका ४०, डाइनामिक सोलुसन एचआर प्रालिकाबिरुद्ध ३३ उजुरी विभागमा दर्ता भएका छन्। पर्फेक्ट कनेक्सन इम्प्लोएमेन्टका ३२, नक्षत्र इन्टरनेसनल प्रालिका २८, ह्युर ओभरसिज प्रालिका ३५, सम्पदा ओभरसिज प्रालिका ३४, सारथी ओभरसिज रिक्रुटमेन्टकाबिरुद्ध ३० उजुरी छन्।

वैदेशिक रोजगार विभागले उजुरी परेको एकदेखि तीन महिनाभित्र उजुरीका सम्बन्धमा मुद्दा किनारा लगाउँदै आएको छ।  यसैगरी काबेली ह्युमन रिसोर्स प्रालिका ३६, एचआर इन्टरनेसनल इम्प्लोएमेन्ट सर्भिस प्रालिका ४१, एसएलडी इन्टरनेसनल प्रालिका ३४, गोरखा नेपाल प्लेसमेन्ट सर्भिस प्रालिका २३, वर्कफोर्स सर्भिस प्रालिका २७, अन्नपूर्ण इन्टरनेसनल प्रालिका ३२, हेभन ओभरसिज प्रालिका २६, ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिस प्रालिका ३०, प्रोगेसिभ प्लेसमेन्ट सर्भिसका ४३, नेल्को इन्टरनेसनल प्रालिका ३२, आरपी इन्टरनेसनल कन्सल्टेन्सी प्रालिका ४३, साउन्डलाइट रिक्रुटमेन्ट प्रालिका २८, वल्र्ड वाइड इम्प्लोएमेन्ट कन्सल्टेन्सी ३६, एसआरके ओभरसिज प्रालिका ३७, सुनेरा नेपाल इन्कर्पाेरेट प्रालिका ४३, राज ओभरसिज प्रालिका ४७, विराड एसोसिएसका ३५, इन्टरनेसनल रिक्रुटमेन्ट प्रालिकाबिरुद्ध ३५ उजुरी विभागमा दर्ता भएका छन्।    विभागले उजुरी परेको एकदेखि तीन महिनाभित्र उजुरीका सम्बन्धमा मुद्दा किनारा लगाउँदै आएको छ। विभागले प्रक्रिया अनुसार तीनदिने, २४ घण्टे सूचना जारी गरेर पीडितलाई न्याय दिँदै आएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक दीलिपकुमार चापागाईंले म्यानपावर ठगी नियन्त्रण गर्न धरौटी रकम बढाउन थालिएको बताए। ‘विभागले म्यानपावरको धरौटीबाट कटाएर पीडितलाई न्याय दिन्छ’ उनले भने।     अहिले म्यानपावरको धरौटी सात लाख नगद र २३ लाख बैंक ग्यारेन्टीको व्यवस्था गरिएको छ। यसलाई बढाएर पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरका लागि दुई करोड नगद र चार करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा कम कामदार पठाउने म्यानपावरलाई एक करोड नगद र दुई करोड बैंक ग्यारेन्टीको व्यवस्था गर्ने तयारी छ। उक्त व्यवस्था मन्त्रिपरिषद्ले पारित गरे पनि संसद्मा पुग्न सकेको छैन।

Published on: 7 October 2018 | Annapurna Post

Back to list

;